३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

दुग्ध प्रशोधन कारखाना पोखरामा खोल्ने डिडिसीको निर्णयमा पोखरा उद्योग वाणिज्य संघको विरोध

पोखरा उद्योग वाणिज्य संघले दुग्ध विकास संस्थान (डिडिसी) ले पोखरामा नया दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने भनेर गरेको निर्णयमा विरोध जनाएको छ । संघका महासचिव शोभा गौतमले मंगलबार एक विज्ञप्ती निकालेर विरोध जनाएको हो । विज्ञप्तीमा डिडिसीले पोखरामा नया दुग्ध प्रशोधन केन्द्र खोल्ने भनेर गरेको निर्णयले संघलाई आश्चर्यचकित र स्तब्ध बनाएको उल्लेख छ । 

संघले पोखरामा नया दुग्ध प्रशोधन केन्द्र खोल्ने डिडिसीको निर्णयमा तत्काल पुर्नविचार गर्न माग गरेको छ । डिडिसीको सो निर्णय सरकारले अंगीकार गरेको नीजिकरणको नीति विपरित रहेको दाबी गर्दै विज्ञप्तीमा भनिएको छ,‘सरकारले अंगीकार गरेको निजीकरणको नीतिअन्तर्गत नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले २०६१ सालमै पोखरामा रहेको आफ्नो दुग्ध प्रशोधन एवं प्याकेजिङ प्लान्ट निजी क्षेत्रलाई हस्तान्तरण गरेको हो सो निर्णयपछि निजी क्षेत्रको लगानीबाट दुग्ध व्यवसायमा हजारौं रोजगारी सिर्जना भएको र पोखराका डेरी उद्योगहरू बजारको माग धान्न सक्षम रहेको तथ्य घामजस्तै छर्लङ्ग छ ।’ 

संघले निजी क्षेत्र मैत्री खुला बजार अर्थतन्त्र, प्रतिस्पर्धात्मक बजार व्यवस्था एवम् उपभोक्ता अधिकारको पक्षमा संघ रहेको स्पष्ट पारेको छ । संघले खुला बजार अर्थतन्त्रमा प्रतिस्पर्धीलाई निषेध गर्न नमिल्नेतर्फ डिडिसीको ध्यानाकर्षण गराएको छ । विज्ञप्तीमा भनिएको छ,‘पूर्ण सरकारी स्वामित्वमा रहेको र सरकारबाटै विशेष सहुलियत प्राप्त कम्पनी नै निजी क्षेत्रसँग प्रतिस्पर्धामा उत्रन खोज्नुलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिदैन ।’ 

संघले सरकारले २०४८ सालमा अंगीकार गरेको निजीकरणको नीतिमा स्पष्ट रूपमा सरकारी कम्पनी लगानीसहित बाहिरिने प्रावधान रहेको स्मरण गराएको छ । त्यसैले दुग्ध विकास संस्थान पोखरा फर्कन खोज्नु भनेको सरकारको सो नीति विपरीतको कार्य भएको संघको ठम्याइ रहेको महासचिव गौतमले विज्ञप्तीमा उल्लेख गरेकी छन् ।

विज्ञप्तिमा डीडीसीभित्र सिर्जित समस्या तथा त्यसले निम्त्याएका परिघटनाबारे संघ जानकार रहेको बताएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ,‘संस्थान पोखरा फर्कन खोज्नुमा कतै आफ्ना आन्तरिक कमी–कमजोरी ढाकछोप गर्ने बहाना त हैन भन्ने हामीले महसुस गरेका छौं ।’ 

संघले नीजि क्षेत्रलाई हतोत्साही बनाउने उद्देश्यले डीडीसी पोखरा आउन लागेको गम्भीर आरोप लगाउँदै संघ त्यसको विपक्षमा रहेको स्पष्ट पारेको छ । साथै उसले यस विषयमा कृषि मन्त्रालयलाई संवेदनशील बन्न आग्रह गरेको छ ।

प्रकाशित: १७ भाद्र २०८२ २०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App