१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा २५ प्रतिशत क्षेत्रमा धान रोपाइँ

ताप्लेजुङमा मध्य असारसम्म २५ प्रतिशत क्षेत्रमा धानबाली लगाइएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका बाली विकास अधिकृत मुना न्यौपाने दाहालका अनुसार यस वर्ष पर्याप्त मात्रामा वर्षा भएकाले समयमै साविकभन्दा बढी क्षेत्रफलमा धानबाली लगाइएको हो ।

न्यौपानेका अनुसार ताप्लेजुङमा यस वर्ष ५ हजार ६ सय १३ हेक्टर क्षेत्रफलमा धानखेती लगाउने प्रक्षेपण गरिएको छ । पर्याप्त वर्षा भएको र आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा समेत धानखेती गर्न सकिने देखिएकाले साविकभन्दा बढी क्षेत्रमा धानबाली लगाउने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यसैबीच ताप्लेजुङका स्थानीय तहहरूले सोमबार ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ २३औं राष्ट्रिय धान दिवस मनाएका छन् । सोमबारको दिनलाई धान रोपाइँमा समर्पित गर्दै विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

फुङलिङ नगरपालिका, आठराई त्रिवेणी गाउँपालिकालगायतले राष्ट्रिय धान दिवस मनाएका छन् । आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले यस वर्षको धान दिवस पालिकाको वडा नं. ३ हाङपाङमा मनाइएको जानकारी दिए ।

फुङलिङ नगरपालिका क्षेत्रमा कृषि ज्ञान केन्द्रको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपाल जिल्ला समन्वय समितिको अगुवाइमा धान दिवस मनाइएको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले जानकारी दिए ।

मैवाखोला गाउँपालिकामा भने राष्ट्रिय धान दिवसको औपचारिक कार्यक्रम नगरिएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । यस वर्ष ताप्लेजुङका विभिन्न स्थानीय तहहरूले आफूअनुकूल कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाएका छन् ।

प्रकाशित: १५ असार २०८३ १६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App