१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

म्याग्दीको दोसल्लेमा बेचियाे झन्डै दुई करोड मूल्यको सुन्तला

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका किसानले यस वर्ष करिब दुई करोड रूपैयाँ मूल्य बराबरको सुन्तलाको व्यापार गरेका छन्।

बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गत वर्ष सुन्तलाबाट एक करोड ८० लाख भित्रिएको थियो। यसपालि दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी भएको दोसल्ले व्यवसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले बताए। “गत वर्षको तुलनामा यसपालि बोटमा २५ प्रतिशत कम दाना लागेको छ,” उनले भने “बढी मूल्यमा सुन्तला बिक्री भएकाले पाेहाेरकै हाराहारीमा आम्दानी भएको छ।” बढी मूल्य पार्न माघ महिना लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए।

दोसल्लेको बगैचाको ६० प्रतिशत सुन्तला बजार पुगिसकेको छ। अझै ४० प्रतिशत सुन्तला बोटमै छ। किसान र व्यापारीहरूलाई सुन्तला टिपेर, ग्रेडिङ गर्ने र बजार पठाउने चटारो छ। देशका धेरै ठाउँका बगैचा रित्तिएपछि याम सकिने समयमा सुन्तला टिप्न थालेका दोसल्लेका किसानले पाेहाेरभन्दा राम्रो मूल्य पाएका अगुवा किसान खगबिर पाइजाले बताए। “यसअघिका वर्षमा मंसिर–पुसमा सुन्तला बिक्री गर्दा २० किलोको प्रतिक्रेट एक हजार सात सय रूपैयाँमा बिक्री हुने गरेको थियो,” उनले भने “यसपालि प्रतिक्रेट दुई हजार पाँच सय रूपैयाँमा बिक्री भइरहेको छ।”

अन्यत्रको सुन्तला सकिएकाले व्यापारीले प्रतिक्रेट तीन हजार दुई सयसम्म मूल्य तिर्न तयार भएका अर्का किसान विकास श्रेष्ठले बताए। पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिपिंदै छ।

दोसल्लेका सबै घरले सुन्तला खेती गरेका छन्। गाउँबाट बसाइँसराइ रोकिएको छ। पहिले बेनी, पोखरा लगायतका ठाउँमा बसाइँसराइ गरेकाले समेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन्।

दोसल्लेमा १० हजार सुन्तलाका बोट छन्। २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन्।  

प्रकाशित: २२ माघ २०८२ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App