२० मंसिर २०८२ शनिबार
image/svg+xml
अर्थ

आयल निगमले भैरहवाको भलबारी डिपो सार्ने, पौने ६ अर्बको डिपिआर तयार

नेपाल आयल निगमले रुपन्देहीको भैरहवा भलवारीमा रहेको इन्धन डिपो सार्ने भएको छ । लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी डिपो साँघुरो, घनाबस्ती बिचमा र अहिले पेट्रोलियम पदार्थको माग धान्न नसक्ने भएको कारण डिपो सार्न लागेको हो ।

रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा डिपो सार्नका लागि करिब पौने छ अर्ब रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । काठमाडौं विश्वविद्यालय, कन्सल्टेन्सी सेवा विभागले तयार गरेको डिपिआर प्रतिवेदन बुधबार नेपाल आयल निगम, इन्धन भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख प्रदीप यादवलाई हस्तान्तरण गरेको छ । काठमाडौं विश्वविद्यालयले तयार गरेको डिपिआर अनुसार अत्याधुनिक सुविधा सम्पन्न डिपो निर्माणका लागि कर बाहेक पाँच अर्ब ७९ करोड ३० लाख लागत अनुमान गरिएको छ ।

रोहिणी नदी किनार नजिकै आधुनिक र सुविधा सम्पन्न लुम्बिनी प्रादेशिक कार्यालयका लागि अत्याधुनिक डिपो निर्माण गर्ने परियोजना प्रमुख प्रदीप यादवले बताए । ‘नयाँ डिपो निर्माणका लागि डिपिआर तयार भयो,’ यादवले भने, ‘अब छिट्टै निर्माण प्रक्रिया अघि बढाउँछौँ ।’ यादवका अनुसार डिपो पूर्ण रूपले अटोमेसनमा आधारित हुनेछ । डिपो निर्माणका लागि जग्गा विकास, पर्खाल, पहुँच मार्ग, इन्धन भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण गर्ने योजना छ ।

डिपोमा डिजेलका लागि ४५ सय किलोमिटर क्षमताका तीन वटा भर्टिकल टयांक गरी कुल एक १३ हजार पाँच सय किलोमिटर क्षमताको भण्डारण स्थल निर्माण गर्ने योजना छ । त्यसैगरी, २१ सय किलोमिटर क्षमेताका दुई वटा भर्टिकल टयांक, सात सय ६० किलोमिटर क्षमताको एक टयांक गरी चार हजार नौ सय ६० किलोमिटर क्षमताको पेट्रोल भण्डारण स्थल निर्माण गर्ने निगमले जनाएको छ । त्यसैगरी ७६ किलोमिटर क्षमताका दुई वटा मट्टितेल राख्ने भर्टिकल टयांक पनि निर्माण गर्ने योजना छ ।

नयाँ निर्माण हुने भण्डारण गृहले लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थ मौज्दात गर्न सकिनेछ । डिपो भित्र अग्नी सुरक्षा प्रणालीका लागि २१ सय किलोमिटर क्षमताका दुई वटा पानी ट्याङ्की निर्माण हुनेछन् । इन्धन लोडिङ सेडमा ८ बटा ’बे’ र अनलोडिङ सेडमा पनि ८ वटा ’वे’ निर्माण गर्ने गरी डिपिआर तयार भएको छ ।

त्यसैगरी, डिपोमा विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृह, महिला तथा पुरुष आर्मीको लागी छुट्टाछुट्टै आवास गृह, ट्याङ्कर चालक आराम गर्ने संरचना, सुरक्षा पोष्ट, ट्याङ्कर पार्किङ क्षेत्रलगायतका संरचनाहरू डिपो हाता भित्र निर्माण गर्ने योजना छ ।

डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरिसकेको छ । सो क्षेत्रमा रहेको थप साढे ८ बिघा पर्ति जग्गा निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट पहल भएको निगमले जनाएको छ । जग्गा प्रवेश गर्ने मूलबाटोसँग जोडिएको करिब साढे पाँच बिघा पनि जग्गा प्राप्ति ऐन, ०३४ अनुसार प्राप्ति गर्न प्रकृया थालनी भएको छ । यसरी करिब साढे २५ बिघा फराकिलो क्षेत्रफलमा आयल निगमको आधुनिक र सुविधा सम्पन्न लुम्बिनी प्रादेशिक कार्यालय निर्माण हुने प्रकृया अघि बढेको निगमले जनाएको छ ।

निगमले अहिले जग्गा सम्याउने र नदी किनारमा ग्याबियन जाली, रिटेनिङ्ग वाल आदि निर्माण गरी जग्गाको संरक्षण गर्ने कार्य सम्पन्न गरेको प्रमुख यादवले बताए । ‘जग्गा परिसरमा साइट कार्यालय सञ्चालनमा ल्याइसकिएको छ’ यादवले भने ।

लुम्बिनी प्रदेशमा इन्धन वितरणका लागि अहिले रुपन्देहीको भलवारीमा रहेको आयल निगमको प्रादेशिक कार्यालय  बस्तीको बिचमा भएकाले सार्नका लागि स्थानीयले पटक पटक दबाब दिँदै आएका छन् । बस्ती बिचमा भएको डिपोमा सामान्य दुर्घटना हुँदासाथ ठूलो धनजनको क्षति हुने जोखिम भएकाले निगमले सार्न लागेको हो । अहिलेको डिपो करिब साँढे पाँच बिघा जमिनमा फैलिएको छ भने न्यून भण्डारण क्षमता छ । हाल भलवारी डिपोमा पेट्रोलका लागि ५ सय १९ किलोमिटर, डिजेलका लागि ३ हजार ४० किलोमिटर र मट्टितेलका लागि २ सय ८० किलोमिटर क्षमताको भण्डारण गृह छ । ‘वर्तमान समयको खपत परिमाणको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून हो,’ परियोजना प्रमुख यादवले भने, ‘अहिलेको डिपो परिसरमा भण्डारण क्षमता वृद्धि गर्नका लागि जग्गा अभाव छ ।’

प्रकाशित: ४ भाद्र २०८२ १६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App