२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अर्थ

हिटीबाट नयाँ ‘त्रिबेणी फिडर’ सञ्चालन, तमोरपारिका क्षेत्रमा विद्युत आपूर्ति थप भरपर्दो हुने

नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रले तमोरपारिका चार स्थानीय तहमा देखिँदै आएको विद्युत आपूर्तिको समस्या समाधान गर्ने उद्देश्यले हिटी सबस्टेसनबाट नयाँ ‘त्रिबेणी फिडर’ सञ्चालनमा ल्याएको छ।

शनिबार साँझदेखि सञ्चालनमा आएको नयाँ फिडरले विशेषगरी आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकामा विद्युत आपूर्ति थप सहज र नियमित हुने वितरण केन्द्रका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए।

यसअघि हिटी सबस्टेसनबाट सञ्चालित एउटै फिडरमार्फत मैवाखोला, आठराई त्रिबेणी, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा विद्युत आपूर्ति हुँदै आएको थियो। एउटै फिडरबाट चारवटै स्थानीय तहमा सेवा दिनुपर्दा लाइन अत्यधिक लामो हुने र बारम्बार विद्युत अवरोध हुने समस्या देखिँदै आएको थियो।

नयाँ त्रिबेणी फिडर सञ्चालनमा आएपछि विद्युत भार विभाजन हुने भएकाले आपूर्ति प्रणाली थप प्रभावकारी र भरपर्दो बन्ने वितरण केन्द्रको विश्वास छ।

तमोरपारिका क्षेत्रमा लामो समयदेखि दोहोरिने विद्युत समस्याका कारण स्थानीय सरकारका प्रमुखहरूले नेपाल विद्युत प्राधिकरण र वितरण केन्द्रको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका थिए।

वितरण केन्द्रका अनुसार शनिबार परीक्षणस्वरूप सीमित क्षमतामा विद्युत प्रवाह गरिएको थियो भने आइतबारदेखि फिडरलाई पूर्ण भार क्षमतामा सञ्चालनमा ल्याइएको छ। यससँगै तमोरपारिका बासिन्दाले थप नियमित र गुणस्तरीय विद्युत सेवा पाउने अपेक्षा गरिएको छ।

 

प्रकाशित: १७ श्रावण २०८३ १६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App