लगातार दुई दिन घटेपछि बुधबार नेप्से परिसूचकमा सुधार आएको छ। नेप्से परिसूचक बुधबार १२.१७ अंकले बढेर २६०७.४२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.१४ अंक, फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंकले बढेपछि नेप्सेमा सुधार देखिएको हो।
नेप्से बढेपनि कारोबार रकममा भने मंगलबारको तुलनामा झण्डै ५० करोडले कमी आएको छ। बुधबार ३१२ स्टकको ४२ हजार ८७९ पटकको कारोबारमा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँबराबरको ९२ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो।
कारोबारमा आएको दोस्रो दिन पनि माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुधबार माबिलुङ्गको शेयर ३४ रुपैयाँ ९० पैसा बढेर ३८४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशतले बढ्दा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.४८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको यूनियन हाइड्रोपावर कम्पनीको ३८ करोड ६१ लाख ५२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरीको साढे ३२ करोड र राधी विद्युत कम्पनीको साढे ३१ करोडभन्दा बढीको कारोबार भयो।
१३ उपसमूहमध्ये बुधबार ११ उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।
प्रकाशित: १९ कार्तिक २०८२ १५:३२ बुधबार





