लगातार तीन कारोबार दिनमा १०२ अंक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य करेक्सनपछि बिहीबार पुनः उकालो लागेको छ ।
बिहीबार नेप्से परिसूचक ११.९३ अंकले बढेर २ हजार ६२४.३६ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स २.०७ अंक, फ्लोट इन्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंकले बढेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । बुधबार ५ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ३३९ स्टकको ५१ हजार ७२८ पटकको कारोबारमा ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
बिहीबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १२.४३ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ६ प्रतिशत तथा माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ ।
यस दिन मूल्य घटेका स्टकहरूको गिरावटदर भने ३ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा बिहीबार सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३३ करोड ६२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २७ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ ।
जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशतले बढेको छ । कारोबारमा आएको लगानी तथा अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।
प्रकाशित: १ आश्विन २०८३ १६:०३ बिहीबार

