२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
अर्थ

नेप्सेमा लगातार चौथो दिन सुधार, कारोबार रकम पौने ५ अर्ब नजिक

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक लगातार चौथो कारोबार दिन पनि बढेको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २,५९९.९३ विन्दुमा पुगेको हो।

परिसूचकसँगै यस दिन अन्य उप-सूचकहरू पनि सकारात्मक देखिएका छन्। सेन्सेटिभ इण्डेक्स २.३५ अंक, फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंकले बढेका छन्।

नेप्सेसँगै बजारमा कारोबार रकममा पनि बढोत्तरी भएको छ। सोमबार ४ अर्ब ४६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा मंगलबार ३५१ वटा कम्पनीको ४६ हजार ६५९ पटकको कारोबारमार्फत ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँबराबरको १ करोड ३५ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रह्यो। सो कम्पनीको सर्वाधिक ३६ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको माउन्टेन इनर्जीको करिब २६ करोड तथा कुमारी बैंकको २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यस दिन सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक १२.४४ प्रतिशतले उकालो लागेको छ। अन्य कम्पनीको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कममै सीमित रह्यो।

उता, स्नो रिभर्सको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य १४९ रुपैयाँ ९० पैसाले घटेर ८४९ रुपैयाँ ४० पैसामा झरेको छ। त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि करिब १३ प्रतिशतले ओरालो लागेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये पाँचवटा समूहको परिसूचक बढ्दा आठवटामा गिरावट आएको छ। जीवन बीमा उपसमूह सर्वाधिक १.७७ प्रतिशतले बढेको छ भने बैंकिङ, विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहमा सामान्य सुधार देखिएको छ।

प्रकाशित: २७ आश्विन २०८३ १६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App