दशैंपछि कारोबार हुने दुई दिन नेप्से परिसूचक लगातार घटेको छ। कारोबार भएको पहिलो दिन मंगलबार ५८.५५ अंकले घटेको नेप्से बुधबार ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेपछि समग्र नेप्से प्रभावित बन्यो।
नेप्से घटेपनि कारोबार रकममा भने एक अर्ब बढीले वृद्धि भएको छ। बुधबार ३३५ स्टकको ६३ हजार ५०९ पटकको कारोबारमा ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपैयाँबराबरको १ करोड ३७ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार नेप्सेमा ४ अर्ब ६२ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
बुधबार सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य सर्वाधिक ७.०९ प्रतिशत बढेको छ भने प्रभु इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ६.१२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २६ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यूनियन हाइड्रोपावर लिमिटेडको करिब साढे २४ करोड र सिनर्जी पावर डेभलपमेन्टको साढे २२ करोडको कारोबार भयो।
बुधबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशत, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ।
प्रकाशित: २२ आश्विन २०८२ १६:१० बुधबार





