चियाका लागि प्रख्यात नेपाल पछिल्लो समय कफीको हब बन्दै गएको छ। चिया उत्पादन मात्रै होइन, उपभोगका लागि पनि अगाडि रहेको नेपाल पछिल्लो समय कफीका लागि पनि प्रख्यात बन्दै गएको हो।
मूल्य उच्च हुँदै जानु र उत्पादित कफीले सहज रुपमा बजार पाउन थालेपछि कफी उत्पादनमा नेपाली युवाको झुकाव बढ्दै गएको हो। नेपालमा २०८१/८२ मा ५ हजार ५ सय १ एक हेक्टर जमिनमा कफी लगाउँदा ६ सय ४२ मेट्रिक टन कफी उत्पादन भएको थियो।
कफी उत्पादन बढ्दै जाँदा कफी पारखी पनि बढ्दै गएका छन्। जसको परिणाम स्वरुप सहरदेखि गाउँसम्म कफी सप खुल्दै गएका छन्। पोखरामा मात्रै १ हजार ५ सय बढी कफी सप रहेको बताइन्छ। जहाँ हरेक दिन कफी पारखीको भिडभाड देख्न सकिन्छ।
उत्पादन र उपभोगमा अगाडि रहेको नेपाल कफीको गुणस्तरमा पनि अगाडि छ। तर, अचम्मको कुरा के छ भने नेपालीले सस्तो कफी सेवन गर्छन् र महँगो कफी बेच्छन्।
नेपालका क्याफेहरुमा सस्तो कफी बेचिन्छ भने महँगो कफी विदेश निर्यात हुने गरेको छ। यहाँको हावापानी कफी उत्पादनका लागि उपयुक्त भएको र यहाँ उत्पादित कफी गुणस्तरीय पनि हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले बताए।
तर, यहाँ उत्पादित कफी विदेश निर्यात हुने गरेको छ’, उनले भने, ‘विदेशमा महँगो मूल्यमा बेच्नका निर्यात हुन्छ।’ उनका अनुसार प्रतिकेजी ७ सय रुपैयाँ पर्ने कफी बिन सेवन गर्ने नेपालीले विदेश निर्यात गर्ने कफीको मूल्य भने २ हजार १ सय रुपैयाँसम्म पर्छ।
नेपालबाट वार्षिक ६४ मेट्रिक टन कफी निर्यात हुने गरेको पुरीले जानकारी दिए। यो कुल उत्पादनको १० प्रतिशत हिस्सा भएको उनको भनाइ छ। नेपालबाट जर्मनी, जापान, स्विजरल्याण्ड, दक्षिण कोरिया, युके, अष्ट्रेलियालगायतका मुलुकमा कफी निर्यात हुने गरेको छ।
विदेश निर्यात गरिएका नेपाली कफीको मूल्य उच्च रहेको छ। उनी भन्छन्-, ‘नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा अन्य राष्ट्रको तुलनामा उच्च मूल्य प्राप्त गर्दै आएको छ।’
उनका अनुसार विदेशमा पाउने कफीको मूल्य स्वदेशमै पनि पाउने अवस्था बनेको छ। उच्च मूल्य र सहज बजार पहुँचका कारण कफी खेतीतर्फ युवाहरूको आकर्षण बढ्दै गएको उनले सुनाए।
कफीको मूल्य स्वाद र गुणस्तर अनुसार निर्धारण हुने पुरीले जानकारी दिए। नेपालको कफीले विशिष्ट (कफी स्पेसियालिटी) गुण भएको उपाधि प्राप्त गरेको उनको दाबी छ।
नेपालका सबै कफीले गुणस्तरमा ८० भन्दा बढी अंकभार प्राप्त गरेको उनी बताउँछन्। नेपालमा उत्पादन गर्ने कफीमध्ये कफी सहकारी संघ ललितपुरले ८६.२५ कपीङ स्कोर प्राप्त गरेको छ भने यसले जर्मनीमा समेत कफी निर्यात गर्दै आएको छ।
कफीको गुणस्तरमा गण्डकी प्रदेश पनि अब्बल रहेको उनी बताउँछन्। ‘यहाँको हावापानी राम्रो छ, उनले भन्छन् , ‘उच्च पहाडी क्षेत्रमा लगाइने भएकाले गण्डकीको कफी स्वाद, सुगन्ध र मिठासमा अब्बल मानिन्छ।’
उनका अनुसार कफीको सुगन्ध, अम्लीयपन, मिठास, गोबरजन्य दुर्गन्ध, सफालगायत दश वटा गुण हेरेर कफीको गुणस्तर मापन गरिन्छ।
गण्डकीमा आर्थिक वर्ष २०८१/८२ मा १ हजार ४ सय ५१ हेक्टर क्षेत्रफलमा कफी लगाइएको थियो, जसबाट १ सय ५६ मेट्रिक टन कफी उत्पादन भएको उनले जानकारी दिए।
कफीका लागि न चिसो न तातो ओसिलो जमिन चाहिने उनी सुनाउँछन्। ‘वैशाख जेठमा छहारी चाहिन्छ’, उनले भने, ‘कफीका लागि जल, मल, बिउ मिल्नुपर्छ।’
कफी उत्पादन सुरु गर्न तीन वर्ष लागे पनि त्यसपछि निरन्तर फल लाग्ने र आम्दानी हुने उनले बताए। ‘एक पटक लगाएपछि २५/३० वर्षसम्म निरन्तर आम्दानी गर्न सकिन्छ’ उनले भने।
उनका अनुसार एउटा बोटबाट ३ केजीदेखि १३८ केजीसम्म कफी फल्ने गर्छ।
राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप हुँदै
यसैबीच, पोखरामा शनिबार राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप आयोजना हुँदैछ। नेपाल सरकार अन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघसँगको सहकार्यमा हुने च्याम्पियनसिप पोखरा–५ मालेपाटन डुम्रीबोटस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसरमा आयोजना हुने पुरीले जानकारी दिए।
कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने जनाइएको छ।
‘चिनौं, चाखौं, अपनाऔं, प्रवर्द्धन गरौं’ भन्ने मूल नारासहित आयोजना हुने सो कार्यक्रम बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म आयोजना हुने जनाइएको छ। कार्यक्रममा देशभरका कफी उत्पादक किसानदेखि व्यवसायीसम्म सहभागी हुने उनले बताए।
‘कफी उत्पादन हुने करिब २० जिल्लाका कफी उत्पादक, प्रशोधनकर्ता, व्यवसायी तथा प्रतियोगी सहभागी हुनेछन्’, उनले भने, ‘कार्यक्रममा कोशी, बागमती, लुम्बिनी, गण्डकी प्रदेश लगायत इलामदेखि गुल्मीसम्मका कफी उत्पादक किसानदेखि व्यवसायीसम्म सहभागी हुनेछन्।’
कार्यक्रमको मुख्य आकर्षणका रूपमा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप हुने क्षेत्री निर्देशक पुरीले बताए। देशभरका कफीहरूको स्वाद र गुणस्तरसहित समग्रताको आधारमा मूल्याङ्कन गरि विजेता घोषणा गरिने सो च्याम्पियनसिपमा देशभरका किसानहरूले सहभागिता जनाउने उनको दाबी छ।
प्रतिस्पर्धाका लागि २० जिल्लाका ३२ किसानले नाम टिपाइसकेको उनको भनाइ छ। विजेता किसानले १० हजार, उप-विजेताले ७ हजार ५ सय र तृतीय हुनेले ५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गर्ने उनले जानकारी दिए।
त्यसबाहेक सो अवसरमा कफी नर्सरी र बगैंचा अवलोकन, उत्कृष्ट नेपाली कफीको निःशुल्क सार्वजनिक कपिङ, कफी बार तथा उपकरण प्रदर्शनी, निःशुल्क कफी स्वाद परीक्षण, कफी प्रशोधन तथा पहिचान प्रतियोगिता, बीउदेखि कपसम्मको सम्पूर्ण कफी मूल्य श्रृङ्खलाको प्रदर्शनी, कफी मेसिन प्रदर्शनीलगायतका कार्यक्रम रहने उनले जानकारी दिए।
उनका अनुसार कार्यक्रममा कफीको उत्पादन चुनौतीदेखि गुणस्तर सुधारसम्बन्धी प्यानल डिस्कसनसमेत हुनेछ। सो अवसरमा कफी विज्ञबाट प्राविधिक परामर्श तथा कफीसम्बन्धी मनोरञ्जनात्मक गतिविधि पनि समावेश गरिने उनले जानकारी दिए।
कार्यक्रमले नेपाली कफीको विशिष्ट स्वाद, गुणस्तर र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ।
प्रकाशित: १८ असार २०८३ १९:३६ बिहीबार





