पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको सम्भावित अभाव टार्न नेपाल आयल निगमले वैकल्पिक मार्गबाट आपूर्ति जारी राखेको छ।
पछिल्लो तीन दिनमा तराईका विभिन्न जिल्लाहरूबाट रिफिल गरी ८७ हजार ८ सय ७७ वटा सिलिन्डर काठमाडौं ल्याएर बिक्री वितरण गरिएको हो।
निगमका अनुसार गत भाद्र १४ गतेदेखि कृष्णभीर खण्ड अवरुद्ध भएपछि काठमाडौं, धादिङ तथा काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगहरूको आपूर्ति चक्र प्रभावित भएको थियो।
उपत्यकामा ग्यासको सहज आपूर्ति कायम राख्न निगमले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरी जिल्लाका उद्योगहरूबाट सिलिन्डर रिफिल गराई वैकल्पिक सडक भएर काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो।
तीन दिनमा कुन दिन कति सिलिन्डर भित्रिए ?
निगमका अनुसार वैकल्पिक मार्ग हुँदै मिति भाद्र १८ गते २४ हजार ४ सय ९४ सिलिन्डर, १९ गते ३४ हजार १ सय ३४ सिलिन्डर र २० गते २९ हजार २ सय ४९ सिलिन्डर गरी कुल ८७ हजार ८ सय ७७ सिलिन्डर काठमाडौं भित्र्याइएको छ।
कृष्णभीर खण्डको बाटो नियमित सञ्चालनमा नआएसम्म यही प्रक्रियामार्फत एलपी ग्यास ढुवानी र बिक्री वितरणलाई निरन्तरता दिइने निगमले बताएको छ।
प्रकाशित: २१ भाद्र २०८३ १५:०४ आइतबार




-600x400.jpg)
