२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
अर्थ

एनसेलले बाढीले प्रभावित क्षेत्रमा सुरु गर्‍यो ‘स्याटलाइट इन्टरनेट’

भोटेकोसी बाढीका कारण परम्परागत दूरसञ्चार पूर्वाधार र सडक सञ्जाल पूर्णतः अवरुद्ध भएका क्षेत्रमा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा सुरु गरेको छ।

खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन र आपत्कालीन अवस्थामा सञ्चार सम्पर्क टुट्न नदिन कम्पनीले ‘लो अर्थ अर्बिट’ (एलईओ) स्याटलाइटमार्फत सेवा सञ्चालनमा ल्याएको हो।

युटेलस्याटको स्याटलाइट प्रविधि प्रयोग गरी सरकारी निकायसँगको समन्वयमा पहिचान गरिएका संवेदनशील स्थानहरूमा उपकरणहरू जडान भइरहेका छन्।

हालसम्म सञ्चार सेवा नराम्ररी प्रभावित बनेको नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा सेवा सुरु भइसकेको छ भने अन्य बाढीग्रस्त क्षेत्रमा जडान कार्य जारी रहेको एनसेलले जनाएको छ।

एनसेलका अनुसार बाढी प्रभावित समुदाय, अस्थायी शिविर, होल्डिङ सेन्टर र राहत वितरण केन्द्रहरूमा स्याटलाइटमार्फत स्थानीय स्तरमा निःशुल्क वाइफाइ उपलब्ध गराइएको छ।

नियमित मोबाइल नेटवर्क वा अप्टिकल फाइबर नभए पनि यो प्रविधिबाट स्थानीय नागरिक तथा उद्धारकर्मीहरूले इन्टरनेट कल, सन्देश आदानप्रदान र सूचना सम्प्रेषण गर्न सक्नेछन्।

उच्च गतिको यो सेवाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायतका नियामक निकायबाट आवश्यक अनुमति लिइसकिएको कम्पनीले जनाएको छ।

एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले कठिन भूगोल र सञ्चारविहीन अवस्थामा रहेका नागरिकलाई जोड्न स्याटलाइट प्रविधि प्रभावकारी भएको बताए।

‘सडक पूर्वाधार र सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएको नुवाकोटको तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरेका छौं,’ श्रेष्ठले भने, ‘यसले उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै स्थानीयवासीलाई यो कठिन समयमा आफ्ना आफन्तसँग सम्पर्कमा रहन मद्दत गर्नेछ।’

यसअघि विपद्‌को पहिलो दिनदेखि नै एनसेलले बाढी प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकहरूलाई हरेक दिन निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ।

साथै, कम्पनीले एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोगसमेत उपलब्ध गराइसकेको छ।

संकटको घडीमा सञ्चार केवल सुविधा नभई ‘लाइफलाइन’ भएको उल्लेख गर्दै एनसेलले क्षतिग्रस्त टावरको विकल्पमा नवीनतम प्रविधि प्रयोग गरेर भए पनि सेवा निरन्तर राख्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८३ १७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App