१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोड बढी राजस्व सङ्कलन

फाइल तस्बिर

यहाँको लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले हालसम्म रु एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ।

गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले यहाँको कोरलानाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो। यो नाका भदौ ३० देखि पूर्ण रूपमा सञ्चालनमा आएको दुई हप्तामै राजस्व सङ्कलनमा निकै सुधार आएको कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए।

उनले दुई हप्ताको अवधिमा ७९१ मध्ये ७६९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास सम्पन्न गरी गन्तव्यतर्फ पठाइसकेको बताए। यसैगरी यहाँबाट भित्रिएका ३११ वटा मालवाहक ढुवानी कन्टेनरमध्ये २४६ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास सम्पन्न भई गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार प्रमुख खड्काले बताए।

भन्सारमा चीनबाट मालवस्तु ढुवानी गरी नेपाल भित्रिएका ६५ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको छ। ठूलो परिमाणमा मालवस्तु आयात हुँदा यस नाकाबाट हालसम्म पाँचवटा मालवस्तु कन्टेनर मात्र चीनतर्फ निकासी भएका छन्। भन्सार प्रमुख खड्काले नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी भएको जानकारी दिए।

चीनबाट मालसामान आउने क्रम जारी रहेकाले विभागले दसैँको टीकाको दिनबाहेक अन्य समयमा भन्सारको कार्यसम्पादन जारी रहने जनाइएको छ। रासस 

प्रकाशित: ११ आश्विन २०८२ २१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App