रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गरेकी छन्। चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गरेकी उनलाई अरूको मात्र काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन व्यवसाय थालेकी हुन्।
“अरूले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ”, केसीले भनिन्। बाख्रापालनका लागि अहिले उनले गाउँमा करिब २० लाख रुपैयाँ खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छन्। बाख्रापालनमात्र नभएर कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेती गर्ने योजना रहेको केसीले बताइन्।
विसं २०८१ मा गाउँ आएर काम सुरु गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताइन्। उनले मन्थली नगरपालिकाअन्तर्गत रहेको पशु स्वस्थ्य शाखाका कर्मचारीहरूबाट भने आवश्यक प्राविधिक सल्लाह पाउँदै छिन्।
उनका बुबा चित्र केसी छोरीको व्यवसायबाट खुसी छन्। उनले भने, “मेरा पाँच छोरीमध्ये अरू सबै सहरतिरै रोजगारीमा छन्, हामी श्रीमान्श्रीमती पनि काठमाडौँमा बस्छौँ, कहिलेकाँही मात्र गाउँ आउने गरेका छौँ। वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ।”
गाउँमा रेखदेख गर्ने व्यक्तिको अभाव केसीलाई खड्केको छ तैपनि उनी निरन्तर बाख्रापालन खटिएकी छन्। “सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन, हेरम कति सफल भइन्छ”, केसीले भनिन्।
प्रकाशित: २० वैशाख २०८३ ०६:२२ आइतबार





