२४ भाद्र २०८३ बुधबार
image/svg+xml
अर्थ

कोरला नाकाः गाडी, फलफूल, लत्ताकपडादेखि बेलीब्रिजसम्म ल्याँइदै

रसुवा र तातोपानीको विकल्प बनेपछि कोरला नाका व्यस्त

मुस्ताङको कोरला नाका। यो नाका नै अहिले नेपाल–चीन ब्यापारिक मार्ग बनेको छ। तस्बिरः नागरिक

लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित भन्सार कार्यालय आजकल निकै नै व्यस्त छ। सीमित श्रोतसाधनका बाबजुत अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एकमात्र विकल्पको रुपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँजसो ठूला आकारका कन्टेनर नेपाल भित्रिरहेका छन्।  

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एकमात्र नाका कोरला बनेको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी नाका बाढीले ध्वस्त पारेपछि चीनले तातोपानी नाका पनि अस्थायी रुपमा बन्द गरेको थियो। रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान अहिले धमाधम कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको छ।  

‘पछिल्लो १० दिनमा एकसय भन्दा बढि कन्टेनर कोरला नाका हुँदै नेपाल भित्रिएका छन्। यसले भन्सार कार्यालयको व्यस्तता निकै नै बढाएको छ,’ उनले भने, ‘केही समय अघिसम्म निकै नै सुस्त रहेको यो नाका यतिबेला नेपाल र चीनबीचको व्यापारिक गतिविधि पुरा गराउने एकमात्र विकल्प बनेको छ।’ 

उनका अनुसार यतिबेला दसैंका लागि व्यापारीले मगाएका सामानदेखि फलफूल र विद्युतीय गाडी यहि नाका हुँदै भित्रिएका छन।’ यसअघि पनि यो नाकाबाट फाट्टफुट्ट सामान भित्र्याउन गरिएको भएपनि फलफूल भने पहिलोपटक यो नाका हुँदै भित्र्याइएको हो।

उनका अनुसार अहिले रसुवागढी र तातोपानी नाकाको सबै ब्यापार यही नाकाबाट भईरहेको छ। यो नाका हुँदै यसअघि चीनबाट आयात हुने विद्युती सवारी भित्र्याउने माध्यम बनेको थियो। तर अहिले भने दैनिक उपभोग्य देखि दसैं लक्षित सामाग्री, विद्युतीय गाडी र उद्योगका सामान पनि यही नाकाबाट भित्रिन थालेका छन। 

‘रसुवामा बाढी अघि ४० दिनमा १ सय भन्दा केही बढी कन्टेनर यो नाका हुँदै नेपाल भित्रिएका थिए। त्यसले पनि भन्न सकिन्त, नाकाको सुस्तता, तर अहिले १० दिनभित्रै एकसय बढि कन्टेनर भित्रिएपछिको व्यस्ता आफै अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘कुनैबेलासम्म सुस्ताएको यो नाकाले अहिले मुख्य नाकाको रुपमा काम गरिरहेको छ।’

रसुवागढी र तातोपानी नाका बन्द भएपछि त्यहाँका रोकिएका सबै सवारी कोरलातर्फ डाइभर्ट भएका थिए। तीबाहेक नेपाल भित्रिने तयारीमा रहेका अरु कन्टेनर पनि यही नाकामा आएपछि भीड बढेको उनले बताए। उनका अनुसार अहिले चीनबाट भित्रिएका दुईवटा बेलीब्रिज पनि यही नाका हुँदै नेपाल भित्रिँदै छन्। ती बेलीब्रीज अहिले भन्सार प्रक्रियामा रहेको उनले बताए। नेपालमा यो साता अलि लामो समयको सार्वजनिक बिदा परेकोले पनि भन्सार प्रक्रियाका लागि ती सामान रोकिएका थिए। तर, अब ती सामान भन्सार जाँचपास गरेर नेपाल भित्रिने प्रक्रियामा रहेको प्रमुख चुँडालले बताए।  

यसअघि सबैभन्दा कम व्यस्त रहेको नाका अहिले भने सबैभन्दा बढि व्यस्तता बनेको पनि उनले बताए। त्यही व्यस्तता बढेपछि भन्सार कार्यालयले भन्सार विभागसँग जनशक्ति पनि थप गर्न आग्रह गरेको थियो। त्यही अनुसार ६ जना नयाँ कर्मचारी भन्सारमा थपिएका छन्। 

उनका अनुसार थपिएका मध्ये ३ जना अधिकृत र अरु केही तल्लो तहका कर्मचारी छन्। सबैगरि १८ जनाको दरबन्दी रहेको भन्सारमा बल्ल अहिले पूर्ण क्षमतामा कर्मचारी भरिएको उनले बताए। यसअघि १२ जना मात्र कार्यरत थिए।  

उनका अनुसार अहिले चिनियाँ विद्युती गाडी पनि यही नाका हुँदै नेपाल भित्रिएका छन्। दसैंका लागि व्यापारीले यो बेला ठूलो आकारमा लत्ताकपडा र विद्युतीय सामान भित्र्याउने र ती सामान यसअघि रसुवागढी र तातोपानी नाकाबाट नेपाल प्रवेश गर्ने गरेकोमा अहिले भने कोरला नाका हुँदै भित्रिएका छन्।  

‘अहिले रसुवागढी र तातोपानी नाकाको अवरोधले गर्दा यहाँ अलि बढि भीड भएको हो। सधैंभरि यही आकारमा भीडभाड नहुन पनि सक्छ,’ उनले भने, ‘यहाँको ठाउँ पनि अलि साँघुरो रहेको छ। साँधुरो ठाउँका बाबजुत पनि हामीले सहज व्यवस्थापनको प्रयास गरिरहेका छौं।’ सानो भूगोलमा व्यवस्थापन गर्न सहज नभएको उनले बताए।  

चीनबाट सामान भित्र्याउने क्रममा अहिलेका लागि कोरला नाकाको विकल्प नहुँदा भित्रिएका सामान मुस्ताङबाट पोखरा हुँदै काठमाडौं पठाउनुपर्ने हुन्छ। यसअघि काठमाडौंका लागि सबैभन्दा नजिकको तातोपानी नाका पर्दथ्यो। तातोपानीपछि रसुवागढी नाका नजिक पर्ने भएपनि अहिले ती दुवै नाका अवरुद्ध भएपछि टाढाकै दूरी प्रयोग गरेर भएपनि कोरलाबाट सामान भित्र्याउन थालिएको छ। यसले गर्दा ढुवानी खर्च बढि पर्ने व्यवासायीले बताएका छन्।  

व्यावसायीका अनुसार पोखरा क्षेत्रका लागि कोरला नाकाको दूरी केही नजिक परेपनि काठमाडौंका लागि भने निकै नै टाढा पर्छ। तातोपानी–काठमाडौं नाका १३३ किलोमिटर दूरीमा थियो। रसुवागढी नाका भने काठमाडौंबाट १८६ किलोमिटर टाढा पर्छ। तर, कोरलाबाट काठमाडौंसम्मको दूरी करिब ४५० किलोमिटर दूरी पर्छ।  

पोखरा–जोमसोम सडक पनि यतिबेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूूर्ण रहेको छ। जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ। त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ। कच्ची सडक भएको र वर्षाको यो समयमा ठाउँठाउँमा पहिरोले अवरुद्ध गरेकोले पनि बेनी–जोमसोम खण्ड सहज नभएको व्यावसायीले बताउँदै आएका छन्।  

फेन्सी व्यावसायी महासंघका केन्द्रीय उपाध्यक्ष यादव पोखरेलका अनुसार यसअघि व्यावसायीले रसुवागढी वा तातोपानी नाकाबाट मात्र सामान ल्याउने गर्दथे। कोरलासम्मको बाटो सहज नभएकोले पनि केही दूरि बढि पर्दापर्दै पनि व्यावसायीले रसुवा र तातोपानीबाट सामान ल्याउने गरेका थिए। तर, अब भने कोरलाको विकल्प नभएको पोखरेलले बताए।  

‘कोरलादेखि पोखरासम्मका लागि त केही दूरी नजिक पर्छ। काठमाडौंका लागि टाढा हो। तर, कन्टेनरको ढुवानीको खर्च भने काठमाडौंतर्फबाट सस्तो पर्छ। किनकी रसुवागढी र तातोपानीसम्मको बाटो सहज थियो। ढुवानीमा सास्त थिएन,’ उनले भने, ‘कोरलातर्फको बाटो अहिले पनि सहज छैन। कच्ची बाटोको यात्रा आफैमा चूनौतीपूर्ण छ।’  

उनका अनुसार अहिले कोरलादेखि काठमाडौंसम्म सामान ढुवानी गर्दा एक कन्टेनरको कम्तिमा ४ लाख भाडा पर्ने अवस्था छ। तर, तातोपानी वा रसुवादेखि काठमाडौंसम्मको भाडा २ लाखभित्रै समेटिन्छ। योपटक रसुवाको बाढीले धेरैवटा कन्टेनर बगाएकोले पनि कन्टेनर व्यावसायीले अभाव देखाउँदै अझै बढी भाडा लिने तयारी गरेको उनले बताए। 

प्रकाशित: २४ भाद्र २०८३ १७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App