ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत खोक्सेखोला–सुकेटार सडक खण्डलाई स्थानीय तहको मातहत रहने गरी सडक सीमाको पुनरावलोकन गर्न सरकारसमक्ष सिफारिससहित अनुरोध गर्ने निर्णय गरेको छ।
मेची राजमार्गअन्तर्गतको सडक सीमाका विषयमा शुक्रबार फुङ्लिङका स्थानीयसँग वृहत् छलफल गरेपछि नगरपालिकाले सडक सीमासम्बन्धी निर्णयका कारण रोक्का रहेका सम्पूर्ण घरजग्गा फुकुवाका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुख अमिर मादेनले जानकारी दिए।
उनका अनुसार सरोकारवालासहितको छलफलबाट भएको निर्णय र सडक सीमाको पुनरावलोकनसम्बन्धी अनुरोध नेपाल सरकार मन्त्रिपरिषद्, सडक विभाग तथा सडक डिभिजन कार्यालय इलाममा पठाइनेछ।
मेची राजमार्गको सडक सीमा सडकको केन्द्रभागबाट दायाँ–बायाँ १५–१५ मिटर कायम गर्ने निर्णयका कारण धेरै नागरिक विस्थापित हुने अवस्था आएको भन्दै स्थानीयको रायका आधारमा यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
सदरमुकामबाट करिब पाँच किलोमिटर तल बहानन्देदेखि मुख्य सडक तमोर करिडोरतर्फ निर्माण भइसकेको तथा नेपाल–चीन (तिब्बत) जोड्ने सडक विस्तार भइसकेको छ। साथै फुङ्लिङको तोक्मे क्षेत्रबाट नेपाल सरकारकै लगानीमा ‘बाइपास रोड’ समेत निर्माण भइरहेको अवस्थामा फुङ्लिङ बजार क्षेत्रको सडक स्थानीय तहको मातहतमा राख्नु उपयुक्त हुने निष्कर्षसहित नगरपालिकाले सडक सीमाको पुनरावलोकनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो।
बाह्रै महिना तीर्थयात्री आउने तथा वर्षका मुख्य दुई सिजनमा पाथीभरा मन्दिर दर्शन गर्न आउने श्रद्धालुको सहज आवागमनका लागि तोक्मे क्षेत्रबाट निर्माण भइरहेको ‘बाइपास रोड’ प्रभावकारी हुने स्थानीयको भनाइ छ।
सडकको केन्द्रभागबाट दायाँ–बायाँ १५–१५ मिटर सडक सीमा कायम गर्ने निर्णय कार्यान्वयनमा लैजाने सरकारी तयारीका कारण सडक दायाँ–बायाँका जग्गाधनी तथा आफ्नो सम्पूर्ण सम्पत्ति बेचेर दुई–चार आना जग्गा किनेर बसेका धेरै नागरिक सम्पत्तिविहीन हुने अवस्था सिर्जना भएको भन्दै उनीहरूको संरक्षणका लागि सडक सीमाको पुनरावलोकन गर्न सिफारिस गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
निर्णयमा सडक सीमाका कारण बजार क्षेत्रका सम्पत्ति लामो समयदेखि उपयोगविहीन बनेको, धेरै नागरिक आफ्नै सम्पत्तिको उपभोग गर्नबाट वञ्चित भएको तथा त्यसबाट गम्भीर सामाजिक र मानसिक समस्या उत्पन्न भएको उल्लेख गरिएको छ।
यसअघि सडक डिभिजन कार्यालय इलामले २०८३ जेठ १३ गते मेची राजमार्गको सडक सीमा केन्द्रभागबाट दायाँ १५ मिटर र बायाँ १५ मिटर कायम हुने भन्दै उक्त क्षेत्रमा रहेका संरचना हटाउन सम्बन्धित पक्षलाई पत्राचार गरेको थियो।
प्रकाशित: ८ श्रावण २०८३ २०:२० शुक्रबार





