३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

कास्की प्रशासनले भन्यो- ग्यासको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्नू

पोखरा र आसपासका क्षेत्रमा खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको आपूर्ति समन्वय बैठकले एलपी ग्यासको विकल्प खोज्न सर्वसाधारणलाई अपिल गरेको हो।

प्रशासनले जारी गरेको सूचनामा अनावश्यक रूपमा ग्यास सञ्चितीकरण नगर्न र ग्यासथिको परनिर्भरता कम गर्न विद्युतीय चुल्होको प्रयोग बढाउन भनिएको छ।

बैठकले पेट्रोलियम पदार्थ र ग्यासको सहज आपूर्ति मिलाउन मौज्दात र वितरणको अवस्था संकलन गर्ने निर्णय गरेको छ। यसका लागि ग्यास उद्योग र बिक्रेताले आफूले प्राप्त गरेको र वितरण गरेको परिमाणको दैनिक अभिलेख प्रशासन कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ।

प्रमुख जिल्ला अधिकारी शर्माले प्रमाणपत्र प्राप्त बिक्रेताले मात्र ग्यास बिक्री गर्न पाउने प्रस्ट पारिन्। उनले भनिन्, ‘उद्योगहरूले आफ्ना प्रमाणित डिलरहरूको सम्पूर्ण विवरण प्रशासनलाई उपलब्ध गराउनुपर्नेछ।’

बजारमा कृत्रिम अभाव र कालोबजारी रोक्न प्रशासनले सूक्ष्म अनुगमन गर्ने भएको छ। उद्योगबाट वितरण भएको ग्यासको उचित बिक्री भए/नभएको, अनावश्यक सञ्चिति र मूल्यवृद्धिबारे निगरानी गर्न उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स र उपभोक्ता मञ्चलाई जिम्मेवारी दिइएको छ।

उनीहरूले अनुगमन गरी प्रशासन र प्रहरीलाई जानकारी गराउनेछन्। साथै, नेपाल आयल निगम पोखरा डिपोले पेट्रोल तथा हवाई डिपोहरूको निरन्तर अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

खुला रूपमा बोतल वा जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न पूर्ण रूपमा रोक लगाइएको प्रशासनले जनाएको छ। नियम उल्लंघन गर्नेमाथि निर्मम हुने प्रमुख जिल्ला अधिकारी शर्माले चेतावनी दिएकी छन्।

बैठकमा आयल निगम गगनगौँडा डिपो, ग्यास उद्योगी, बिक्रेता, उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ३० फाल्गुन २०८२ १८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App