२० आश्विन २०८३ मंगलबार
image/svg+xml
अर्थ

उद्योगमन्त्री साह भन्छन्: ग्यास सरकारको नियन्त्रणमा छैन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति अन्तर्राष्ट्रिय परिस्थितिमा निर्भर रहेकाले यसको विकल्प खोज्न नेपालले तत्कालै पहल गर्नुपर्ने बताएका छन्।

सोमबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री साहले रुस–युक्रेन तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा इन्धनको आपूर्ति र मूल्यमा अस्थिरता देखिएको बताए। यस्तो अवस्थाले नेपालजस्ता आयातमा निर्भर मुलुकलाई प्रत्यक्ष असर पार्ने उनको भनाइ थियो।

मन्त्री साहले बाह्य मुलुकबाट हुने इन्धन आपूर्तिमा अवरोध आए त्यसलाई नेपालले नियन्त्रण गर्न नसक्ने स्पष्ट पार्दै स्वदेशमै वैकल्पिक ऊर्जा स्रोतको विकास र प्रयोग बढाउनुपर्नेमा जोड दिए।

उनका अनुसार खाना पकाउन ग्यासमा मात्रै निर्भर रहनुभन्दा विद्युत्, ब्रिकेटलगायतका वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक छ। दीर्घकालीन रूपमा ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्ने नीति अवलम्बन गर्नुपर्ने उनले बताए।

कृषि क्षेत्रमा पनि आयातमा निर्भरता घटाउनुपर्ने मन्त्री साहको भनाइ छ। चामलको आयात प्रभावित भए स्थानीय उत्पादनबाट खाद्य आवश्यकता पूरा गर्न सक्ने गरी कृषि प्रणाली विकास गर्नुपर्ने उनले बताए।

पहाडी क्षेत्रमा उत्पादन हुने रैथाने बालीको प्रवर्द्धन गर्दै मकै, फापर, कोदो, सिमी लगायतका कृषि उपजको उत्पादन बढाउनुपर्नेमा उनले जोड दिए।

‘ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति हाम्रो नियन्त्रणमा हुँदैन,’ मन्त्री साहले भने, ‘त्यसैले बाह्य निर्भरता बढाउनुको सट्टा स्वदेशमै वैकल्पिक ऊर्जा र खाना पकाउने प्रविधिको विकास गर्नुपर्छ।’

उनले सञ्चारमाध्यमले पनि नागरिकलाई स्वदेशी उत्पादन तथा ऊर्जा प्रयोगका लागि प्रोत्साहित गर्नुपर्ने बताए। आयातमा आधारित उपभोगभन्दा स्वदेशी स्रोत र उत्पादनलाई प्राथमिकता दिने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

सांसदहरूले उठाएका ग्यास आपूर्तिसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री साहले बदलिँदो भू–राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर बाह्य वस्तुमाथिको निर्भरता क्रमशः कम गर्दै लैजानुपर्ने बताए।

प्रकाशित: १९ आश्विन २०८३ १६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App