१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अर्थ

मध्य मनसुनमा चिनियाँको आगमनमा सुधार

पोखरा भित्रिएका चिनियाँ। फाइल तस्बिरःनागरिक

मध्य मनसुनको अवधिमा पनि नेपालमा जुलाई महिनामा अघिल्लो वर्ष भन्दा केही बढि विदेशी पाहुना भित्रिएका छन्। नेपालमा हवाई माध्यमबाट मात्र यो जुलाईमा ७१ हजार ७ सय ७५ जना विदेशी पाहुना भित्रिएका छन्। जुलाईमा चिनियाँ पाहुनाको आगमनमा भने ह्वात्तै वृद्धि भएको छ। अघिल्ला वर्ष भन्दा यो मनसुनको समयमा चिनियाँको आगमनमा वृद्धि भएको छ।  

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जुलाई महिनाको यो आगमन २०२५ को जुलाईको भन्दा केही बढि हो। २०२५ जुलाईमा नेपालमा सबैगरि ७० हजार १ सय ९३ जना विदेशी पाहुना भित्रिएका थिए। अघिल्लो वर्षको जुलाईको तुलनामा यो पटकको जुलाईमा विदेशी पाहुना आगमनमा जम्मा २.३ प्रतिशत वृद्धि भएको पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछानेले बताए।  

‘मध्य मनसुनका बाबजुत पनि आगमनमा सामान्य वृद्धि भएको छ। आगमनमा सुधार त भएकै छ। चिनियाँ पाहुनाको आगमनले यो पटक केही उत्साह थपेको छ,’ उनले भने, ‘उत्साहजनक रुपमा चिनियाँको आगमन वृद्धि भएको छ।’ उनका अनुसार यो बेला चिनियाँका लागि नेपाल घुमघामको खास सिजन होईन। तर, आगमन भने वृद्धि भएको छ।  

चीनमा यो बेला कलेज र विद्यालयमा गर्मी बिदा हुने भएकोले चिनियाँ पाहुनाको आगमन बढेको हुन सक्ने उनले बताए। ‘स्कुल र कलेज बिदा भएपछि विद्यार्थीहरु घुम्न निस्कन पाएका छन्। बच्चाको विद्यालय बिदा भएपछि परिवारै सहित घुम्न निस्कन पाउँदा चिनियाँको आगमनमा वृद्धि भएको हो,’ उनले भने।  

कोरोना भाईरस संक्रमण सुरु हुनुअघि सन् २०१९ को जुलाईमा नेपालमा भित्रिएका चिनियाँको संख्या १० हजार २ सय १५ रहेको थियो। त्यो आगमन खस्केर २०२५ जुलाईमा ६ हजार ८ सय ९० मा झरेको थियो। तर, त्यो आगमन यो जुलाईमा झनै बढेर ११ हजार ९९ पुगेको छ। नेपालमा चिनियाँ पाहुना आगमन लामो समयदेखि खस्केको अवस्थामा अहिलेको आगमनले कोरोना अघिकै अवस्थामा फर्किने संकेत देखिएको उनले बताए।  

कलेजमा बिदा, पर्यटन बोर्डले चीनका विभिन्न प्रदेशसँगको समन्वयमा गरेको प्रवर्द्धन कार्यक्रमले पनि चिनियाँ पाहुना नेपाल भित्र्याउन सघाएके उनले बताए। नेपालले चिनियाँ पाहुनाका लागि गरेको निशुल्क भिसा प्रावधानले गर्दा पनि पाहुना आगमन बढाउन सहज भएको लामिछानेले बताए। ‘मनसुनमा पनि चिनियाँ पाहुना वृद्धि हुँदा त्यसले व्यावसायीलाई राहत मिलेको छ। यूरोपका पाहुना आगमन पछिल्लो समय कमजोर हुँदै जाँदा चिनियाँ बढ्दा पर्यटन क्षेत्रले लाभ लिएको छ,’ उनले भने।  

जुलाई महिनामा २३ हजार ४ सय ९० जना भारतीय पाहुना भित्रिए। भारतीय पाहुनाको यो आगमनले करिब ३३ प्रतिशत हिस्सा ओगटेको छ। त्यसैगरि ७ हजार ७ सय ५४ जना अमेरिकी पाहुना नेपाल भित्रिए। बंगलादेशका पाहुनाको आगमन ४ हजार १ सय ७९ रहेको छ। बेलायती पाहुनाको आगमन भने जम्मा ३ हजार ७ सय ७३ रहेको पनि बोर्डको तथ्यांक छ।

नेपाल भित्रिएका विदेशी मध्ये दक्षिण एशियाका पाहुनाको हिस्सा ४१.५ प्रतिशत रहेको छ। त्यस्तै एशियाका पाहुनाको हिस्सा २४ प्रतिशत रहेको छ। यूरोपका पाहुनाको हिस्सा भने करिब १३ प्रतिशत रहेको छ। अमेरिकी पाहुनाको आगमन पनि १२ प्रतिशत रहेको छ।  

प्रकाशित: १८ श्रावण २०८३ १८:१४ सोमबार

चिनियाँ पाहुना जुलाई महिना