११ आश्विन २०८३ आइतबार
image/svg+xml
अर्थ

भोटेकोशी बाढीको असर : नेपालको आर्थिक वृद्धि घट्ने एडिबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धि सन् २०२६ मा ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

एडिबीको नयाँ प्रतिवेदन ‘एसियन डेभलपमेन्ट आउटलुक सेप्टेम्बर २०२६’ अनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धि सन् २०२७ मा ४.१ प्रतिशत रहने अनुमान गरिएको छ। एडिबीका अनुसार भोटेकोशी बाढीबाट कृषि, यातायातका मार्ग र वस्तु वितरण प्रणालीमा भएको क्षतिका साथै व्यापार, ऊर्जा र मौसमसम्बन्धी अवरोधका कारण प्रक्षेपण घटाइएको हो।

बाढीका कारण कृषि उत्पादन र यातायातमा परेको असर तथा विश्वव्यापी इन्धनको मूल्य बढ्दा सन् २०२७ मा नेपालमा मूल्य दबाब बढ्न सक्ने देखिएको छ। नेपालको मुद्रास्फीति सन् २०२६ मा ५ प्रतिशत र सन् २०२७ मा ५.३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

दक्षिण एसियाको आर्थिक वृद्धि सन् २०२६ मा ६.४ प्रतिशत र सन् २०२७ मा ६.५ प्रतिशत रहने एडिबीको अनुमान छ। सन् २०२६ मा भारतको आर्थिक वृद्धि ७ प्रतिशत, बंगलादेशको ३.७ प्रतिशत, पाकिस्तानको ३.७ प्रतिशत, भुटानको ६.५ प्रतिशत र श्रीलंकाको ४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

यसैगरी, चीनको आर्थिक वृद्धि सन् २०२६ मा ४.६ प्रतिशत र सन् २०२७ मा ४.५ प्रतिशत रहने एडिबीको अनुमान छ। इन्डोनेसियाको ५.२ प्रतिशत, मलेसियाको ४.७ प्रतिशत, भियतनामको ७.८ प्रतिशत र थाइल्यान्डको २ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ।

विकासशील एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक वृद्धि सन् २०२६ मा ५ प्रतिशत र सन् २०२७ मा ५.१ प्रतिशत रहने देखिएको छ। दक्षिण-पूर्वी एसियाको आर्थिक वृद्धि भने सन् २०२६ मा ४.७ प्रतिशत र सन् २०२७ मा ४.९ प्रतिशत रहने अनुमान गरिएको छ।

‘यस क्षेत्रले लचिलोपन कायम राखेको छ, तर जोखिमहरू बढ्दै गएका छन्,’ एडिबीका अध्यक्ष मासातो कान्डाले भनेका छन्। बलियो हुँदै गएको ‘एल निनो’का कारण बाली तथा जलविद्युत उत्पादन घट्न सक्ने र खाद्य तथा ऊर्जाको मूल्य बढ्न सक्ने उनको चेतावनी छ।

एडिबीले मध्यपूर्वको द्वन्द्व विस्तार, युक्रेनमा रुसको युद्ध, शक्तिशाली ‘एल निनो’, कसिलो वित्तीय अवस्था र व्यापार नीतिसम्बन्धी अनिश्चिततालाई क्षेत्रीय अर्थतन्त्रका मुख्य जोखिमका रूपमा औँल्याएको छ।

एडिबीले सन् २०२६ का लागि विकासशील एसिया तथा प्रशान्त क्षेत्रको मुद्रास्फीति प्रक्षेपण ४.३ प्रतिशतबाट घटाएर ४.२ प्रतिशत र सन् २०२७ का लागि ३.४ प्रतिशतबाट बढाएर ३.५ प्रतिशत पुर्‍याएको छ।

प्रकाशित: ११ आश्विन २०८३ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App