२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

‘दलहरू सच्चिए अर्थतन्त्र चलायमान हुन सक्छ’

जेनजी आन्दोलनलगायत विभिन्न राजनीतिक घटनाक्रमले गर्दा अर्थतन्त्र सकसमा छ। अर्थतन्त्र सुधारका लागि सरकारले लगानीको वातावरण सिर्जना गर्न सके केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन सकिने विश्लेषकहरूको बुझाइ छ।

पूर्व अर्थसचिव गोपीनाथ मैनालीले भने, ‘आर्थिक मन्दी छ भन्ने भाष्य निर्माण गरिएकाले नकारात्मकता बढेको हो। यस्तो भएको छैन र यो हुँदै–हुँदैन भन्दाभन्दै त्यसले एउटा नकारात्मक भाष्य निर्माण हुनपुग्यो। यसैले हामीलाई कमजोर बनायो। यस्तो हुन नदिई नेपालको अर्थतन्त्रलाई राम्रो बनाउने वातावरण तयार गर्न बौद्धिक भनिएकाहरूको भूमिका सकारात्मक हुनुपर्छ।’

उनका अनुसार नेपालमा अहिले लगानीकर्ताको मनोबल गिरेसँगै उनीहरू डराइरहेको स्थिति देखिन्छ।

जेनजी आन्दोलनमा भौतिक संरचनाहरू भत्काइएकाले गर्दा लगानीकर्ताहरूमा सुरक्षा चासो बढेको छ। भौतिक संरचनामा क्षति पुगेकाले लगानीकर्ताहरूले धेरै दुःख मानेको उनले बताए। सुशासनको सुनिश्चितता नदेखिएकाले पनि लगानीकर्ता लगानी गर्न हिचकिचाइरहेको उनको भनाइ छ।

पूर्व अर्थसचिव मैनालीले भने, ‘लगानीकर्तालाई हरेक ठाउँमा कार्यविधिले दुःख दिन्छ। कानुन बने पनि कार्यान्वयन हुँदैन। यसले राज्य एकदमै कमजोर छ भन्ने धारणा वृद्धि गर्न सहयोग गरेको छ।’

राजनीतिक दल वातावरण सुधार गर्नेभन्दा बिगार्न उद्यत् देखिएकाले गर्दा पनि अर्थतन्त्र चलायमान हुन नसकिरहेको उनले बताए।

लगानीकर्तालाई सरकारले छोटो अवधिका लागि कर र ब्याज दरमा सहुलियत दिँदै पूर्वाधारका काम तत्काल सुरु गर्नु आवश्यक रहेको उनले बताए। निजीक्षेत्रले पनि लगानीकर्ताको मनोबल बढाउन सरकारसँगै सहकार्य गर्न सके अर्थतन्त्र विस्तारै गतिशील हुँदैजाने उनको बुझाइ छ।

अर्थविद् डा. गुणाकर भट्टले पुनर्निर्माणका कामलगायत पूर्वाधार निर्माणलाई अगाडि बढाउन सके अर्थतन्त्र आफैं सुध्रिँदै जाने बताए।

अर्थविद् भट्टले भने, ‘पूर्वाधार निर्माणको पुँजीगत खर्च बढाउन सकियो भने त अर्थतन्त्र केही हदसम्म भए पनि चलायमान हुनसक्थ्यो। पूर्वाधार पुनर्निर्माणका कामलाई प्राथमिकतामा राखेर गरियो भने त अर्थतन्त्रमा सुधार आउन थालिहाल्छ।’

लगानीकर्तामा आत्मविश्वास, राजनीतिक स्थिरता, शान्ति र सुरक्षालगायतका मनोबल उकास्न सहयोग गर्ने पक्षलाई प्राथमिकता दिँदै अघि बढ्न सके केही हदसम्म भए पनि अर्थतन्त्रमा सुधार आउन सक्ने उनको भनाइ छ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले दलहरू सुध्रिएर आफ्ना बाचा पूरा गर्दै अगाडि बढेमा आर्थिक रूपले समृद्ध हुन सकिने बताए। उनले भने, ‘दलहरू सच्चिनुप¥यो यसको अर्को विकल्प छैन। दलहरू सच्चिए भने देशमा केही हुन्छ कि भन्ने आसा दिलाउन सकिन्छ। उनीहरू सच्चिए मात्र आर्थिक समृद्धि संभव छ।’

राजनीतिक विश्लेषक श्रेष्ठका अनुसार नेपाल साधन स्रोत कमी भएको देश होइन। साधन स्रोत प्रशस्तै भएको तर दलहरू बिग्रिनाले यसको सदुपयोग हुन नसकेको हो। जब साधन स्रोतको सदुपयोग हुनथाल्छ त्यसैबेलादेखि देशमा समृद्धितर्फको पाइला अघि बढ्छ।

प्रकाशित: २७ कार्तिक २०८२ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App