२७ भाद्र २०८३ शनिबार
image/svg+xml
अर्थ

हाइड्रोपोनिक्स: आधुनिक कृषिको नयाँ सम्भावना

काठमाडौंको टोखामा पुग्दा परम्परागत कृषि प्रणालीभन्दा फरक दृश्य देखिन्छ। खेतमा माटो छैन तर हरिया लोभलाग्दा तरकारी। बिरुवाका जराले माटो होइन, पानी र आवश्यक पोषक तत्त्वको सहायतामा आफ्नो उत्पादन दिइरहेका छन्।

धेरैलाई यसको बारेमा थाहा भए पनि केहीका लागि यो नौलो लाग्न सक्छ। कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा नेपालमा माटोरहित खेतीको अवधारणा विस्तार हुँदै गएको छ। यही बदलिँदो कृषि अवधारणालाई व्यवहारमा उतार्न तल्लीन छ, हाइड्रोपोनिक्स नेपाल प्रालि।

माटोबिना खेती गर्ने प्रविधिलाई नेपालमा विस्तार गर्ने उद्देश्यसहित सन् २०१६ देखि संस्थाले हाइड्रोपोनिक्ससँगै एरोपोनिक्स, एक्वापोनिक्स तथा अन्य माटोरहित कृषि प्रणालीलाई प्रवद्र्धन गर्दै आएको छ। परम्परागत कृषिका लागि उर्वर माटो, पर्याप्त जमिन र पानी आवश्यक हुन्छ तर बढ्दो सहरीकरण, खेतीयोग्य जमिनको सीमितता, कृषि श्रमको अभाव र स्वस्थ खाद्य उत्पादनप्रतिको बढ्दो चासोले वैकल्पिक कृषि  प्रणालीको आवश्यकता बढाएको छ। यही परिवेशमा सीमित स्थान र स्रोतको प्रभावकारी उपयोग गर्न सकिने माटोरहित खेती प्रविधि  सम्भावनायुक्त विकल्पका हाइड्रोपोनिक्सको अवधारणा आएको हो।

घरदेखि व्यावसायिक फार्मसम्म

हाइड्रोपोनिक्स नेपालले आधुनिक कृषि प्रविधिलाई ठुला व्यावसायिक फार्ममा मात्र सीमित नराखी किसान तथा घरपरिवारसम्म पुर्‍याउने लक्ष्य राखेको छ। सरल र किफायती हाइड्रोपोनिक प्रणालीमार्फत घरमै ताजा तरकारी उत्पादन गर्न सकिने तथा इच्छुक व्यक्तिले यसलाई आम्दानीको माध्यमका रूपमा समेत विकास गर्न सकिने फार्म म्यानेजर सुदिप दाहालले बताए।

विशेषगरी सीमित जमिन भएका सहरी क्षेत्रमा छत, आँगन, ग्रीनहाउस वा उपलब्ध सानो स्थानको उपयोग गरेर उत्पादन गर्न सकिने भएकाले हाइड्रोपोनिक्स सहरी कृषिका लागि पनि उपयोगी विकल्प बन्न सक्छ, उनले भने।

विद्यार्थीका लागि व्यावहारिक अध्ययन केन्द्र

हाइड्रोपोनिक्स नेपालको अर्को महत्वपूर्ण पक्ष यसको शैक्षिक तथा अध्ययनमूलक भूमिका हो। कक्षाकोठामा पढाइने आधुनिक कृषि प्रविधिसम्बन्धी सैद्धान्तिक ज्ञानलाई प्रत्यक्ष अवलोकन र प्रयोगात्मक सिकाइसँग जोड्न फार्मले अवसर प्रदान गर्दै आएको छ।

यहाँ विद्यार्थीहरूले हाइड्रोपोनिक प्रणालीको प्रत्यक्ष अवलोकन गर्दै माटोरहित खेती, बिरुवाको वृद्धि प्रक्रिया, पोषक तत्त्व व्यवस्थापन तथा दिगो कृषि अभ्यासबारे व्यवहारिक ज्ञान हासिल गर्ने अवसर समेत पाउँछन्। फार्ममा रहेको एक्वापोनिक्स प्रणालीले माछापालन र बिरुवा उत्पादनबिचको सम्बन्ध बुझ्न सहयोग गर्छ।

माछापालन र बिरुवा उत्पादन एउटै प्रणालीमा कसरी जोडिन्छन्, पानीको पुनःप्रयोग कसरी हुन्छ र यसले वातावरणमैत्री कृषि प्रणालीमा कसरी योगदान पुर्‍याउन सक्छ, भन्ने विषय विद्यार्थीले प्रत्यक्ष रूपमा बुझ्न सक्छन्।

हाइड्रोपोनिक्स नेपाल व्यवसायिक कृषि फार्ममा मात्र सीमित नभई आधुनिक कृषि प्रविधिको फिल्ड अध्ययन तथा अवलोकनको गन्तव्यका रूपमा समेत विकास हुँदै गएको छ। हालसम्म काठमाडौं उपत्यकाका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाबाट दर्जनौं विद्यार्थीले फार्मको अवलोकन तथा फिल्ड अध्ययन गरिसकेका छन्।

हाइड्रोपोनिक खेतीमा माटोको विकल्पमा पानी र आवश्यक पोषक तत्त्व प्रयोग गरिन्छ। बिरुवाको जरासम्म पोषण र पर्याप्त अक्सिजन पुग्ने व्यवस्था मिलाइन्छ। यसका लागि पानीको गुणस्तर, अम्लीयता तथा पोषक तत्त्वको मात्रा लगायतका पक्षको नियमित व्यवस्थापन आवश्यक हुन्छ।

हाइड्रोपोनिक्स नेपालले आवश्यकता र बालीअनुसार विभिन्न प्रविधि प्रयोग गर्दै आएको छ। एरोपोनिक्स प्रणालीमा बिरुवाको जरालाई माटोमा नराखी पोषक तत्त्वयुक्त सूक्ष्म कुहिरोमार्फत पोषण उपलब्ध गराइन्छ।

त्यस्तै एक्वापोनिक्स प्रणालीले माछापालन र बिरुवा उत्पादनलाई एउटै चक्रमा जोड्छ। माछापालनबाट प्राप्त पानीलाई प्रशोधन तथा पुनः प्रयोग गर्दै बिरुवाका लागि आवश्यक पोषक तत्त्व उपलब्ध गराउने यो प्रणालीले पानीको प्रभावकारी उपयोगसँगै कृषि उत्पादनलाई जोड्ने काम गर्छ।

अर्कोतर्फ माटोरहित खेती प्रणालीमा नरिवलको रेसाबाट तयार गरिएको कोयर ग्रो ब्याग लगायतका माध्यम प्रयोग गरी विभिन्न तरकारी तथा फूल उत्पादन गर्न सकिन्छ। बालीअनुसार उपयुक्त माध्यम र त्यसको व्यवस्थापन यस प्रणालीको महत्वपूर्ण पक्ष हो।

प्रविधिसँगै तालिम र परामर्श

हाइड्रोपोनिक्स नेपालले प्रविधि उपलब्ध गराउने मात्र नभई तालिम, परामर्श तथा संरचना निर्माण र जडान सेवासमेत प्रदान गर्दै आएको छ। हाइड्रोपोनिक खेतीमा रुचि राख्ने किसानलाई आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने, परियोजनाको आवश्यकता र सम्भाव्यताअनुसार परामर्श दिने तथा प्रणाली स्थापनामा सहयोग गर्ने संस्थाको कार्यक्षेत्र भएको कर्पोरेट सिईओ नोजल कोइरालाको भनाइ छ।

संस्थाको उद्देश्य नेपालमा हाइड्रोपोनिक्स, एक्वापोनिक्स तथा अन्य माटोरहित कृषि प्रविधिबारे जानकारी र जनचेतना विस्तार गर्नुका साथै किसान, व्यवसायी, विद्यार्थी, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालाबीच सहकार्यको वातावरण निर्माण गर्नु पनि रहेको कोइरालाले बताए। यसले नेपालको एग्रो टुरिजममा पनि उल्लेखननीय योगदान पुर्‍याउने उनले बताए।

अनुसन्धान, तालिम, परामर्श र सहकार्यलाई जोड दिँदै भविष्यमा उच्च प्रविधिमा आधारित कृषि प्रणालीप्रति किसान तथा नयाँ पुस्ताको सहभागिता बढाउने प्रयास भइरहेको छ। राजधानीको टोखाबाट विस्तार भएको हाइड्रोपोनिक्स प्रणाली काठमाडौंका अन्य ठाउँका साथै पोखरा लगायत देशका विभिन्न भागमा विस्तार भएको छ।

कृषि र प्रविधिको बदलिँदो सम्बन्ध

नेपालको कृषि अझै ठूलो हदसम्म परम्परागत प्रणालीमा निर्भर देखिन्छ। तर खेतीयोग्य जमिनको सीमितता, सहरीकरण र उत्पादन प्रणालीमा देखिएका नयाँ चुनौतीसँगै कृषि क्षेत्रमा प्रविधिको प्रयोग र विविधीकरणको आवश्यकता बढिरहेको छ।

 हाइड्रोपोनिक्सले सबै प्रकारका परम्परागत खेतीलाई विस्थापित गर्ने एउटै समाधान भने होइन। यसको लागत, प्राविधिक ज्ञान, नियमित व्यवस्थापन, बजार र उत्पादनको प्रकृतिलाई समेत ध्यान दिनुपर्छ तर सीमित स्थान, सहरी कृषि, शैक्षिक अध्ययन तथा निश्चित प्रकारका तरकारी उत्पादनका लागि यसले नयाँ सम्भावनाको नयाँ ढोका खोल्न सक्छ। उत्पादनसँगै शिक्षा, अनुसन्धान, तालिम र व्यावहारिक अध्ययनलाई जोड्दै हाइड्रोपोनिक्स नेपालले आधुनिक कृषि प्रविधिको सम्भावनालाई व्यवहारमा देखाउने प्रयास गरिरहेको छ।

स्वादसँगै स्वस्थ खानपान

हाइड्रोपोनिक्स नेपालसँगै रहेको फार्म गार्डेन क्याफेले भने यही कृषि उत्पादनलाई खानाको स्वादसँग जोडेको छ। परम्परागत क्याफेभन्दा फरक अवधारणामा सञ्चालित क्याफेमा ग्राहकले खानाको स्वादसँगै त्यसको उत्पादनस्थल र कृषि प्रविधिलाई समेत नजिकबाट अनुभव गर्न सक्छन्।

क्याफेमा प्रयोग हुने विभिन्न ताजा तरकारी, हरियो सागपात तथा जडीबुटीजन्य सामग्री हाइड्रोपोनिक्स नेपालकै फार्ममा उत्पादन हुने भएकाले फार्मदेखि प्लेटसम्मको ताजापन यहाँको विशेष आकर्षण बनेको छ। फार्ममा उत्पादित कृषि उपजलाई विभिन्न परिकारमा समावेश गर्दै स्वाद र स्वस्थ खानपानलाई सँगसँगै अघि बढाउने प्रयास गरिएको क्याफेका म्यानेजर मधु खड्काले बताए।

हरियाली वातावरणमा बसेर खाना खान पाइने भएकाले क्याफेले ग्राहकलाई खानासँगै फार्म र आधुनिक कृषि प्रणालीको अनुभवसमेत प्रदान गर्छ। यस अर्थमा फार्म गार्डेन क्याफे केवल खाना खाने ठाउँमा सीमित छैन। फार्ममा उत्पादन, भान्सामा परिकार र प्लेटमा ताजापन–कृषि र खानाबीचको यही प्रत्यक्ष सम्बन्धले यसलाई फरक गन्तव्यका रूपमा चिनाउन खोजेको छ।

माटोबिना खेती सम्भव छ भन्ने अवधारणालाई उत्पादनदेखि शिक्षा र खानासम्म जोड्दै टोखामा हाइड्रोपोनिक्स नेपालले आधुनिक कृषिको एउटा फरक अभ्यास प्रस्तुत गरिरहेको छ। बदलिँदो समयसँगै नेपालको कृषि पनि प्रविधिको नयाँ यात्रामा अघि बढिरहेको संकेत समेत यसले दिएको छ।  

प्रकाशित: २७ भाद्र २०८३ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App