स्पेनको आल्वासेतेस्थित शान्त गाउँ भियलगार्दो दिनहुँ झिसमिसेमा र राती अबेरसम्म निकै व्यस्त हुन्थ्यो। केही गाडीहरू मानिस बोकेर हुइँकिन्थे। एकाबिहानै र मध्यरातमा खेती गर्ने श्रमिकहरूको चहलपहल हुन्थ्यो। दिनभर भने चरोमुसो केही नै नभएजस्तो देखिन्थ्यो।
च्याउ उमार्ने छाप्राभित्र सयौं नेपाली र भारतीयहरू केही समय शरीरलाई आराम दिँदै भविष्य कोरिरहेका थिए। छाप्राभित्र न झ्याल थिए, न व्यवस्थित बसाइ थियो। ठ्याक्कै भेडाबाख्राको खोरजस्तो!
युरोपका विभिन्न देशमा पीडा बोकेर दुःख बिसाउँदै कमाउने सपना बटुलेर स्पेन आएकाहरूको कष्टकर दैनिकीबारे प्रहरीले भने निगरानी गरिरहेको थियो। अगष्ट २६ मा आल्वासेतेमा दुर्घटनामा परेर भोजपुरका पदम घिमिरेको ज्यान गएपछि प्रहरी झन् चनाखो बन्यो। उनको शव व्यवस्थापनदेखि आवश्यक उद्धार कार्यमा खटिएका केशवराज कँडेलसँग प्रहरीले आफ्नो मिसन सफल पार्न सहयोग माग्यो। आल्वासेतेमा बस्दै खेतीमा लागेको १० दिनमै घिमिरेले ज्यान गुमाएका थिए। प्रहरीले आल्वासेतेमा श्रम शोषण गर्ने, मानववेचबिखन गर्ने, कर छली गर्ने गिरोहको छानबिन गरिरहँदा नेपाली समुदायसँग बुझ्न कँडेल सहयोगी बन्न पुगे।
गैरआवासीय नेपाली संघ स्पेनका पूर्वउपमहासचिव, नेपाली जनप्रगतिशील मञ्च स्पेनका उपाध्यक्ष केशवराज स्पेनी भाषामा पोख्त छन्। करिब २० वर्षदेखि स्पेनलाई कर्मथलो बनाएका उनले स्पेनमै रेष्टुरेन्ट व्यवसाय गर्छन्। कँडेल अस्पतालमा होस् वा प्रहरीमा केस पर्दा होस्, नेपालीलाई सहजीकरण र सहयोग गर्नेगर्छन्। नवआगन्तुक नेपालीका लागि धेरै गुन लगाउने अभिभावकका रूपमा चिनिन्छन्। उनै केशवराज भियलगार्दो प्रकरणमा सुरुमा निकै आलोचित भए र पछि हिरो बने।
‘फ्रान्सिस्कन एभरेष्ट’ अप्रेसनले अवैध रूपमा काम लगाउने, श्रम शोषण गर्ने, कर छली गर्ने गिरोहको सञ्जाल तोड्न अनुसन्धान गरिरहेको थियो। नोभेम्बर ५ को झिसमिसेमै गार्दिया सिभिल, नेसनल प्रहरी भियलगार्दोका छाप्रामा पुग्यो। खेतीमा काम गर्ने तयारीमा रहेका कामदारहरू निकै डराए। प्रहरीसँगै नेपालीलाई देखेपछि धेरैले सोचे– हाम्रो जागिर खोस्न नेपालीले नै प्रहरीलाई ल्याए! केशवराजसँगै सोनल पुन, संकल्प क्षेत्री, समिर गुरुङसहितको टोलीले नआत्तिन अनुरोध गर्यो। उनीहरूले उद्धार गर्न आएको बताए। स्पेनी प्रहरीलाई नेपालीले भोगेका दुःख बुझाए। प्रहरीले घटनास्थलबाटै खेतीमा काम लगाउने पाकिस्तानीलाई पक्राउ गरेर लग्यो।
घटनास्थलमा नेपालीलाई भाषा सहजीकरण गर्न कँडेलसहितको टोली खटिएको थियो। प्रहरीले आल्वासेते, एलिकान्ते, कास्टेलोन, सिउडाड रियल, मर्सिया, भ्यालेन्सिया र सारगोसाका कृषि फार्महरूमा अवैध रूपमा काम लगाउने गिरोहलाई एकै पटक पक्राउ गरेको थियो। त्यसबेला ११ जना पक्राउ परे। नगद, चेकबुक, मोबाइल, कम्प्युटर, कार्य रिपोर्ट, जालसाजी कागजात, आपराधिक गतिविधि प्रमाणित गर्ने कागजात, मान्छे ढुवानी गर्ने गाडी सबै जफत गर्यो। नेपालीहरूको रोजगारी गुम्यो। केही नेपाली अन्यत्र काम खोज्दै हिँड्न थाले।
भियलगार्दो एकाएक चर्चामा आयो। अत्याचार सहेर बस्न बाध्य नेपालीहरू बिचल्लीमा परेपछि नेपाली समुदायका संघसंस्था जुट्न थाले। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले सहजीकरण तथा उद्धार गर्न प्रस्तावित आइसिसी सदस्य तथा पूर्व वरिष्ठ उपाध्यक्ष रोशन पाठकको संयोजकत्वमा विशेष समिति नै बनायो। क्षेत्रीय समितिहरू पनि राहत दिन खटिए। नेपाल समाज एसोसियसन ‘कोस्टाब्लांका’ पटक–पटक राहत लिएर फिल्डमा पुग्यो। प्रहरी, रेडक्रस, मानवअधिकारकर्मी, वकिल र स्पेनी जनप्रतिनिधिहरू फिल्डमा पुगे, नेपालीहरूको कहालीलाग्दो अवस्था देखेर द्रविभूत बने।
नेपालीहरूसँग बयान लिन थालियो। केशवराजसँगै एक दर्जन पुराना नेपालीहरूले भाषा अनुवादको काम गरे। भियलगार्दोका करिब तीन सय नेपाली घर फिर्ता हुने, जरिवाना तिर्नुपर्ने चिन्ताले पिरोलिएका थिए। तीन महिनापछि भने उनीहरूको चिन्ता हट्न थाल्यो किनभने तिनले आवासीय सुविधासहित काम पाउने सुनिश्चित भयो। अहिले नेपालीहरू निकै खुसी छन्। तीन महिनामा केशवराज कँडेल, रोशन पाठकसहितको समूहले नेपालीका समस्यालाई मलम लगाउने काम गरे। प्रहरी रेडक्रस, स्थानीय सरकारलाई अनुरोध गरेर खाना, लत्ताकपडाको जोहो गराए। न कमाइ, न भविष्यको टुंगो, अन्योलपूर्ण र कष्टकर तीन महिना गुजारेका नेपालीहरू यतिबेला भने निकै प्रफुल्लित छन्।
काभ्रेपलान्चोकको मण्डेनदेउपुर १० का राममणि नेपाल रोमानियाबाट स्पेन छिरेको चार महिना मात्र भएको थियो। भियलगार्दाेमा बसेका उनी एक हप्तामा ठाउँ छोडेर जानुपर्ने चिन्तामा थिए। उनी तीन महिनामा स्पेन बसोबास (रेसिडेन्सी)को सुविधा र कामको सुनिश्चितता भएको पत्र बुझ्दा निकै भावुक भए। ‘सिनेमा जस्तो लागेको छ, कल्पनासम्म थिएन’, उनी भन्छन्, ‘केशव, रोशन दाइहरूको सहयोगले खुसीका दिन आए।’
गुल्मी मुसिकोटका ध्रुव खरेल बाग्लुङको बडीगाड २ मा बस्छन्। उनको कथा पनि उस्तै छ। फेब्रुअरी ६ मा स्लोभाकिया पुगेका उनी स्पेन राम्रो छ भनेरै स्पेन आए। खेतीमा काम गर्दागर्दै उनी पनि पक्राउ परे। ‘दुईतीन महिना निकै अन्योलपूर्ण भयो’, उनी सम्झन्छन्, ‘केशव दाजुहरूले समस्या हुँदैन भन्दै सम्झाउनुभयो, बस्नुपर्छ भन्नुभयो, बसेको फल पाइयो, निकै खुसी लागेको छ।’
फेब्रुअरी ५ मा ५० जना साथीहरूसँगै पहिलो चरणमा काम र रेसिडेन्सीसहितको सुविधा पाएकाले उनी निकै प्रफुल्ल छन्। कम्पनीकै गाडी आएर उनी र साथीहरूलाई फेब्रुअरी ५ बिहीबारका दिन काममा लगे।
झापा बुद्धशान्ति गाउँपालिका ४ का युद्धहाङ लिम्बू पनि अन्योल चिरेर बसाइ र काम पाएपछि ढुक्क छन्। सात महिनादेखि भियलगार्दोमा बस्दा उनले पनि निकै कठिनाइ भोगे। ‘महिनौं तलब पनि नपाउने, कष्टकर बसाइसहितको दलदलमा थियौं, उनले भने, ‘उहाँहरू भगवान् बनेर आउनुभयो, हामी सबैको उद्धार गर्नुभयो। प्रहरीले छापा मारेपछि तीन महिना रोजगारी पनि गुमाएका थिए। यो अवधिमा उनै केशव, रोशनले खाद्यान्न, लत्ताकपडा, स्वास्थ्योपचारको सहज व्यवस्था मिलाएर नेपालीको न्यानो सहयोग जुटाएका थिए।
कास्कीको रूपा गाउँपालिका ४ की अनिता (अधिकारी) नेपाल क्रोएसिया छाडेर स्पेन आएकी थिइन्। खेतीमा काम गर्दा पाकिस्तानीहरूले दुव्यर्वहार गर्थे, धम्क्याउँथे तर विगतको पीडाले अहिले खुसी दिलाएको छ। उनी पनि रेसीडेन्सी लिने तयारीमा छिन्। ‘दुईतीन वर्ष कुनुपथ्र्यो, अब सहज हुँदैछ, उनले भनिन्, ‘हाम्रा दुःखका दिन गए, अध्यारोपछि उज्यालो आएजस्तो भएको छ।
सोलुखुम्बुकी नम्रता विश्वकर्मा साइप्रसबाट २१ दिन लगाएर स्पेन छिरेकी थिइन्। सोचेजस्तो काम र कमाइ नपाएपछि ठगिएकी थिइन्। ‘धेरै दुःख पाइयो, आज सत्यको जीत भएको छ, उनले भनिन्, ‘हाम्रा लागि दिनरात यहाँको प्रशासन र सरकारसँग पहल गर्नेहरूलाई मनैदेखि धन्यवाद।
गैंडाकोट १२ हर्कपुरकी लक्ष्मी विश्वकर्मा पनि साइप्रसबाट स्पेन आएकी थिइन्। काम गरेर पनि पैसा नपाउँदा, बिहान सबेरै र राती अबेरसम्म खेतीमा काम गर्दा धेरै रोएकी थिइन् तर अहिले कागज र कामको टुंगो लागेपछि उनको परिवार नै खुसी भएको छ।
भियलगार्दोमा कानुनी लडाइँ गरिरहेका नेपालीका लागि रेसिडेन्सी कार्ड नम्बर, कामको व्यवस्थासहित स्पेनको गार्दिया सिभिल प्रहरीले फेब्रुअरी ५ र ११ मा ५०–५० जनालाई ओयलबामा पठाएको छ।
आल्वासेतेमा प्रहरी अप्रेसनको पहिलो दिनदेखि फिल्डमा खटिएका केशवराज कँडेल रेसिडेन्सी कार्ड र काम दिलाउन पाएकोमा निकै आत्मसन्तुष्टि मिलेको बताउँछन्।
‘कागज दिँदैन, घर फिर्ता पठाउँछ, सहयोग गर्न सकिँदैन भन्नेहरू पनि आज जस लिन र सम्मान लिन हानाथाप गरेका छन्’, उनले भने, ‘पुराना नेपालीहरूले नवआगन्तुक नेपालीलाई कहिल्यै दास सोच्नुहुँदैन, उनीहरूको पनि घरपरिवार छ, भविष्य छ भन्ने बुझ्नुपर्छ।’
भियलगार्दोमा बसिरहेका नेपालीलाई ओयलबामातर्फ बिदाई गर्दै उनले भने, तपाईंहरूको उज्ज्वल भविष्य बनोस्, नेपालीको इज्जत कहिल्यै धमिलो नहोस्।’
मुद्दा विचाराधीन भए पनि एक वर्षको बसोबास अस्थायी (रेसिडेन्सी) कार्ड बन्ने गरी एनआई नम्बरसहितको पत्र र काम दिलाएर बिदाइ गर्न पाउँदा उनले हर्षका आँसु झारे। उनी बारम्बार प्रहरी, स्थानीय सरकारसँग निकट बनेर नेपालीको अधिकारबारे जुधिरहे। पाँच घण्टा लामो दूरीको यात्रा गर्दै आफ्नो रेस्टुरेन्ट व्यवसाय नै छाडेर आल्वासेते जाने दैनिकी नै बनाए।
चामल, ग्यास, कपडाका लागि रेडक्रस, स्थानीय नगरपालिकालाई अनुरोध गर्ने हुलाकी बने। कहिले बिरामीलाई अस्पताल लग्ने एम्बुलेन्स बने। ‘सबैलाई कार्ड दिन सकिँदैन, २०, २२ जनालाई दिन सकिन्छ, अरुलाई जान भनौं भनेर छलफल हुँदा प्रतिवाद गरे’, उनी भन्छन्, ‘स्पेनलाई कामदारको खाँचो छ, अन्यायमा परेकालाई मलम लगाउँ, वैधानिक रूपमै बस्ने, काम गर्ने अधिकार दिनुपर्छ भन्यौं, त्यो पहल सार्थक बन्यो।’
गार्दिया सिभिल, नेसनल प्रहरी, रेडक्रस, नगरप्रमुख सबैले नेपालीहरूको मिहेनत, इमान्दारितालाई नजिकबाट नियाल्ने मौका पाए। पीडित नेपालीहरूको पक्षमा वकालत गर्न थाले।
अन्ततः तीन सय बढीलाई एक महिनाभित्रै रेसीडेन्सीसहितको सुविधा पाउने बाटो खुल्यो। आल्वासेतेबाट ओयलबामा पठाउन प्रहरीका उच्च अधिकारीनै आए, बस चढाएर बिदाइका हात हल्लाए। केशवराजले भ्यालेन्सियामा २५ जना, नुलेसमा ३० जनाका लागि न्यायको वकालत गरिरहेका छन्। सवारी दुर्घटनामा परेका नेपालीलाई उपचार गराउन दिनरात दौडिएका छन्। नेपालीलाई काम गरेको पैसा दिन्छु भनेर एक्लै पारेर कुटपिट गर्ने मालिक विरुद्ध प्रशासनलाई घच्घचाएका छन्।
आल्वासेते मिसनका संयोजक तथा एनआरएनए स्पेनका आइसिसी प्रस्तावित सदस्य रोशन पाठकले भियलगार्दोका नेपालीलाई न्याय दिलाएकोमा गर्व महसुस गरेका छन्। ‘अन्यायमा परेकोहरूको भाषा बोलिदिएका थियौं, जे हो त्यो पीडाबारे बुझाइदिएका थियौं’, आल्वासेते मिसनका संयोजक तथा एनआरएनए पाठकले तीन महिना पहिलेदेखिको घटना सम्झदै भनेँ, ‘कैयन समस्या छिचोल्यौं, गाली र आरोप सहयौं तर सुखद् परिणाम आउँदा निकै खुसी लागेको छ।’
२० वर्ष पहिलेदेखि स्पेन बस्दै आएका पाठक सफल रेष्टुरेन्ट व्यवसायी हुन्। ‘विगतमा हामीले भोगेका पीडा र अहिलेको यो पीडाको फेस उस्तै हो, हामी समस्याबाट भाग्नुहुँदैन भनेरै खटिएका थियौं, आज सफल भयौं।’
उनले भाषा अनुवादक बनेर सहयोग गरेका र राहत दिलाउन खटिएका सबैलाई धन्यवाद दिए।
प्रकाशित: ३ फाल्गुन २०८२ १२:२८ आइतबार





