युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना गर्न र सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्न ‘सीप तथा रोजगार मेला’ सञ्चालन गर्ने तयारी थालेको छ।
मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) तथा निजी क्षेत्रका प्रतिनिधिबीच आन्तरिक रोजगारी प्रवर्द्धन र श्रम बजारलाई व्यवस्थित गर्ने विषयमा आज बृहत् छलफल गरिएको छ।
मन्त्रालयले ‘रोजगार प्रवर्द्धन दशक २०८३/८४–२०९२/९३’ लाई सफल बनाउन कोशी प्रदेशको इटहरीबाट ‘सीप तथा रोजगार मेला’ सुरु गर्ने निर्णय गरेको हो। मेलालाई प्रभावकारी रूपमा युवालाई सीप तथा रोजगारीसँग जोड्न देशका सातै प्रदेशमा विस्तार गरिनेछ।
मन्त्रालयको टोलीले इटहरी पुगेर त्यहाँका सरोकारवाला पक्षसँग ‘सीप तथा रोजगार मेला’का विषयमा बृहत् छलफल गरेको छ। सरोकारवालाले उत्साहजनक सहभागिता जनाउँदै सकारात्मक प्रतिक्रिया दिएका छन्।
मेला केवल औपचारिकतामा सीमित नभई रोजगारदाताको वास्तविक श्रमिक आवश्यकता पहिचान गरी कार्यस्थलमा आधारित तालिम प्रदान गर्दै सोझै रोजगारीसँग जोड्ने लक्ष्य राखिएको छ।
मन्त्रालय र निजी क्षेत्रको सहकार्यमा आयोजना हुन लागेको मेलामा कृषि, अटोमोबाइल, एआई तथा डिजिटल सीपलगायतका तालिम उपलब्ध गराउने लक्ष्य राखिएको छ।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले ‘सीप तथा रोजगार मेला’ सफल बनाउन आफूहरू सकारात्मक रहेको र आवश्यक सहकार्य गर्ने धारणा व्यक्त गरेका थिए।
मन्त्रालयले उद्योग तथा व्यवसायीहरूलाई आगामी पाँच–छ महिनामा आवश्यक पर्ने जनशक्तिको संख्या र स्तरबारे स्पष्ट माग प्रस्तुत गर्न आग्रह गरेको छ। सोही मागका आधारमा आवश्यक सीप तथा तालिम उपलब्ध गराउन मन्त्रालय तयार रहेको छलफलमा बताइएको छ।
छलफलमा बोल्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको उद्देश्य आन्तरिक रोजगारीलाई मर्यादित बनाउँदै सकेसम्म धेरै युवा जनशक्तिलाई रोजगारीमा जोड्नु रहेको बताए।
प्रकाशित: २९ भाद्र २०८३ १८:५८ सोमबार

