१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अर्थ

एक सिलिन्डर ग्यास पाउन चारघण्टाको पर्खाइ

पोखरामा दुईसातादेखि ग्यास अभाव छ। उपभोक्ताले ग्यास नपाउँदा सास्ती खेपिरहेका छन्। नियमित भन्दा केही घटेर ग्यास आपूर्ति भएकोले वितरणमा थोरै कमी भएपनि अहिले नै अभाव हुन नहुने ग्यास उद्योगीको दावी छ। तर, उपभोक्ताले भने ग्यास पाउन नसकेर सास्ती खेपेका छन्। एक सिलिन्डर ग्यास पाउनका लागि चारघन्टासम्म पालो कुर्नुपरेको पनि उपभोक्ताको भनाई छ।

स्थानीय प्रशासनले ग्यास आपूर्ति सहज बनाउन, बाहिरबाट आपूर्ति गर्ने उद्योगीलाई पोखराका लागि सिलिन्डर संख्या बढाइदिन आग्रह पनि गरेको छ। त्यत्ति मात्र नभई उद्योगले वितरण गर्नका लागि डिलरकहाँ पठाएको ग्यास उपभोक्तासम्म सहजै पुगोस भनेर प्रहरी नै परिचालन समेत गरेको स्थानीय प्रशासनको भनाई छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले ग्यास वितरणलाई सहज बनाउनका लागि प्रहरी नै परिचालन गरेको समेत जानकारी दिए। उनका अनुसार डिलर वा बिक्रेताले आफ्ना नियमित ग्राहकलाई मात्र ग्यास दिने गरेको र जो कोही उपभोक्ताले ग्यास पाउन नसकेको गुनासो पछि प्रहरी नै खटाएर पालैपालो उपभोक्तालाई ग्यास दिन थालिएको छ।

‘जो पनि उपभोक्ताले ग्यास पाउनुपर्छ। पसलका नियमित ग्राहकले मात्र ग्यास पाउने अरुले नपाउने भन्ने हुनु भएन,’ उनले भने, ‘सबैलाई बराबरी तरिकाले ग्यास वितरण गर्नकै लागि प्रहरी परिचालन गरिएको छ। एक सिलिन्डर ग्यास पनि दायाँबायाँ हुँदैन।’

उनका अनुसार पोखरामा विभिन्न १७ वटा उद्योगले ग्यास बिक्री गर्छन। ती मध्ये दुईवटा उद्योग मात्र पोखराभित्र संचालनमा छन्। अरु उद्योगले बाहिरबाटै ग्यास ल्याउने हुन। सहायक प्रजिअ बरालले पोखरामा ग्यास बिक्री गर्ने सबै उद्योग पहिचान गरेर पोखरा क्षेत्रमा देखिएको अभावलाई पुरा गर्नका लागि आपूर्ति बढाउन अनुरोध गरेको बताए।  

‘१७ वटामध्ये दुईवटा स्थानीय उद्योग हुन। अरु सबैले बाहिरबाट नै ग्यासका भरि सिलिन्डर ल्याउने गरेका छन। बाहिरबाट आपूर्ति गर्ने ती उद्योगले पनि अहिलेको अप्ठेरोमा पोखरा जस्तो सहरका लागि आपूर्ति बढाइदिनुपर्छ। सहज हुने बेला ल्याएर बेचेर मात्र हुँदैन,’ उनले भने, ‘हामीले सबै कम्पनिका आधिकारिक व्यक्तिलाई नै फोन गरेर अहिलेको आपूर्ति बढाउन अनुरोध गरेका छौं।’  

त्यसबाहेक स्थानीय प्रशासनले जिल्लामा रहेका ग्यास उद्योगी तथा बिक्रेताले आफुलाई प्राप्त परिमाण तथा वितरित परिमाण समेतको दैनिक रुपमा अभिलेख राखेर पहिले आउने उपभोक्तालाई पहिलो चरणमा बिक्री गरि उपभोक्ताको विवरण राख्न अनुुरोध समेत गरेको छ।  

त्यस्तै ७५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिक, पूर्ण रुपले अशक्त र अपांगता भएका व्यक्ति एवं भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा न्यूनतम परिमाणमा ग्यास वितरण गर्न पनि प्रशासनले निर्देशन दिएको छ। प्रशासनले अनावश्यक रुपमा ग्यास सञ्चित नगर्न पनि अनुरोध गरेको छ।  

उद्योगले वितरण गरेको ग्यास उचित रुपमा बिक्रेताबाट बिक्री वितरण भए नभएको, अनावश्यक सञ्चिति भए नभएको, मूल्य वृद्धि भए वा नभएको सम्बन्धमा ग्यास उद्योगका संचालकले नियमित अनुगमन गर्ने पनि प्रशासनले बताएको छ।  

उद्योगीले भने पहिलेको आकार भन्दा केही कम आपूर्ति भएकोले पोखरामा ग्यासको अभाव देखिएको बताएका छन्। एकजना उद्योगीले भने, ‘अहिले नै यत्तिसारो अभाव हुन नहुनुपर्ने हो। पहिलेको तुलनामा यतिबेला केही आकारमा ग्यास आयत घटेको पक्का हो। तर, घटेको त्यो आकारले अहिले नै अभाव भईहाल्नु हुँदैन।’ पहिले भन्दा २० प्रतिशत हाराहारीमा ग्यास आपूर्ति घटेको पनि उद्योगीले बताएका छन्।

उद्योगी र व्यावसायीले उपभोक्तालाई बढि मात्रामा ग्यास सञ्चित गरेकोले यो अभाव देखिएको आरोप समेत लगाउने गरेका छन्। केही समय अघि आधा भरिएको सिलिन्डर पाएका उपभोक्ताले अहिले भरि सिलिन्डर पाउँदा अनावश्यक रुपमा संचित गरेको उनीहरुको आरोप छ। तर, उपभोक्ताले भने सहजै रुपमा ग्यास नपाएको गुनासो गर्दै आएका छन्।  

‘ग्यास नपाउने हो भने त मेरो व्यवासाय नै ठप्प हुन्छ। गरिरहेको पेसा नै रोकिने अवस्था आउन थालेको छ,’ एकजना खाजाघर संचालक राजु भुजेलले भने, ‘एक सिलिन्डर ग्यास पाउन पनि मुस्किल छ।’ 

ग्यासकै लागि दिनहुँ भौतारिनुपरेको समेत उनले बताए। केहीदिन अघि एक सिलिन्डर ग्यास पाउन चारघण्टासम्म पानीमा भिजेर पालो कुरेको समेत उनले सुनाए।  

एलपी ग्यास बिक्रेता संघ कास्कीका नारायण दाहालका अनुसार एकातिर पोखराका लागि लोड नै कम भएको र अर्काेतिर पहुँचयुक्त उपभोक्ताले आवश्यका भन्दा बढि संख्यामा ग्यास मौज्दात गरेकोले अहिलेका लागि अभाव सिर्जना भएको हो। ‘भारतको ग्यास रिफाइनरी सेन्टरमा समस्या भएकोले पोखराका लागि आयात घट्दा त्यसले अभाव सिर्जना गरेको हो। पोखराका लागि लोड कम भएकोले पनि समस्या हो। अर्काेतिर उपभोक्ताले भरि सिलिन्डर पाएपछि मौज्दात राख्न थाल्दा समस्या थपिएको हो,’ उनले भने।  

पोखरा क्षेत्रमा गृहलक्ष्मी र शक्ति कम्पनिले लेखनाथ क्षेत्रमा आफ्नै प्लान्टमार्फत पोखरामा ग्यास भरेर बजारमा पठाउँछन। यी बाहेक अरु कम्पनिले पनि पोखरामा ग्यास बिक्री गर्छन। ती बाहेक पोखरामा अरु कम्पनिले पनि ग्यास बिक्री गर्छन। पोखरामा सबैगरि १७ वटा कम्पनिले ग्यास बिक्री गर्छन। पोखरामा जाडोको बेला मासिक डेढलाख र गर्मीको बेला मासिक १ लाख ४० हजार हाराहारीमा ग्यास सिलिन्डर खपत हुन्छ। पर्यटकीय क्षेत्र लेकसाइडमा सबैभन्दा बढी संख्यामा ग्यासको खपत हुन्छ।

प्रकाशित: १९ श्रावण २०८३ १८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App