२ असार २०८३ मंगलबार
image/svg+xml
अर्थ

नेपालमा विदेशी पर्यटकः १६ दिन बस्छन, दैनिक खर्च ३३ डलर

विदेशी पाहुनाको बसाई अवधि बढ्यो, खर्च घट्यो

सरकारले पर्यटन क्षेत्रमा सकारात्मक सुधार देखिएको बताएको छ। आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै विदेशी पर्यटकको नेपाल आगमन बढिरहेको र उनीहरुको नेपाल बसाई अवधि पनि लम्बिएको सरकारले बताएको छ। नेपालमा बसाई अवधि लम्बिएको भएपनि ती पाहुनाले गर्ने दैनिक खर्च भने घटेको सरकारी भनाई छ।  

नेपाल भित्रिएका विदेशी पाहुनाको बसाई अवधि लम्बिएर औसत बसाई १६.३४ दिन पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ। नेपाल भित्रिएका ती पर्यटकको औसत खर्च भने तुलनात्मक रुपमा घटेको छ। नेपालमा सन् २०२५ मा ११ लाख ६२ हजार विदेशी पर्यटक भित्रिएका थिए। ती पाहुनाको औसत बसाइ १६.३४ दिन र प्रतिपर्यटन प्रतिदिन औसत खर्च ३३.०८ डलर रहेको सर्वेक्षणमा उल्लेख छ।  

आर्थिक सर्वेक्षण अनुसार सन् २०२४ मा प्रति पर्यटकको नेपालमा औसत बसाई अवधि १३.३० दिन रहेकोमा सन् २०२५ मा बढेर १६.३४ दिन पुगेको छ। बसाई अवधि बढेपनि प्रति पर्यटक औसत दैनिक खर्च भने घटेको छ। सन् २०२४ मा प्रति पर्यटक प्रति दिन औसत खर्च ४०.८४ अमेरिकी डलर रहेकोमा सन् २०२५ मा घटेर ३३.०८ अमेरिकी डलर रहेको छ।  

पर्यटक आगमनमा वृद्धि हुँदै गएको र पर्यटकको औसत बसाई अवधिमा सुधार भएको सरकारी भनाई छ। पाहुना आगमन बढ्दा पर्यटन क्षेत्रबाट प्राप्त हुने विदेशी मुद्रा बढेको पनि सरकारी भनाई छ। पछिल्लो समय पश्चिम एसियामा जारी युद्धको कारण त्यस क्षेत्रमार्फत नेपाल भित्रिने पर्यटकको संख्यामा कमी आउन सक्ने जोखिम बढेसँगै आगामी दिनमा पर्यटन क्षेत्रबाट प्राप्त हुने आम्दानी समेत प्रभावित हुने सरकारी भनाई पनि छ।  

नेपालमा पछिल्लो एकदशक अवधिमा झन्डै ८४ लाख विदेशी पाहुना भित्रिएको सरकारी तथ्यांकले देखाएको छ। प्राकृतिक विपद्तका बाबजुत पनि पाहुना भित्रिएको सरकारी भनाई छ। भूकम्प र विश्वव्यापी कोभिड–१९ महामारीका बाबजुद पनि सन् २०१६ देखि २०२५ को दशकमा ८३ लाख ८५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। पर्यटकीय पूर्वाधारमा लगानी वृद्धिको साथै पर्यटकीय नयाँ गन्तव्यको विकास र पर्यटन क्षेत्रको विविधिकरण गर्दै मुलुकलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने पनि जरुरी रहेको सरकारी भनाई छ।  

पर्यटन मन्त्रालयको तथ्यांकमा विदेशी पर्यटकले सन् २०२३ मा औसतमा दिनमा ४१ अमेरिकी डलर खर्च गरेको उल्लेख छ। यो खर्च सन् २०२२ मा ४०.५ अमेरिकी डलर थियो। पर्यटन व्यावसायीले विदेशी पर्यटकले गरेको खर्च रकम कम भएकोले गतिविधि बढाएर खर्चने क्षमता बिस्तार गर्नुपर्नेमा जोड दिँदै आएका छन्। पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका पूर्वअध्यक्ष धर्मराज पन्थीका अनुसार सहरी क्षेत्रमा मात्रै बस्ने पर्यटकको बसाई अवधि कम हुन्छ भने खर्च पनि न्यून हुन्छ। किनकी सहरी  क्षेत्रमा पर्यटक बस्ने भएकोले उनीहरुले सस्तोमा खान र बस्न पाउँछन।  

तर, पदयात्रा क्षेत्रमा पर्ने मुस्ताङ, मनाङ, म्याग्दी, गोरखा जाने पर्यटकको बसाई अवधि बढी हुने र खर्च पनि धेरै हुने उनले बताए। ‘पदयात्राका लागि जाने पर्यटकको बसाई अवधि पनि बढी हुन्छ,’ पन्थीले भने, ‘बसाई अवधि लामो हुने भएकोले पर्यटकको दैनिक रुपमा खर्च पनि बढी हुन्छ। पदयात्रा अवधि अनुसार बसाई र खर्च लाग्छ।’  

आर्थिक सर्वेक्षण अनुसार सन् २०२४ मा प्रति पर्यटकको नेपालमा औसत बसाई अवधि १३.३० दिन रहेकोमा सन् २०२५ मा बढेर १६.३४ दिन पुगेको छ। बसाई अवधि बढेपनि प्रति पर्यटक औसत दैनिक खर्च भने घटेको छ। सन् २०२४ मा प्रति पर्यटक प्रति दिन औसत खर्च ४०.८४ अमेरिकी डलर रहेकोमा सन् २०२५ मा घटेर ३३.०८ अमेरिकी डलर रहेको छ।  

पदयात्रामा जाँदा विदेशीले खान, बस्न र यातायातका लागि मागेजति खर्च बेहोर्नुपर्छ। किनकी त्यहाँ सस्तो खोज्दैमा पाइँदैन। तर, पोखरामा भने धेरै संरचना भएकोले सस्तोमा खान र बस्न पनि पाइने उनले बताए। उनका अनुसार विदेशी पर्यटकको पोखराको बसाई अवधि बढिमा ३ दिन छ। तर, दुर्गम जिल्लामा जाँदा त्यो अवधि बढी हुन्छ।  

पदयात्रा क्षेत्रमा पर्यटकको बसाई अवधि बढाउन सक्ने हो भने पर्यटकको खर्च पनि बढ्ने उनले बताए। ‘पर्यटकको खर्च बढाउने आधार तय गर्नुपर्छ। अहिले पदयात्रा अवधि छोटिएको छ, कुनै बेला २० दिन हाराहारीमा पुरा हुने अन्नपूर्ण फेरो अहिले एकसातामै सकिन्छ,’ उनले भने, ‘त्यसैले अब पर्यटकको बसाई अवधि र खर्च बढाउन पहल आवश्यक छ।’

नयाँ पदमार्ग बिस्तार गर्ने, मोटरबाटोको विकल्पमा नयाँ पदमार्ग पहिचान गराएर पर्यटकलाई हिड्न बाध्य पार्ने हो भने खर्च र बसाई अवधि बढाउन सकिने उनले बताए। ‘पुरानै पदमार्गको भरमा पर्यटन चलाउन सकस छ। त्यसैले नयाँ रुट पहिचान गर्नैपर्छ। त्यसले बसाई अवधि बढाउन पनि सकिन्छ,’ उनले भने।

उनले सस्ता भन्दा पनि पर्याप्त खर्चन सक्ने (क्वालिटी) का पर्यटक भित्र्याउन प्रतिश्पर्धा गर्नुपर्ने बताए। ‘अब मुल्यमा नभई क्वालिटीका पर्यटक भित्र्याउन प्रयास गर्नुपर्छ। नेपाल भित्रिने पर्यटक सस्ता होईनन, हामीले खर्च गराउन नसक्दा रकम फिर्ता लैजाने अवस्था आएको हो,’ उनले भने, ‘नेपालसम्म आउने हवाई भाडा नै महंगो रहेकोमा त्यो रकम तिरेर आउने पर्यटकलाई सस्तो भन्न मिल्दैन। तर, नेपाल भित्रिएपछि भने पर्यटकले खर्च गर्न सकेका छैनन, पर्यटकले खर्च ठाउँ पाएनन, हामीले उनीहरुलाई खर्च गराउन सकेनौ।’  

पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछाने बसाई अवधि बढाउन सक्ने हो भने पर्यटनले लाभ पाउने बताउँछन्। ‘पर्यटकको बसाई अवधि बढ्नु सकारात्मक हो। तर, उनीहरुलाई खर्च गराउन भने सकिएको छैन,’ उनले भने, ‘पर्यटकका लागि गतिविधि आवश्यक पर्छ। गतिविधि पर्याप्त हुने हो भने पाहुनाले खर्च पनि त्यही अनुसार गर्न पाउनेछन्।’

लामिछानेका अनुसार पछिल्लो समय बसाई अवधि लम्बिनुमा नेपाल भित्रिएका धेरै पर्यटक माउन्टेनियरिङ तिर आकर्षित भएकोले हो। माउन्टेनियरिङमा बसाई अवधि लामो हुन्छ। हिमाल आरोहण गर्न आउने पाहुना लामो समय बस्नुपर्नै भएकोले पनि उनीहरुको बसाई अवधि बढेको देखिएको उनले बताए। ‘माउन्टेनका गतिविधिमा बसाई अवधि बढि हुन्छ। पदयात्रामा भन्दा अहिले माउन्टेनियरिङ तिर आकर्षित भएका हुन,’ उनले भने, ‘नेपाल भित्रिएका पाहुना पछिल्लो समय पदयात्रामा जाने बढेका छन्।’

पर्यटकको खर्च बढ्न नसक्नुमा अमेरिकी डलरको भाउ बढेको कारण मुख्य हुन सक्ने उनले बताए। ‘पछिल्लो समय नेपाली मुद्रा कमजोर भएको छ। डलरको भाउ बढेकोले पनि थोरै खर्चमा धेरै गतिविधि गर्न पाइने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘यूरोपियन र अमेरिकन पाहुनाको हवाई भाडा बाहेक नेपालको घुमघामको प्याकेजको मुल्य नै घटेको छ। डलरको भाउ बढ्दा थोरै खर्चले पनि धेरै गतिविधि गर्न पाउने अवस्था छ।’  

प्रकाशित: १३ जेष्ठ २०८३ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App