जेनजी आन्दोलनपछि नेपालमा विदेशी पर्यटकको आगमनमा सोचेजस्तो गिरावट नदेखिएको तथ्यांकले देखाएको छ । यो अक्टोवरमा भित्रिएका विदेशी पाहुनाको संख्या सन् २०२५ को १० महिनामा सबैभन्दा बढी हो । पर्यटन बोर्डका अनुसार यो अक्टोवरमा नेपालमा हवाइमार्गबाट भित्रिएका विदेशी पाहुनाको संख्या एक लाख २८ हजार चार सय ४३ रहेको छ ।
अघिल्लो वर्षभन्दा पनि बढेर यो पटक अक्टोवरमा नेपालमा विदेशी पर्यटक भित्रिएको पर्यटन बोर्डले बताएको छ । यसअघि गत मार्चमा यो वर्षकै सबैभन्दा बढी एक लाख २१ हजार ६ सय ८७ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए । त्यसपछि गत अप्रिलमा एक लाख १६ हजार चार सय ९० जना पाहुना नेपाल भित्रिएका थिए ।
बोर्डको तथ्यांक अनुसार सन् २०२४ को अक्टोवरमा भन्दा अहिले ३.३ प्रतिशत आगमन बढेको छ । २०२४ को अक्टोवरमा नेपालमा एक लाख २४ हजार तीन सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए । त्यस्तै कोरोना भाइरस संक्रमण सुरु हुनुअघिको वर्ष २०१९ को अक्टोवर यो पटकको आगमन भने केही कमी भएको छ । २०१९ को अक्टोवरमा नेपालमा एक लाख ३४ हजार ६९ जना विदेशी पाहुना भित्रिएका थिए । २०१९ अक्टोवरको तुलनामा भने यो पटकको आगमन ४.२ प्रतिशतले कमी भएको बोर्डले जनाएको छ ।
‘जेनजी आन्दोलन भए पनि सुरुको चरणमा आगमनमा असर परेकै हो तर त्यसपछि भने पर्यटकीय सिजन परेकाले विदेशीको आगमनमा सुधार भएको देखिन्छ’, पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने भन्छन्, ‘सुरुमा आगमनमा कमी देखिएको भए पनि पदयात्राको सिजन परेकाले पर्यटक भित्रिएको देखिन्छ, सुरुको समयमा गिरावट देखिए पनि सोचेको जस्तो संख्या घटेको छैन ।’ लामिछानेले यो अक्टोवरमा भित्रिएका पाहुनाको आकार नै यो वर्षको सबैभन्दा बढी रहेको बताए ।
उनका अनुसार भारतीय पाहुनाको आगमन भने अझै कमजोर छ । भारतीय पाहुनाको आगमन कमजोर हुँदा समग्र आगमन प्रभावित भएको देखिएको भए पनि जेनजी आन्दोलनले खासै असर परेको यो तथ्यांकले नदेखाएको उनले बताए । ‘पोहोरको अक्टोवरको भन्दा यो अक्टोवरमा ३.३ प्रतिशत सुधार भएको छ । बरु कोरोना अघिको आगमनलाई भने उछिन्न सकेको छैन’, उनले भने ।
जेनजी आन्दोलनले भारतीयको आकार घटाए पनि युरोपियन र अमेरिकी पर्यटकको आगमनमा खासै असर नगरेकाले पनि आगमनको आकार राम्रो देखिएको लामिछानेले बताए । ‘भारतीयको आगमन भने स्वात्तै घटेको हो । अरु तेस्रो मुलुकका पाहुना आएका छन् । अमेरिकीको आगमन पनि सुधार भएको छ’, उनले भने । उनका अनुसार सेप्टेम्बरको पर्यटक आगमनमा जेनजी आन्दोलनले केही असर परेको भए पनि अक्टोवरको आगमनमा भने सुधार भएको बताए ।
‘जेनजी आन्दोलनका कारण तत्कालीन अवस्था (सेप्टेम्बर)मा आगमन ओरालो लागेको थियो । आन्दोलनको सुरुको समयमा आगमनमा प्रभाव परे पनि पछिल्लो समय सुधार भएको छ’, उनले भने ।
नेपालको पर्यटन बेलैमा रिकभर हुने भएकाले पनि आगमनमा सुधार देखिएको उनले बताए । ‘आन्दोलनपछि पर्यटन प्रवद्र्धनका गतिविधि पनि भएका थिए । त्यसबाहेक सिजन पनि परेको हो । अक्टोवर भनेको पर्यटक आउने समय पनि हो,’ उनले भने, ‘सेप्टेम्बरका सुरुमा धमाधम रद्द भए पनि अक्टोवरमा मनोवल बढेको हो । सामाजिक सञ्जाललगायत सबैको पहलमा प्रवद्र्धन भएकाले पनि पाहुना भित्र्याउन बल पुगेको छ ।’
उनका अनुसार भारतीयबाहेकका मुलुकका पाहुनाको आगमनमा भने अघिल्ला पटकभन्दा सुधार भएको छ । पदयात्राको सिजन पनि पर्ने भएकाले तेस्रो मुलुकका विदेशीको आगमन बढेको हो । ‘अहिले पदयात्राको सिजन हो । जेनजी आन्दोलनपछि सुरुमा धमाधम आगमन रद्द भयो तर पछि फेरि सुधार भयो । रद्द भएको बुकिङ पनि फिर्ता भयो, त्यसले गर्दा आगमनमा सुधार देखिएको छ’, लामिछानेले भने ।
बोर्डको तथ्यांक अनुसार यो पटक भारतीय पाहुना भने जम्मा १७ हजार दुई सय ९८ जना भित्रिएका छन् । अमेरिकी पाहुनाको संख्या १३ हजार दुई सय ८६ रहेको छ । बेलायती पाहुनाको संख्या आठ हजार सात सय १८ रहेको छ । चिनियाँ पाहुनाको संख्या भने जम्मा ६ हजार सात सय ५५ रहेको छ । जर्मनीबाट मात्र ६ हजार तीन सय ६६ जना पाहुना भित्रिएका छन् ।
‘जेनजी आन्दोलनपछि भारतीय पाहुनाको आगमनमा पनि ठुलो गिरावट आएको छ । आन्दोलनपछि भारत सरकारले ट्राभल एड्भाइजरी जारी गर्दै नेपालमा यात्रा गर्दा सचेत हुन आफ्ना नागरिकलाई आग्रह गरेको थियो,’ बोर्डका गण्डकी प्रमुख लामिछाने भन्छन्, ‘नेपाल यात्रा गर्दा सचेत हुन भारत सरकारले आग्रह गरेपछि भारतीय आगमन एका–एक खस्किएको थियो ।’
१० महिनामा झन्डै साढे नौ लाख
सन् २०२५ को १० महिनामा करिब साढे नौ लाख विदेशी पाहुना नेपालमा भित्रिएका छन् । नेपालमा यो वर्ष अहिलेसम्म नौ लाख ४३ हजार सात सय ६ जना विदेशी पाहुना भित्रिएका छन् । बोर्डको तथ्यांक अनुसार नेपालमा गत जनवरी महिनामा ७९ हजार नौ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए ।
त्यो आगमन संख्या फेब्रुअरीमा ९६ हजार आठ सय ८० थियो । मार्चमा आगमन संख्या बढेर एक लाख २१ हजार ६ सय ८७ पुगेको थियो । अप्रिलमा भने एक लाख १६ हजार चार सय ९० जना विदेशी पाहुना भित्रिएका थिए । मे महिनामा नेपालमा ८६ हजार दुई सय १६ र जुन महिनामा ७६ हजार चार सय २५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
त्यस्तै जुलाईमा नेपालमा ७० हजार एक सय ९३ र अगष्ट महिनामा ८८ हजार ६ सय ८० जना विदेशी पाहुना नेपाल भित्रिएका थिए । सेप्टेम्बरमा भने नेपालमा ७८ हजार सात सय ११ जना विदेशी भित्रिएका थिए । अक्टोवरको एक लाख २८ हजार चार सय ३३ सहित नेपालमा यो वर्ष अहिलेसम्म नौ लाख ४३ हजार सात सय ६ जना विदेशी पाहुना भित्रिएको छन् ।
पर्यटन बोर्डले सन् २०२५ मा नेपालमा सन् २०२४ मा भित्रिएका विदेशी पर्यटकको संख्यामा बढीमा १० प्रतिशत मात्र बढ्ने अपेक्षा गरेको छ । सन् २०२४ मा नेपालमा सबैगरी ११ लाख ४७ हजार पाँच सय ४८ जना विदेशी पर्यटक भित्रिएका थिए । बोर्डको अपेक्षा अनुसार विदेशी पर्यटक भित्रिएमा सन् २०२४ को आगमन संख्यामा २०२५ मा एक लाख १४ हजार पर्यटक थपिनेछन् तर विदेशी पर्यटकको आगमनको आकार तुलनात्मक रूपमा वृद्धि हुन नसकेको बोर्डको भनाइ छ ।
प्रकाशित: २० कार्तिक २०८२ २०:४० बिहीबार





