पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि पोखरा–दुबई उडानको सम्भाव्यता अध्ययन गरिरहेको फ्लाई दुबईको टिमले पोखरासँगको भेटघाटलाई तिब्र बनाएको छ। फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईसम्म सिधा उडानको तयारी गरेको हो।
फ्लाई दुबईका जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकास सहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण र उच्चस्तरीय छलफल गरेको हो। लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला सहित विमानस्थलको प्राविधिक टोलीसँग लामो गहन छलफल र स्थलगत निरीक्षण गरेको छ। सो क्रममा विमानस्थलको धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनका विविध पक्षको सूक्ष्म अध्ययन गरेको टोलीले बताएको छ।
निरीक्षण पश्चात टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पनि भेटघाट गरेको छ। भाइस प्रेसिडेन्ट लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक र सुरक्षाका हिसाबले पूर्ण रुपमा सुरक्षित र सक्षम रहेको बताएका थिए। विमानस्थलको पूर्वाधार र तयारीले आफू निकै प्रभावित भएको उल्लेख गर्दै उनले फ्लाई दुबईले पोखरा–दुबई सेक्टरमा दैनिक सिधा उडान सुरु गर्न इच्छुक रहेको बताएका थिए।
‘हामीले विमानस्थलको प्राविधिक र सुरक्षा पक्षसँग छलफल गरेका छौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानका लागि पूर्ण रुपमा सुरक्षित र तयार रहेको हामीले देखेका छौं,’ उनले भने। फ्लाई दुबईले पोखराबाट उडान सुरु गर्नासाथ पोखराको कनेक्टिभिटी सिधै वैश्विक सञ्जालसँग जोडिनेछ। यसबाट पोखराबाट सयौं गन्तव्यसम्म सिधा हवाई पहुँच बिस्तार हुनेछ।
लामो समयदेखिको निरन्तर प्रयास, ६ घण्टा लामो प्राविधिक निरीक्षण र सरोकारवालाबीचको गहन छलफलपछि अब छिट्टै नियमित उडानको मिति सार्वजनिक गर्ने तहमा पुगिएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताए। फ्लाई दुबईको यो चासो र अहिलेसम्म भएका प्रगतिले पोखरेली जनता र पर्यटन व्यवसायीमा नयाँ उत्साह थपेको उनले बताए। पोखरालाई विश्व बजारसँग सिधा जोड्न फ्लाई दुबईको दैनिक उडानको उडान महत्वपूर्ण हुने उनले बताए।
यो उडान सुचारु भएमा गण्डकी प्रदेशका नागरिकलाई वैदेशिक रोजगारी, व्यवसाय र भ्रमणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ भने मध्यपूर्वी देशहरू र संसारभरबाट सिधै पर्यटक पोखरा भित्रिने बाटो खुल्ने विश्वास गरिएको आचार्यको भनाई छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार यो उडान हुन सकेको खण्डमा पोखराको अन्तर्राष्ट्रिय पहुँच निकै नै परसम्म पुग्नेछ। विमानस्थलका सेवा सुविधाबारे एयरलाइन्सले अध्ययन गरिरहेको उनले बताए। सबै अवस्था सहज भएमा आगामि सेप्टेम्बरदेखि पोखरा–दुबईको उडान हुनसक्ने उनले बताए।
‘प्रक्रिया अघि बढिरहेको छ। आगामि सेप्टेम्बरदेखि उडान हुने सम्भावना छ। अहिले नै कतिदिन उडान गर्ने भन्ने यकिन भएको छैन,’ निरौलाले भने, ‘अहिलेसम्मको छलफलमा सकारात्मक तरिकाले तयारी भईरहेको छ।’ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट पनि सकारात्मक पहल भईरहेको उनले बताए।
अहिले पोखरा अन्तर्राष्ट्रिय विमास्थलबाट नियमित रुपमा आन्तरिक उडान मात्र भईरहेको छ। हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइट गरिरहेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय नै पहिलो एयरलाइन्स हो। तर, त्यो बाहेक सिचुआन एयरलाइन्सल चीनको छेन्दु–पोखरा व्यावसायिक उडान गरेको थियो। २०२५ को मार्चखेखि सुरु भएको हिमालयको पोखरा–ल्हासा नियमित उडान भने २०२६ मार्च २३ देखि रोकिएको छ।
‘अहिले कुनैपनि नियमित अन्तर्राष्ट्रिय उडान छैनन्। हिमालयको उडान रोकिएपछि तत्कालका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थलको अन्तर्राष्ट्रिय सञ्जाल रोकिएको छ,’ निरौलाले भने, ‘अब पोखरा–दुबई उडान हुन सकेमा पोखराको पहुँच मध्यपूर्वको आकाशसम्म पुग्नेछ। पोखरासँग मध्यपूर्व जोडिएमा त्यसले पोखराको पर्यटन क्षेत्रमा निकै नै फड्को मार्नेछ।’
पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाई दुबईको उडानले नेपालको पर्यटन क्षेत्रमा विशेष महत्व राख्ने बताए। ‘फ्लाई दुबईको उडानबाट पोखरालाई दुबईसम्म जोड्ने प्रयास भईरहेको छ। छिटै नै उडान तालिका आउने अपेक्षा छ,’ श्रेष्ठले भने, ‘यो उडान संचालन भएमा पोखराको पर्यटनले एक कदम फड्को मार्नेछ।’ यो उडानको चाँजोपाजो मिलाउन पर्यटन क्षेत्रले लामो समयदेखि कसरत गरिरहेको पनि उनले बताए।
प्रकाशित: २० जेष्ठ २०८३ १४:५० बुधबार





