२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान रोकिए

पोखराबाट नेपालगञ्ज र भरतपुरका लागि बुद्ध एयरले वर्षाैदेखि गर्दै आएको हवाई उडान रोकिएको छ। यात्रु संख्या कम भएपछि दुवै गन्तव्यका नियमित उडान रोकेको एयरलाइन्सले बताएको छ। हवाइ इन्धनको मुल्य वृद्धि भएसँगै हवाई भाडा बढेपछि यात्रु कम भएको एयरलाइन्सले बताएको छ।  

बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालका अनुसार पोखराबाट भरतपुर दैनिक उडान हुँदै आएको थियो। पोखराबाट नेपालगञ्ज भने सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) उडान हुँदै आएको थियो। ‘हवाई इन्धनको मूल्य वृद्धि भएसँगै भाडा पनि बढ्यो। त्यसपछि यात्रु पनि कम भए,’ बरालले भने, ‘सिजनका बेला पनि यात्रु कम भए। यो बेला भारतीय हवाई यात्रु हुनुपर्ने सिजन भएपनि पर्याप्त यात्रु भएनन।’

पोखराबाट भरतपुरसम्म १ सय २६ किलोमिटर स्थलमार्गको दूरी हो। स्थलमार्ग सहज भएसँगै निजी सवारी हुनेले यो दूरी दुई घण्टामै पार गर्न सक्छन्। सार्वजनिक यातायातका साधनमा पनि साढे ३ घण्टामै पोखराबाट भरतपुर पुग्न सकिन्छ। ‘पोखरा–मुग्लिन र मुग्लिन–नारायणगढ बाटो सहज बनेपछि यात्रा छिटो बनेको छ। हवाई जहाजको यात्रा कुर्नै पर्ने अवस्था रहेन,’ उनले भने, ‘केही समय अघिसम्म स्थलमार्गको झन्झट थियो। त्यसैले यात्रुले हवाई यात्रा रोजेका थिए। तर, अब बाटो सहज भएपछि हवाई यात्रा बाध्यकारी बनेन।’ हवाई भाडा महंगो भएकोले नै यात्रु संख्या ह्वात्तै घटेको उनले बताए।

बरालका अनुसार पोखरा–भरतपुरको उडानमा यात्रु संख्या घटेर १० जनासम्म झरेका थिए। ‘खर्च नै धान्ने अवस्था रहेन। त्यसपछि उडान रोक्न बाध्य भयौं,’ उनले भने। नेपालगञ्जको उडान भने एकमहिनाका लागि रोकेको र यात्रु भएमा पुन संचालन गर्ने पनि उनले बताए। नेपालगञ्जबाट पोखरा आउने यात्रुमध्ये धेरैजसो भारतीय पाहुना हुने गरेका थिए। तर, पछिल्लो समय भारतीय पनि कम भएको उनले बताए।  

बरालका अनुसार नेपालगञ्जको उडानमा पनि यात्रुसंख्या २५/३० जनाको हाराहारीमा मात्र थिए। ‘७२ सिट क्षमताको जहाजमा ३० जना यात्रु बोकेर चल्ने अवस्था भएन,’ उनले भने। वर्षायाम पछिको सिजनमा यात्रु भएमा नेपालगञ्जको उडान पुन सुचारु हुने पनि उनले बताए।  

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले पनि यात्रु अभावमा दुवै रुटको उडान रोकिएको बताए। ‘हवाई इन्धनको मूल्य अधिक नै बढ्यो। त्यसले गर्दा हवाई भाडा पनि बढ्यो। भाडा बढेपछि यात्रा महंगो पर्दै गयो। अनि हवाई यात्रु कम भए,’ कर्णले भने, ‘सिजनको बेलाको यात्रामा पनि पर्याप्त यात्रु नभएपछि अहिलेका लागि उडान रोकिएको हो।’

सेड्यूल बाहेक दुवै रुटमा चार्टर उडान भने गर्न सकिने उनले बताए। बुद्धले भैरहवासम्मको उडान भने नियमित रुपमा गरि नै रहेको पनि उनले बताए। भरतपुर र नेपालगञ्जका उडान रोकिएपछि अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं र भैरहवासम्म मात्र नियमित उडान भईरहेको छ।  

प्रकाशित: ८ जेष्ठ २०८३ १५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App