२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सीमा क्षेत्रमा बस्ने कर्मचारीलाई अर्थमन्त्रीको आग्रहः नम्र र सभ्य व्यवहार गर्नुहोस्

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिएका छन्।  

वीरगञ्ज शुक्रबार भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरीतस्करी नियन्त्रणका लागि सरोकार भएका निकायबीच समन्वय गरेर काम गर्न सबैलाई अनुरोध गरे। उनले झोलेपोके तस्करीलाई बाटोमा समात्नेभन्दा पनि जहाँ पुर्‍याइन्छ सोही ठाउँबाट नियन्त्रणमा लिन सरोकारवाला निकायलाई निर्देशन दिए।  

“दैनिक गुजरा चलाउनका लागि सरसमान ल्याउने र तस्करी गर्नेबीच छुट्याएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि अनुरोध गर्दछु”, अर्थमन्त्री खनालले भने। राज्यका सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।  

“सबै निकाय एउटै हौँ । परस्पर प्रतिस्पर्धी होइनौँ । राजस्वको जिम्मेवारी अर्थमन्त्रालयको मात्रै नभएर राज्यका सबै निकायको हो । त्यसैले हातेमालो गरेर काम गर्न जरुरी छ”, मन्त्री खनालले भने, “राजस्व चुहावटमा देखिएका कमीकमजोरी संयुक्त रूपमा मिलेर समाधान गर्नका लागि निर्देश गर्दछु ।”  

अर्थमन्त्री खनालले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकार भएका सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए।  

अर्थमन्त्री खनालले सीमामा बस्ने कर्मचारी तथा राजस्वसँग सम्बन्धित कर्मचारीहरूले सेवाग्राहीसँग बोली र व्यवहारमा नम्र र सभ्य व्यवहार गर्नुपर्ने बताए। सेवाग्राहीका लागि हामी खटिएकाले उनीहरूको भावनाअनुसार काम गर्न सबै कर्मचारीलाई उनले आह्वान गरे।

प्रकाशित: २१ कार्तिक २०८२ १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App