१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

फेवा नव वर्ष महोत्सव चैत २९ गतेदेखि

पोखरामा चैत २९ गतेदेखि फेवा नव वर्ष महोत्सव हुने भएको छ । 

होटल संघ पोखरा नेपालको आयोजनामा बैशाख १ गतेसम्म फेवा नव वर्ष महोत्सवको २१ औं संस्करण हुने बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । महोत्सवको तयारी तिव्र रुपमा भइरहेको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारी अन्तर्गत ५ दिने पूर्वाञ्चल प्रवद्र्दन भ्रमणसमेत गरिसकिएको उनले बताए । त्यस्तै, लुम्विनी प्रदेशबाट आएका पत्रकारहरुसँगसमेत अन्तर्क्रिया गरेर पश्चिम नेपालका पाहुनाहरुलाई निम्तो गरिएको उनले बताए ।  

पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले आयोजित महोत्सव ‘पर्यटन, संस्कृति र खाना’लाई जोड दिएर गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सव अंग्रेजी नया वर्षमा आयोजना गरिएको सडक महोत्सवकै शैलीमा पोखरा लेकसाईडको ३ किलोमिटर क्षेत्रमा हुने अध्यक्ष सुवेदीले जानकारी दिए । लेकसाईडलाई दुलहीझैं सिंगारिने र सडकमै पर्यटकको स्वागत गर्नुका साथै खाना, खाजा खुवाउँदै संस्कृति प्रदर्शन गरिने उनको भनाई छ । उनले भने,‘हामी महोत्सवमा पर्यटकलाई स्वागत गर्ने, खाना खुवाउने र संस्कृति देखाउनेछौं ।’

महोत्सवले शिथिल पर्यटन क्षेत्रलाई माथि उठाउन भूमिका खेल्ने आयोजकको विश्वास छ । एकातिर जेनजी आन्दोलन, त्यसपछि फागुन २१ गते भएको निर्वाचनका कारण पर्यटक आगमनमा कमी भइरहेका बेला मध्यपूर्वको तनावले तेस्रो देशबाट आउने पर्यटक र पेट्रोलियम पदार्थको अभाव र त्यसमा भएको मूल्य वृद्दिका कारण भारतीय पर्यटकको आगमनमा कमी आउँदा पर्यटन क्षेत्र अहिले शिथिल अवस्थामा छ,उनले थपे,‘आशा र विश्वास छ कि यो महोत्सवले आन्तरिक र बाह्यक पर्यटक आकर्षित गरेर शिथिल पर्यटन क्षेत्रलाई उकास्छ ।’

महोत्सवको अवसरमा सडकमै संस्कृति प्रदर्शन गर्ने तयारी गरिएको संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले बताए । ‘सडकमा कला, संस्कृति प्रदर्शन गरेर पर्यटकको मन जित्ने प्रयास गर्छौं’–उनले भने । उनले महोत्सवले फेवाताल संरक्षणमा पनि भूमिका खेल्ने बताए । महोत्सवको अवसरमा प्रदेश स्तरिय सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनी, परम्परागत पञ्चेबाजा प्रतियोगिता, र पर्यटक दौड प्रतियोगितालगायतका कार्यक्रम गर्ने उनले जानकारी दिए । त्यसबाहेक सांस्कृतिक, मनोरञ्जनात्मक, लोकदोहोरी र पप कन्सर्टलगायत पनि हुने उनले बताए । महोत्सव उद्घाटनअघि लेकसाईड खहरेचोकदेखि अम्बोटसम्म झाँकीसहितको र्याली निकालिने उनले जानकारी दिए ।

महोत्सवको पूर्व सन्ध्यामा रात्री दौड आयोजना गरिने भएको छ । पर्यटन प्रवद्र्दनका लागि पोखरा पर्यटन प्रवद्र्दन केन्द्रसँगको सहकार्यमा रात्रीकालीन दौड गर्न लागिएको उनले जानकारी दिए ।

महोत्सवको अवसरमा होटलहरुमा १० देखि २५ प्रतिशतसम्म छुट दिईने संघले जनाएको छ ।

प्रकाशित: १९ चैत्र २०८२ १६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App