छठ पर्वको अवसरमा हेटौंडका किसानहरूले यस वर्ष अदुवाविक्रीबाट राम्रो आम्दानी गरेका छन् । छठ पर्वमा अदुवाको बोट (स्याउला) चढाउने परम्पराका कारण बोटसहित अदुवाको माग उल्लेख्य रूपमा बढेको छ।यसले किसानलाई राम्रो आम्दानीको अवसर दिएको छ।
हेटौंडा ६ का स्थानीयकिसान युवराज तिमल्सिनाका अनुसार हेटौंडाका किसानहरूले करिब तीन क्विन्टल अदुवा बोटसहित बिक्री गरेका छन् । प्रति किलो ८० रुपैयाँमा स्याउलासहित अदुवा बिक्री भएको छ ।
तिमल्सिनाले एक क्विन्टल अदुवा बिक्री गरेका हुन् भने बाँकी दुई क्विन्टल अन्य किसानहरूले बिक्री गरेका छन् । व्यापारीहरू वीरगञ्ज, कलैयालगायतका ठाउँबाट किसानको बारीमै पुगेर खरिद गरेका छन् ।
छठ पर्वका कारण अदुवाको मूल्य पनि बढेको छ।सामान्यतया प्रति किलो ५०–६० रुपैयाँमा बिक्री हुने अदुवा अहिले ८० रुपैयाँमा बारीमै बिक्री भइरहेको छ।
बाँदरको डरले खेती छाड्न बाध्य भएका किसानहरू अहिले अदुवाको हरियो बोटमै मूल्य पाउँदा अत्यन्त उत्साहित बनेका छन् ।
हेटौंडाका धेरै खेतीयोग्य क्षेत्र बाँदरको आतंकले प्रभावित भएपछि अदुवा रोपिएको छ । बाँदरले धान, मकै, कोदो जस्ता परम्परागत अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू अदुवा र बेसार जस्ता नगदे बालीतर्फ आकर्षित भएका हुन् ।
प्रदेश सरकारको सशर्त अनुदानका साथ हेटौंडा उपमहानगरपालिकाले कृषि सहकारीमार्फत करिब पाँच हजार किलो अदुवाको बिउ ७६ जना किसानलाई वितरण गरेको थियो । नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णु ढुंगानाका अनुसार पाँच सय किलो बेसारको बिउ २९ किसानलाई वितरण गरिएको छ ।
बिउ वितरण योजनामा ५० प्रतिशत लगानी प्रदेश सरकारको र बाँकी ५० प्रतिशत सहकारीको रहेको छ। सहभागीकिसानहरूले दुई वर्षभित्र लगाएको बिउ बराबर फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । जसले बिउ अर्को किसानसम्म पुग्ने सुनिश्चित गर्छ ।
प्रकाशित: १० कार्तिक २०८२ २१:२७ सोमबार





