२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

आशा जगाउने अर्थतन्त्रका बाह्य सूचक

जेन-जी आन्दोलनका कारण मानवीय क्षतिसँगै सरकारी तथा निजी संरचनामा खर्बौं रुपैयाँ क्षति हुँदा मुलुकको अर्थतन्त्रमा धक्का लागेको छ । मुलुकको आन्तरिक अर्थतन्त्रमा अप्ठ्यारो अवस्था सिर्जना हुने संकेत देखिएका बेला बाह्य सूचकले भने आशा जगाएको छ । 

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश बाह्य सूचक राम्रा छन्, विदेशी विनिमय सञ्चिति पर्याप्त छ । चालु खाता मजबुत छ भने शोधनान्तर पनि बचतमा रहेको छ । रेमिटेन्समा उल्लेखनीय रूपमा करिब ३० प्रतिशतले वृद्धि भएको छ । निर्यात व्यापार करिब ९६ प्रतिशतले बढेको छ भने मुद्रास्फीति १.६८ प्रतिशतमा सीमित छ ।

यी सूचकले अर्थतन्त्रका बाह्य अवस्था ठिकठाक रहेको देखाउँछ । चालु आवको पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको छ । एक महिनाकै अवधिमा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिटेन्स आएको छ । गत वर्षको साउनमा एक खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ मात्र भित्रिएको थियो । एक महिनामै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार चार सय ६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६ सय ४४ छ । पोहोरभन्दा वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले रेमिटेन्स पनि बढेको हो ।

विदेशी विनिमय सञ्चिति पनि पर्याप्त छ । चालु आवको साउन मसान्तमा सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको हो । चालु आवको पहिलो महिना साउनको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा छ । 

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको थियो । यसले चालु खातामा पनि उल्लेखनीय सुधार आएको देखाउँछ । चालु खाता समीक्षा अवधिमा ५६ करोड डलर बचतमा रहेको छ । शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा थियो ।

चालु आवको पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ९.६ प्रतिशतले गिरावट आएको थियो । भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ । कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

महँगी पनि निकै घटेको राष्ट्र बैंकले जनाएको छ । साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । साउनमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.२६ प्रतिशत, तराईको १.३३ प्रतिशत, पहाडको १.५६ प्रतिशत र हिमालको २.५९ प्रतिशत छ ।

समीक्षा अवधिमा खुद सेवा आय भने १३ अर्ब ३९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब ६ करोडले घाटामा थियो । समीक्षा अवधिमा भ्रमण आय १२.७ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार अर्ब ७७ करोड रहेको थियो । शिक्षातर्फको व्यय १४ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रुपैयाँ थियो ।

रेमिटेन्स आप्रवाह ३० प्रतिशतले वृद्धि 
निर्यात व्यापार ९६ प्रतिशतले वृद्धि
विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात धान्ने 
चालु खाता ७८ अर्ब १४ करोड बचतमा 
शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड बचतमा  
उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत मात्र 

प्रकाशित: ३१ भाद्र २०८२ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App