दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन घ्यू पहिलोपटक दुबई निर्यात गरेको छ। नेपाली उत्पादनलाई विदेशमा रहेका नेपाली उपभोक्तामाझ पुर्याउने उद्देश्यले शुक्रबार ६ सय किलो घ्यू दुबई पठाइएको हो।
डीडीसीले दुबईमा घ्यू बिक्रीका लागि रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ। पहिलो चरणमा परीक्षणका रूपमा घ्यू पठाइएको र त्यहाँको बजारमा माग तथा बिक्रीको अवस्था हेरेर आगामी दिनमा निर्यातको परिमाण बढाउने तयारी गरिएको डीडीसीले जनाएको छ।
सुरुवाती चरणमा दुबईका विभिन्न बिक्रेतामार्फत घ्यूको बजार परीक्षण गरिनेछ। माग बढ्दै गएमा नियमित र ठूलो परिमाणमा निर्यात गर्ने योजना डीडीसीको छ।
नेपाली उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले पहिलो खेप हवाईमार्गबाट पठाइएको हो। आगामी दिनमा भने भारत हुँदै कन्टेनरमार्फत तुलनात्मक रूपमा ठूलो परिमाणमा घ्यू निर्यात गर्ने तयारी डीडीसीले गरेको छ।
डीडीसीले दुबईपछि मध्यपूर्वका अन्य मुलुकमा समेत घ्यूसहित आफ्ना विभिन्न दुग्धजन्य उत्पादनको बजार विस्तार गर्ने योजना बनाएको छ। यसबाट नेपाली दुग्ध उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सहयोग पुग्ने संस्थानको अपेक्षा छ।
प्रकाशित: ५ भाद्र २०८३ १६:०३ शुक्रबार





-600x400.jpg)