नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यासको बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाएको छ। निगमले आइतबार सूचना जारी गर्दै आफूलाई पायकपर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो।
निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता/वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ः०० बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ।
ग्यास बिक्रेता/वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारी अनिवार्य रुपमा सम्बन्धित उद्योग र सम्बन्धित उद्योगले निगमलाई सो विवरण सोही दिन उपलब्ध गराउनुपर्ने छ।
अत्यावश्यक भएका घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न तथा ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ।
त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्तिसमेतको संयुक्त टोलीबाट समेत ग्यासको वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।
प्रकाशित: १ भाद्र २०८३ ०६:४६ सोमबार

