२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

सहकारी पीडितको ८३ करोड ६५ लाख बढी रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारी पीडितहरूको ८३ करोड ६५ लाख २० हजार आठ सय ७४ रुपैयाँ बचत रकम फिर्ता गरेको छ ।  

समितिले २०७४ साल माघ ८ गतेदेखि आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा सहकारी पीडितहरूको उक्त बचत रकम फिर्ता गरेको हो । उल्लिखित रकम समितिले सहकारी पीडितहरूको बचत रकम छ वर्षभित्र फिर्ता गरेको जनाएको छ ।  

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सूचना अधिकारी कृष्ण पौडेलका अनुसार समितिले गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा तीन हजार छ सय ८९ जना मागदाबीकर्ताहरूको सम्पूर्ण रकम मागदाबी फरफारक गरिएको छ ।  

यो अवधिमा विभिन्न सहकारीका ५६ हजार एक सय छ जना पहिलो चरणमा मागदाबी गरेका बचतकर्ताहरूलाई ३५ करोड ८२ लाख आठ हजार एक सय २८ रुपैयाँ आशिक रूपमा फिर्ता गर्ने प्रक्रिया चलिरहेको छ ।

समितिका सूचना अधिकारी पौडेलले यो अवधिमा तीन अर्ब २९ करोड ८४ हजार सात सय ८० बचत रकम मिलान तथा दामासाहीले हुन आउने रकम बैंकमार्फत नगद वितरण गरिएको बताए ।  

सहकारी ऐन २०७४ मा समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन गर्नका लागि समिति गठन गर्ने उल्लेख छ । सोही व्यवस्था अनुसार सरकारले २०७४ साल माघ ८ गते समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समिति गठन गरेको थियो ।  

२०७५ सालदेखि २०८१ सालसम्ममा समस्याग्रस्त घोषणा भएका २३ वटा सहकारीलाई समितिले हेरेको थियो । यसमध्ये सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारी १९ वटा र राफसाफ भएका सहकारी संस्थाहरू तीन वटा छन् ।  

समितिको स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा २३ मध्ये २२ वटा समस्याग्रस्त सहकारीका बचतकर्ताको संख्या ६२ हजार सात सय १० जना छ । ती मध्ये माग दाबी गर्ने आठ हजार एक सय ५५ जनाले बचत र्फिता गरिदिन मागदाबी गरेका थिए । ती सहकारीका सम्पूर्ण बचतकर्ताहरू मध्ये ५४ हजार पाँच सय ५५ जनाले अझै आफ्नो बचत रकम माग दाबी गर्न बाँकी रहेको समितिले प्रकाशन गरेको तथ्यांकमा उल्लेख छ ।  

कारबाही सुरु गरिएका समस्याग्रस्त २२ वटा सहकारीका बचतकर्ताले मागदाबी गरेको जम्मा रकम ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार सात सय १० रुपैयाँ रहेको छ । त्यसमध्ये एक अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ भुक्तानी गरिसकिएको समितिले जनाएको छ । अझै भुक्तानी हुन बाँकी रहेको मागदाबी रकम ३८ अर्ब २५ करोड ८९ लाख ४६ हजार ६ सय ५२ रुपैयाँ रहेको समितिले बताएको छ ।  

समितिले गत आर्थिक वर्ष २०८१/८२ को कात्तिकदेखि फागुन २० गतेसम्म आठ सय ऋणी सदस्य र बचतकर्ताबिच एक अर्ब १० करोड रुपैयाँ हिसाब मिलान गरेको छ ।

यसैगरी एक हजार ऋणी सदस्यहरूबाट असुलउपर गरिएको ३१ करोड रुपैयाँ वितरण गर्ने कार्य योजनामा रहेको छ ।

समस्याग्रस्त सहकारीमध्ये समितिले २०८१ कातिक १३ गतेदेखि २०८२ असार १५ गतेसम्म १५ वटा सहकारीका बचतकर्ताको रकम फिर्ता गरिसकेको छ । उक्त सहकारीका बचतकर्ताको फिर्ता गर्न बाँकी मागदाबी संख्या ५६ हजार एक सय ६ जना रहेको छ । यसैगरी फिर्ता गर्न बाँकी बचत रकम ३५ अर्ब एक करोड १२ लाख ३५ हजार दुई सय चार रुपैयाँ रहेको छ ।  

उक्त अवधिमा समितिले बचतकर्ताले मागदाबी गरेअनुसार २० लाख एक हजार नौ सय ४९ रुपैयाँ फिर्ता गरिसकेको छ । हाल ती १५ सहकारीको बैंक खातामा ३५ करोड रुपैयाँ मौज्दात रहेको समितिले जनाएको छ ।  

समितिका सूचना अधिकारी पौडेलले समस्याग्रस्त सहकारीको सञ्चालक समितिका पदाधिकारीलगायत सहकारीका प्रमुख कर्मचारीहरुरूको चल अचल सम्पति रोक्का गर्न पाउने अधिकार समितिलाई दिइएको जानकारी दिए ।

ऋण तिर्न आउने ऋणीहरूको हकमा समितिले ३५ दिने सार्वजनिक सूचना निकाल्ने गरेको बताए । सूचना अधिकारी पौडेलले सूचना निकालेको ३५ दिनसम्ममा पनि ऋणीहरू ऋण तिर्न नआएमा चल अचल सम्पति रोक्का गर्ने र बचतकर्तालाई बचत रकम दाबी गर्न आवेदन गर्न माग गर्ने गरिएको बताए ।  

बचतकर्तालाई बचत रकम फिर्ता गर्नका लागि सहकारीको चलअचल सम्पत्ति बिक्री गरेर प्राप्त रकम सहकारीको खातामा जम्मा गरेपछि समितिले बनाएको मापदण्डका आधारमा फिर्ता गर्ने गरेको उनले बताए ।

प्रकाशित: १६ मंसिर २०८२ २१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App