नेपाल धितोपत्र बोर्डले प्राथमिक पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउने उद्देश्यले ‘प्राइमरी मार्केट रिफर्म फ्यासिलिटेटिङ टास्क फोर्स’ गठन गरेको छ।
बोर्डले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीतिअन्तर्गत रहेको रेगुलेटरी रिफर्म एजेन्डालाई कार्यान्वयन गर्ने उद्देश्यले बोर्ड नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको जनाएको छ। यस कार्यदलमा बोर्डका तीनजना कर्मचारी, नेप्सेका एक प्रतिनिधि, मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार समिति गठन गरिएको हो।
धितोपत्र बोर्डका अनुसार कार्यदलले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान), विद्युत् नियमन आयोग (ईआरसी), स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, सिडिएस एन्ड क्लियरिङ लगायत अन्य सरोकारवाला संघसंस्थाका विज्ञसमेत आवश्यकताका आधारमा आमन्त्रित गर्न सकिने बताएको छ।
मंगलबार बसेको कार्यदलको पहिलो बैठकले प्राथमिक बजार सुधारका विभिन्न विषयमा पनि छलफल गरेको बोर्डले जनाएको छ। कार्यदलले सार्वजनिक निस्कासन, बुक बिल्डिङ, मर्चेन्ट बैंकर, आइपिओ बाँडफाँटको हालको व्यवस्था, डिजिटल आइपिओ, आइपिओ मूल्य निर्धारण, आइपिओमा योग्य कम्पनीका लागि आवश्यक मापदण्ड, संस्थागत लगानीकर्ता बढाउने लगायत प्राथमिक बजारसँग सम्बन्धित नीतिगत तथा नियामकीय विषयमा सुझाव तथा सुधारका लागि काम गर्नेछ।
यसैगरी आइपिओमा आवेदन दिने लगानीकर्तालाई सेयर कसरी बाँडफाँट गर्ने भन्ने प्रणालीबारे पनि सुझाव दिइने छ। हालको गोलाप्रथामा न्यूनतम १० कित्ता वितरण हुने व्यवस्था छ। त्यस्तै, आइपिओ ल्याउन योग्य कम्पनीका लागि आवश्यक मापदण्डबारे पनि सो कार्यदलले बोर्डलाई सुझाव दिने छ।
कम्पनीको नाफा, नेटवर्थ, सुशासन, सञ्चालन अवधि, वित्तीय अवस्था लगायतका आधारलाई अझ स्पष्ट र प्रभावकारी बनाउने विषय सुझाव मापदण्डमा उल्लेख गर्न सकिने भनिएको छ। आइपिओ ल्याउनुअघि कम्पनीको वित्तीय अवस्था, कानुनी पक्ष, जोखिम, व्यवसाय, सम्पत्ति तथा खुलाउनुपर्ने सबै विवरणको विस्तृत जाँच गर्ने प्रक्रियाबारे पनि सो कार्यदलले सुझाव दिनेछ।
प्रकाशित: २० श्रावण २०८३ ११:५३ बुधबार



-600x400.jpg)

