२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अर्थ

गतवर्ष ताप्लेजुङमा ८६ करोड बढी बजेट फ्रिज

ताप्लेजुङमा आर्थिक वर्ष २०८२।८३ मा ८६ करोड ५७ लाख ९५ हजार ३९६ रुपैयाँ बजेट खर्च हुन नसकी फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल मनकुमार संग्रौलाका अनुसार फ्रिज भएको बजेटमध्ये संघीयतर्फ ५२ करोड ७९ लाख ७२ हजार ३९० रुपैयाँ र प्रदेशतर्फ ३३ करोड ७८ लाख २३ हजार ६ रुपैयाँ रहेको छ। 

संघीयतर्फ चालु र पुँजीगत बजेट करिब बराबरी मात्रामा फ्रिज भएको छ भने प्रदेशतर्फ चालु बजेटको तुलनामा पुँजीगत बजेट दोब्बरभन्दा बढी फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। समग्रमा चालु बजेटको तुलनामा पुँजीगत बजेट बढी मात्रामा खर्च हुन नसकेको देखिएको छ। 

संघीय र प्रदेश बजेट गरी चालुतर्फ ३७ करोड ४ लाख ८४ हजार ९९० रुपैयाँ फ्रिज हुँदा पुँजीगततर्फ ४९ करोड ५३ लाख १० हजार ४०६ रुपैयाँ बजेट फ्रिज भएको छ। 

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संघीयतर्फ चालु बजेट ४ अर्ब ७८ करोड ४ लाख ८० हजार ९०६ रुपैयाँ विनियोजन भएकोमा ४ अर्ब ५१ करोड ९९ लाख ४५ हजार ६४६ रुपैयाँ खर्च भएको छ। बाँकी २६ करोड ५ लाख ३५ हजार २६० रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको हो। 

यस्तै, संघीयतर्फ ७६ करोड २१ लाख ८५ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा ४९ करोड ४७ लाख ४७ हजार ८७० रुपैयाँ खर्च भएको छ भने २६ करोड ७४ लाख ३७ हजार १३० रुपैयाँ फ्रिज भएको छ। 

प्रदेशतर्फ चालु बजेट ६१ करोड २८ लाख १४ हजार रुपैयाँ रहेकोमा ५० करोड २८ लाख ६४ हजार २७० रुपैयाँ खर्च भई १० करोड ९९ लाख ४९ हजार ७३० रुपैयाँ फ्रिज भएको छ। 

त्यसैगरी, प्रदेशतर्फ ५२ करोड ३८ लाख ३४ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा २९ करोड ५९ लाख ६० हजार ७२४ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रकाशित: ६ श्रावण २०८३ १५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App