२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ खण्ड: हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ-बिहुँ खण्डको सडक। तस्बिर: संगम/नागरिक।

नेपालको पूर्वदेखि पश्चिमसम्मका पहाडी जिल्लालाई सडक सञ्जालमा जोड्ने अवधारणा अनुसार राष्ट्रिय गौरवको आयोजनाको रुपमा पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण थालियो।

तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५/०६६ को मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा बजेट विनियोजन गरेका थिए।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ प्रवेश गर्ने मालढुङ्गादेखि पूर्वी रुकुम जोड्ने पातीहाल्नेसम्म करिब १४० किलोमिटर बागलुङमा पर्छ।

नेपालको नक्सा जस्तो बनेर दक्षिण पश्चिम फैलिएको बागलुङ जिल्लाका ६ वटा स्थानीय तहलाई लोकमार्गले छुन्छ। मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजनाको रुपमा साविक बागलुङ-बुर्तिबाङ सडकखण्ड नै भएर जाने भएपछि बागलुङमा सबैभन्दा छिटो काम हुने र यसले यहाँको आर्थिक सामाजिक विकासमा तीव्रता ल्याउने अपेक्षा गरिएको थियो।

तर अहिलेसम्म पनि लोकमार्गको बागलुङ खण्डमा सडकको दुरावस्थाले गर्दा नागरिक र यात्रुले सास्ती खेप्नेक्रम सकिएको छैन। बागलुङ खण्डमा पर्ने अधिकांश धेरै अगाडि कालोपत्रे भएर पनि कतिपय ठाउँहरुमा पुनः मर्मत समेत गरिएको छ।

बागलुङ-बिहुँ र बिहुँ-घोडाबाँधेको दुई खण्ड सडक निर्माण व्यवसायीको चरम लापरबाही कारण अहिलेसम्म पनि निर्माण सम्पन्न भएको छैन। जसका कारण यहाँका नागरिकले हिउँदमा धूलो र बर्खामा हिलोको सास्ती खेप्न बाध्य छन्।

खराब सडकका कारण बिहुँ क्षेत्रका स्थानीय नागरिकले दैनिक धुलो खानु परेको काठेखोला गाउँपालिका-५ बिहुँको भरतप्रसाद सापकोटा बताउँछन्।

‘दूधमा तर लागेजस्तो यहाँका मानिसहरूको घरमा पकाएर राखेको खाना र दाल तरकारी धुलोको तर लागेर बसेको हुन्छ,’ उनले भने,‘यहाँका नागरिकले त हिउँदमा धुलो खाने र बर्खामा हिलोको सास्ती व्यहोर्ने भएको छ।’

ठेकेदारको चरम बदमासी लापरबाहीले स्थानीय समस्यामा सापकोटा बताउँछन्। ‘धुलो उडेर गाईबस्तुलाई खुवाउने घाँस पनि सबै बिजोग हुन्छ, अन्नबाली र फलफूल नि धुलोले पुरिन्छ,’ उनले भने।

विगतको ठेकेदारले पटक पटक म्याद थप्दै बसेर काम नगरेको र अहिले पनि अवस्था उस्तै रहेको उनले सुनाए। ‘यो सडकको बारेमा सांसदमा अकलझुकल आवाज त उठेको छ, तर त्यसको परिणाम यहाँ फिल्डमा देखिन्न,’ उनले भने,‘जसको सरकार आए पनि ठेकेदार नै हाबी हुने अवस्था रहेछ। जनताको दुःखमा सरकारी संयन्त्रहरू लाचार जस्तै भएको देख्दा साँच्चै सरकार नागरिकका लागि होइन रहेछ झैं लाग्छ।’

बिहुँको माथिल्लो क्षेत्र १२ किलोमिटर बिहुँ-घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसि जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेका थियो।

तर ८ वर्षसम्म पनि काम पूरा नगरेपछि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले ठेक्का तोडेर नयाँ ठेक्का लगाएको छ। २०८१ असार २१ गते दुई वर्ष भित्र योजना पुरा गर्नेगरी नयाँ ठेक्का लिएको तामाङ/रजिल भगवती जेभीको पनि यही असार मसान्तमा म्याद सकिँदै छ। तर असार सुरु भइसक्दा पनि सडकको अवस्था अझै उस्तै छ।

यो खण्डमा केही सडक पहिले कालोपत्र भएको पनि भत्किएको र नयाँ कालोपत्र हुने अवस्था नरहेको स्थानीय युवा कृष्ण कँडेल बताउँछन्।

‘असार भित्र सक्ने भन्ने कुरा थियो, तर ठेकेदारले जाँगरसँग काम गरेको देखिन्न,’ उनी भन्छन्, ‘एक दुई वटा ट्रिपर, १०/१५ जना मजदुर राखेर अलिअलि काम गरे जस्तो गरेको देखिन्छ। अलिअलि घुम्तीमा ढलान गर्ने र अरु स्टक्चरको काम गरेको छ। कालोपत्र होला जस्तो छैन। पहिले भएका ठाउँमा पनि भत्किएर समस्या भएको छ।’

सडकका कारण स्थानीयले पाएको दुःख बयान गरिसाध्य नभएको कँडेल बताउँछन्।  

‘धुलोका कारण बिरामी हुनेहरुमा धेरै छन्, सडक चाँडो निर्माण हुनुपर्‍यो भनेर हामीले पटक पटक आन्दोलन पनि गर्‍यौं। यहाँका नागरिकले काम बेलामा गर्छ भने सहयोग गरौं भनेर ऋण पनि दिए,’ उनी भन्छन्, ‘पहिलको ठेकेदारले कामै नगरी गयो। अहिले पनि म्याद सकिन केही दिन बाँकी छ। काम गराइ देखाउनका लागि मात्रै गरिएको जस्तो छ।’

लोकमार्गको तल्लो खण्ड उपल्लाचौरदेखि अक्षेते-बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर दुई वर्ष भित्र कालोपत्र सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो।

पाँच पटकसम्म म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि गत पुस महिनामा यो खण्डको पनि ठेक्का तोडिएको छ। लोकमार्ग आयोजनाले ठेक्का रद्द गरेपछि निर्माण कम्पनीले अदालतमा मुद्दा दायर गरेको छ।

ठेकेदारले पटक पटक प्रशासनको रोहबरमा स्थानीय नागरिकसँग गरेको प्रतिबद्धता अनुसार काम नगर्दा अप्ठ्यारो भएको काठेखोला गाउँपालिका वडा नम्बर-६ का वडाध्यक्ष बृहस्पति शर्मा कँडेल बताउँछन्।

‘तल्लो खण्डको ठेक्का नै तोडियो अब त्यसको के कुरा भो र, माथिल्लो खण्डको नयाँ ठेकेदारले पनि हामीसँग यही वडा कार्यालयमा आएर दुई वर्षमा जसरी पनि काम सक्छु, मलाई म्याद थप्नुपर्दैन भनेर लोकमार्ग आयोजना इन्जिनियर, सिडिओ साप सहित यहाँको नागरिकको सामु भनेका हुन्,’ उनले भने,‘अहिले विभिन्न बहाना बनाएर काममा ढिलाइ गरेका छन्। स्टक्चरको काम अगाडि बढेको छ। माथिल्लो खण्डमा सडक सम्म्याउने काम भएको छ तर अहिले कालोपत्र हुने अवस्था देखिन्न।’

पहिलो म्याद नथप्ने भनेको ठेकेदारले अहिले बिटुमिन नपाएको तेलको मूल्य बढेको लगायत कारण देखाएर ठेक्का सम्झौता थप गर्ने मनसायले अगाडि बढेको उनी बताउँछन्।

‘पहिलो जसरी पनि समयकै काम सक्छु भन्ने कुरा थियो, अहिले निर्माण सामग्री पाइएन, महँगी बढ्यो भन्ने अनेक बहानामा म्याद थप्ने काममा लागेको जस्तो देखिन्छ,’अध्यक्ष कँडेल भन्छन्। बिहुँ-घोडाबाँधे खण्ड यस पटक काम सकिने अवस्था भए पनि पछिल्लो परिस्थितिका कारण समस्या आएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख अनुक्षा घिमिरे बताउँछिन्।

‘माथिल्लो खण्डको त यस पटक काम सकिने अवस्था थियो तर पछिल्लो परिस्थितिका कारण सबैतिर निर्माणको काम सुस्त भएको छ,’ उनले भनिन्,‘निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि लगायतले गर्दा समयकै काम नसकिने अवस्था छ।’

माथिल्लो खण्डमा अहिले ५२ प्रतिशत काम भएको उनले सुनाइन्। ‘स्टक्चरको काम लगभग सबै भ्याइएको छ,’ उनले भनिन्, ‘पहिलाभन्दा धेरै काम भएको छ। पहिले जस्तो गाह्रो छैन।’ तल्लो खण्डको ठेक्का तोडिएपछि अदालतमा मुद्दा परेकाले अन्य प्रक्रिया अगाडि बढाउन नसकिएको उनले सुनाइन।

‘हामीले पुसमा सम्झौता रद्द गर्‍यौं, निर्माण कम्पनीले अदालतमा मुद्दा दायर गर्‍यो,’ उनले भनिन्, ‘अदालतमा मुद्दा भएपछि त्यसपछिका सबै प्रक्रियाहरु ठप्प भएका छन्।’

अदालतले जति छिटो फैसला दियो त्यति नै छिटो काम अगाडि बढ्ने उनको भनाइ छ। ‘अदालतले कागजपत्रहरु झिकाएको थियो, हामीले बुझाएका छौं, सायद दुई/चार दिनमा केही निधो आउँला। अदालतले जति छिटो टुंगो दियो उति नै छिटो अन्य प्रक्रिया अगाडि बढ्छ,’ घिमिरेले भनिन्।

बागलुङकै बिहुँ-गलकोटखण्डमा भने पहिले नै निर्माण पुरा भएर पनि अहिले भत्किएका ठाउँहरूमा पुनःनिर्माण सुरु भएको छ। ‘त्यो खण्ड आगामी वर्ष सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्छौं, यस वर्ष मर्मतको काम भइरहेको छ,’ उनले सुनाइन्।

पाँचथर चिवा भन्ज्याङदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग पश्चिम बैतडीको झुलाघाट पुगेर टुङ्गिन्छ। यसले मध्यपहाडी क्षेत्रका २४ वटा जिल्ला र २२५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्नेछ। लोकमार्गको एक हजार ८ सय ७९ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्र १ सय ४० किलोमिटर पर्छ।

मध्यपहाडी लोकमार्गसँगै यस आसपासमा रहेका दश बस्तीलाई नेपाल सरकारले नयाँ सहरी आयोजना मार्फत सहरीकरणको काम अगाडि बढाएको छ। नयाँ सहर आयोजना अन्तर्गत बागलुङको बुर्तिबाङ, पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, रुकुमको चौरजहारी, दैलेखको राकमकर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा नयाँ सहरी आयोजना अन्तर्गत विभिन्न पूर्वाधारका कामहरु भइरहेका छन्।

प्रकाशित: २ असार २०८३ १७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App