तीन महिनाको अवधिमा काठमाडौं उपत्यकामा तरकारीको थोक मूल्यमा ठुलो उतारचढाव देखिएको छ। गत चैत १ गतेदेखि असार ४ गतेसम्म आइपुग्दा बजारमा तरकारीको मूल्यमा निकै फेरबदल भएकोे पाइएको हो। यस अवधिमा अधिकांश तरकारीको थोक मूल्य बढेको छ। जसको प्रत्यक्ष असर खुद्रा बजारमा पनि परेको छ। आलु, प्याज, बन्दा, गाजर, काउली, मटरकोसा जस्ता दैनिक भान्छामा उपभोग हुने तरकारीको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार चैत १ गते उच्च मूल्यमा कारोबार भएका केही तरकारी असार ४ गतेसम्म आइपुग्दा ५० प्रतिशत बढीले सस्तिएका पनि छन्। गोलभेंडा, भान्टा, ताने बोडी, तितोकरेला, लौका, घिरौंला, फर्सी, तराई परवललगायतका मौसमी तरकारीको मूल्यमा भने भारी रुपमा गिरावट आएको छ।
तथ्यांकले गोलभेंडा, भान्टा, बोडी, तितेकरेलाको मूल्यमा गिरावट आएको देखाएको छ। हिउँदे मौसममा सीमित उत्पादन हुने यी तरकारीको आपूर्ति असारमा बढ्दा मूल्य घटेको हो। तर खुद्रा बजारमा भने उपभोक्ता महँगोमै तरकारी किन्न बाध्य छन्। काठमाडौं यट्खा निवासी जमुना श्रेष्ठले खुद्रामा तरकारी किन्दा सधैं महँगो मूल्य तिर्नुपरेको सुनाइन्। ‘हामी सधैं कालीमाटी तरकारी बजारमा जान सक्दैनौं। नजिकैको तरकारी पसलबाट दैनिक महँगो मूल्यमा तरकारी किन्नुपर्छ’, ७५ वर्षीया उनले गुनासो गरिन्, ‘आज (बिहीबार) मात्र एक किलो आलु ६० रुपैयाँ र एक किलो भान्टा ८० रुपैयाँ तिरेर ल्याएँ। तरकारीको मूल्य घटेको भन्छन् तर हाम्रा लागि भने घटेको छैन।’ उनले काठमाडौंमा पर्याप्त खेतीपाती नगरिँदा पनि तरकारी महँगोमा किन्नुपरेको अनुभव सुनाइन्।
यट्खामा केही सस्तो भए पनि बसुन्धरामा भने त्यही तरकारी महँगो रहेको गृहिणी रीना श्रेष्ठको भनाइ छ। उनले बसुन्धरामा बिहीबार आलु एक किलोका लागि ६५ र प्याज एक किलोका लागि ६५ रुपैयाँ तिरेर किनेको सुनाइन्। ‘पसलपिच्छे तरकारीको मूल्य फरक छ’, ४५ वर्षीया उनले भनिन्, ‘पछिलो समय तरकारी निकै महँगो हुँदै गएकाले भान्छा पनि महँगिएको छ। साग पनि उस्तै महँगो छ। सरकारले खुद्रा पसल पनि अनुगमन गरेर एउटा निश्चित मूल्य तोकिदिनुपर्छ।’
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. प्रधुम्नराज पाण्डेका अनुसार उपत्यकावरिपरि पनि केही तरकारीको उत्पादन राम्रो हुँदै गएकाले मूल्यमा कमी आएको हो। ‘तरकारीको थोक मूल्य मौसन, वस्तु , ढुवानी र समयका आधारमा फरक पर्छ। बजारमा बेलुका तरकारी सस्तो हुन्छ तर राम्रो पाउँदैन’, पाण्डेले भने, ‘खुद्रा पसलमा भने तरकारीको मूल्य बढी नै छ। हामीले अनुगमन गर्न मिल्दैन। खुद्रा पसलेले थोकमा किन्दा छान्न मिल्दैन। क्यारेट वा बोरा नै किन्नुपर्छ। क्यारेट वा बोरामा बिग्रिएको परे खुद्रा पसलले त्यसको क्षति जोडेर मूल्य तोक्छ। १० देखि २० प्रतिशत नाफा राख्नुपर्नेमा ५० प्रतिशतसम्म राखेको हामीले पाएका छौं।’
खुद्रा बजारमा कस्तो प्रभाव?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका योजना अधिकृत रमेश डंगोलका अनुसार थोक मूल्य घटे पनि उपभोक्ताले त्यसको पूर्ण लाभ पाएका छैनन्। काठमाडौंका खुद्रा पसल, डिपार्टमेन्ट स्टोर तथा स्थानीय बजारमा थोक मूल्यभन्दा २५ देखि ६० प्रतिशतसम्म बढी मूल्य छ।
चैत १ गतेदेखि असार ४ गतेसम्मको अवधिमा कालीमाटी बजारको मूल्य प्रवृत्ति हेर्दा तरकारी बजार मौसमी उत्पादनमा अत्यधिक निर्भर रहेको स्पष्ट हुन्छ। अधिकांश तरकारी सस्तिँदा उपभोक्ताले राहत पाए पनि किसानको आम्दानीमा दबाब परेको छ। आगामी साउन–भदौमा वर्षाको तीव्रता बढ्दै जाँदा आपूर्ति प्रभावित भए पुनः मूल्यवृद्धिको सम्भावना रहेको अधिकृत डंगोलको विश्लेष्ण छ।
‘समितिले तरकारीको मूल्य तोक्ने होइन। बजारको मूल्य दैनिक संकलन गरेर औसत मूल्य समितिले प्रकाशित गरिदिने मात्र हो’, अधिकृत डंगोल भन्छन्, ‘खुद्राको रेकर्ड हामीसँग हुँदैन। आफ्नो अनुकूल खुद्रा व्यवसायीले तरकारीको मूल्य तोकेर बेच्छन्। धादिङ, काभ्रे, मकवानपुर, चितवनलगायत जिल्लाबाट आपूर्ति बढ्नुले पनि केही तरकारीको थोक मूल्य घट्न गएको हो।’ उनले भने, ‘हिउँदे बाली उत्पादन बजारमा एकैपटक आउनु र वर्षायामअघि किसानले खेत खाली गर्न उत्पादन छिटो बिक्री गर्नुले पनि केही तरकारीको मूल्य सस्तिएको हो।’ आयातित तरकारीको उपलब्धता कायम रहनुले पनि तरकाीको थोक मूल्य सस्तिनुको अर्को कारण हो।
खुद्रा व्यापारीहरूका अनुसार ढुवानी, भण्डारण, श्रमिक तथा नोक्सानी लागतका कारण थोक मूल्य घटे पनि सोही अनुपातमा खुद्रा मूल्य घट्न नसकेको हो।
प्रकाशित: ५ असार २०८३ ०८:३८ शुक्रबार





