ताप्लेजुङको हिमाली गाउँ फले र घुन्सामा फलेका स्याउ गुणस्तरले सुसज्जित रहेको पाईएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं ६ मा अवस्थित करिव ३ हजार २०० मिटर उचाईको फले र ३ हजार ४७५ मिटर उचाईमा रहेको घुन्सामा उत्पादित स्याउको गुणस्तरीयता मापन सफल भएको स्थानीय दावा इलावाले जानकारी दिए ।
उनका अनुसार स्वीजरल्याण्डबाट आएका स्याउ विशेषज्ञको टोलीले उक्त क्षेत्रमा उत्पादित स्याउको गुणस्तर,स्याउ भित्रको दानासहितको परीक्षण गरेका थिए ।
परीक्षणका आधारमा स्याउको गुणस्तर कायम भएको पाईएको उनले बताए । यो परीक्षण सफल भएसंगै ताप्लेजुङको हिमाली गाउँ फले र घुन्सा सहितका क्षेत्रमा स्याउको व्यावसायिक खेति सम्भव हुने इलावाको निष्कर्ष छ ।
इलावाका अनुसार घुन्सामा फलेको स्याउका प्रजातिमध्ये फुजीमा १३ ब्रिक्स,गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १७ ब्रिक्स चिनीको मात्रा पाईएको छ । यस्तै फलेमा उत्पादन भएका स्याउमध्ये फुजीमा १२ ब्रिक्स,गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १५ ब्रिक्स चिनीको मात्रा पाईएको इलावाले जानकारी दिए ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविरको प्रवेशस्थल घुन्सा र फलेमा इटालीबाट बिरुवा ल्याएर रोपेको स्याउले गुणस्तरीयता कायम गरेको हो । त्यहाँ रोपेको ६ महिना पछि नै स्याउ फल्न थालेको स्थानीयले बताएका छन् ।
मनाङ एग्रो नामक फार्मको समन्वयमा स्याउका बिरुवा ल्याएर रोपिएको हो । फले र घुन्सामा स्याउ खेती लगाउने योजनासहित विगत दुई तीन वर्ष अघि यहाँका माटो स्वीजरल्याण्ड लगेर परीक्षण गरिएको थियो । माटो परीक्षणका क्रममा खेती गर्न सकिने पाइएपछि परीक्षणका रुपमा गरिएको स्याउ खेतिले उत्पादन दिई गुणस्तरीयता समेत कायम गरेको हो ।
प्रकाशित: १३ कार्तिक २०८२ १६:०५ बिहीबार



-600x400.jpg)

