‘जुम्ला’ भन्नासाथ धेरैको मनमा आइहाल्ने ‘स्याउ’ को पहिचानलाई अझ जीवन्त बनाउन चन्दननाथ नगरपालिकाले सदरमुकाम खलंगामा ‘एप्पल चोक’ निर्माण गरेको छ।
जुम्लाको गर्विलो पहिचानलाई मूर्त रूप दिँदै नगरपालिकाले स्याउको राजधानीको रूपमा आफ्नो अस्तित्वलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले यो कदम चालेको हो।
नगरपालिका-६ स्थित दौतरी होटल अगाडि निर्माण गरिएको यो चोक नगरस्तरीय आयोजनाअन्तर्गत ५ लाख रुपैयाँको लागतमा बनेको हो।
नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले भनिन्, ‘जुम्लालाई स्याउको राजधानी भनेर चिनिन्छ। यही पहिचानलाई स्थापित गर्न र प्रचारप्रसार गर्न हामीले चोक बनाएका हौँ।’
कर्णाली प्रदेशमा सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्लाको रूपमा चिनिने जुम्लाको यो कदमले यहाँको कृषि पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
मेयर राजुसिंह कठायतले जग्गाको अभावमा चोक अलि साँघुरो भए पनि यसले जुम्लाको पहिचानलाई उजागर गर्न मद्दत पुग्ने बताए।
उनले भविष्यमा जुम्लाको अर्को विशिष्ट पहिचान, विश्वकै उच्च स्थान (२८५० मिटर) मा फल्ने ‘कालीमार्सी धान’ को चोक पनि बनाउने योजना रहेको जानकारी दिए।
‘बाह्य पर्यटक जुम्ला भित्रिँदा उनीहरूले स्याउ र मार्सीको महत्वबारे सजिलै थाहा पाऊन् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने।
सन् १९६७ (विसं २०२२) मा भारतको कश्मीरबाट ल्याइएका बिरुवाबाट जुम्लामा स्याउ खेती सुरु भएको इतिहास छ। हाल जुम्लाको एक नगरपालिकासहित सातवटै गाउँपालिकामा स्याउ खेती विस्तार भएको छ। २०६४ सालमा ‘अर्गानिक जिल्ला’ घोषणा भएसँगै यहाँ उत्पादन हुने स्याउले थप चर्चा पाएको छ।
कृषि विकास कार्यालयले ‘एक घर, एक बगैंचा’ कार्यक्रमलाई अघि सारेको छ। हाल जुम्लाका १९ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न छन् र कुल ४,२५० हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ।
गोल्डेन, रेड, रोयल डेलिसियस जस्ता परम्परागत जातका साथै इटालियन फुजी र गाला जातका स्याउ पनि यहाँ सफलतापूर्वक उत्पादन भइरहेका छन्।
गत वर्ष मात्रै जुम्लाले ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ बराबरको स्याउ निर्यात गरेको थियो। काठमाडौं, पोखरा र विराटनगरजस्ता प्रमुख सहरमा जुम्ली स्याउको माग उच्च रहेको छ।
प्रकाशित: १२ श्रावण २०८२ २०:५२ सोमबार





