२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

अन्नपूर्ण क्षेत्रः पर्यटकले फालेको फोहोर उठाएर पोखरा ल्याइँदै

नौ महिनामा ३२ हजार ६ सय ५० किलो फोहोर पोखरा ल्याइयो

मुस्ताङमा संकलित फोहोर ट्रकमा हालेर पोखरा पठाउँदै स्थानीय। तस्बिरः नागरिक

मुस्ताङको जोमसोमस्थित मिलिजुली टोल विकास संस्थामा आवद्ध सदस्यको सक्रियतामा केहीदिन अघि त्यस क्षेत्रमा संकलित एकहजार ७९ किलो फोहोर पोखरा पठाइयो। संकलित फोहोरमध्ये सबैभन्दा बढी शिशाजन्य थियो। त्यसपछि प्लाष्टिकजन्य फोहोर थियो।  

त्यसअघि जोमसोमकै नमूना टोल विकास संस्था मार्फत पनि मुस्ताङको फल्याक र जोमसोमबाट संकलित २ हजार १० किलो फोहोर पोखरा पठाइयो। त्यसमा पनि सबैभन्दा बढि फोहोर शिशाजन्य थियो। मिलिजुली र नमूना टोल विकास जस्तै संस्थालाई स्थानीय स्तरमा परिचालन गरेर अन्नपूर्ण क्षेत्रबाट धमाधम फोहोर संकलन गर्न थालिएको छ। त्यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले उनीहरुलाई परिचालन गरेको छ।  

पदयात्रामा गएका आन्तरिक र बाह्य पर्यटकले फ्याकेको उक्त फोहोर अहिले स्थानीयका लागि चूनौती बनेको छ। सर्वत्र फोहोर बढ्दै गएपछि एक्यापले त्यही फोहोर संकलन गरेर पोखरा ल्याउन थालेको हो। एक्याले पछिल्लो दुईवर्षदेखि अन्नपूर्ण क्षेत्रबाट फोहोर संकलन गरेर पोखरा ल्याउन थालेको छ। दुईवर्ष अवधिमा हजारौं किलो तौल फोहोर पोखरा ल्याइएको एक्यापले बताएको छ।  

एक्याप प्रमुख रविन कडरियाका अनुसार अघिल्लो आर्थिक वर्षमा एक्याप क्षेत्रका केही गाउँपालिकाबाट मात्र ३१ हजार किलो तौल फोहोर पोखरा ल्याइएको थियो। चालु आर्थिक वर्षको चैत (नौ महिना) सम्म ३२ हजार ६ सय ५० किलो फोहोर पोखरा ल्याइसकिएको छ। चालु आर्थिक वर्षको अझै तीनमहिना अवधिको फोहोर पोखरा ल्याउँदा आकार अझै थपिने उनले बताए।  

‘हामीले पर्यटकीय क्षेत्रलाई लक्षित गरेर फोहोर संकलन गर्न थालेको हौ। घुमघामका लागि गएका आन्तरिक र बाह्य पर्यटकले जथाभावि फोहोर फालेर पदमार्ग दुर्गन्धित भएपछि व्यवस्थापनको पहल थालेका हौ,’ कडरियाले भने, ‘संकलित फोहोर धेरैजसो पदमार्गकै हो।’ पदयात्रामा गएका पर्यटकले फालेको शिशा, प्लाष्टि, क्यान (टिन) जन्य फोहोरलाई संकलन गरेर स्थानीयस्तरमै वर्गीकरण गरेर पोखरा ल्याउने गरेको उनले बताए। फोहोर संकलनका लागि ठाउँठाउँमा डस्टविन राखेको भएपनि कतिपय पर्यटकले बाटोमै फ्याक्ने गरेका थिए।

एक्यापका अनुसार चालु आर्थिक वर्षमा संकलित फोहोर मध्ये शिशाजन्य फोहोर मात्र २३ हजार २ सय २३ किलो थियो। टिन (क्यान) जन्य फोहोर ३ हजार २ सय २४ किलो र प्लाष्टिकजन्य फोहोर ६ हजार २ सय ३ किलो थियो। कडरियाका अनुसार एक्याप क्षेत्रबाट संकलित फोहोर पोखरा ल्याएर ‘ग्रीन रोड वेस्ट म्यानेजमेन्ट’ लाई दिने गरिएको छ। उक्त संस्थाले संकलित फोहोरलाई विभिन्न तरिकाले पुनःप्रयोग गर्ने गरेको पनि उनले बताए। पोखरा ल्याइएको प्लाष्टिकलाई सडक कालोपत्रे गर्नका लागि चाहिने कच्चा पदार्थ बनाउने गरिएको छ भने शिशा र टिनजन्य फोहोरलाई रिसाइकल गरेर पुर्न प्रयोग गर्ने गरिएको उनले बताए।  

‘अहिलेका लागि एक्यापले नै ढुवानी गरिदिएर ग्रीन रोड वेस्ट म्यानेजमेन्टलाई दिएका छौ। एक्यापले फोहोरबाट कुनै आम्दानी गरेको छैन। फोहोर व्यवस्थापन मात्र गरेको हो,’ उनले भने, ‘हिमाली क्षेत्रलाई फोहोरमुक्त बनाउने उपाय हो। जथाभावि फ्याकिएको फोहोरलाई संकलन गरेर व्यवस्थापन गर्न थालिएको हो।’  

केहीवर्ष अघिसम्म एक्यापले फोहर संकलन गरेर त्यही क्षेत्रमा आगो लगाएर जलाउँदै आएको थियो। तर, पछिल्लो दुइवर्षदेखि नकुहिने फोहरलाई बोकेर पोखरा ल्याउने र रिसाइकल (पुनःप्रयोग) गर्न थालेको उनले बताए। जलाउँदा सबैखाले फोहोर नजल्ने तथा झनै प्रदूषण पनि बढ्ने भएपनि संकलन थालेको उनले सुनाए।  

‘संरक्षित क्षेत्र फोहोरले दुर्गन्धित बनायो, त्यही भएर गत आर्थिक वर्ष त हामीले संकलन अभियान नै थाल्यौ,’ एक्याप प्रमुख कडरिया भन्छन, ‘घुम्न गएका विदेशी पाहुना र उनीहरुका सहयोगीले गरेको फोहोरका कारण पदयात्रा क्षेत्र दुर्गन्धित भएको हो।’ उनका अनुसार संरक्षण क्षेत्रमा संकलित फोहोरलाई अघिल्ला वर्षसम्म जलाउने गरिएकोमा त्यो भने अब रोकिएको छ।  

‘फोहोर जलाउँदा त्यसको धुँवाले पनि असर गरेको थाहा भयो। पदयात्रा क्षेत्रमा गएका पर्यटकलाई फोहोर जलाउँदा निस्केको धुँवाले झनै बढि असर गरेकोले जलाउन पनि रोक लगाइएको हो,’ उनले भने, ‘पर्यटकीय, जैविक र धार्मिक दृष्टिले महत्वपूर्ण अन्नपूर्ण क्षेत्रलाई फोहोरले दुर्गन्धित बनाएको छ।’ यसलाई बेलैमा नियन्त्रण नगर्ने हो भने भविश्यमा पदयात्रा क्षेत्रमाथि नै सकस थपिने उनले बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार अन्नपूर्ण, मनास्लु र गौरिशंकर संरक्षण क्षेत्रबाट मात्र गत आर्थिक वर्षमा ३४ हजार किलो फोहोर संकलन गरिएको थियो। त्यो मध्ये सबैभन्दा बढी अन्नपूर्ण क्षेत्रबाट संकलन गरिएको थियो। किनकी अन्य क्षेत्रमा पर्यटक कम संख्यामा जाने भएकोले फोहोरको समस्या अझै बल्झिसकेको छैन। तर, अन्नपूर्ण क्षेत्रमा भने फोहोरले सताएको उनले बताए।  

अन्नपूर्ण क्षेत्र पर्ने १५ वटै स्थानीय तहको फोहोर व्यवस्थापन गर्ने नीति अनुरुप संकलनका लागि ठाउँठाउँमा संकलन केन्द्र बनाएको एक्यापले बताएको छ। कडरियाका अनुसार अन्नपूर्ण क्षेत्रमा फोहोरको चूनौति थपिँदै गएपछि समस्या समाधान गर्नका लागि एक्यापले विभिन्न जिल्लामा ११ ठाउँमा फोहोर संकलन केन्द्र नै बनाईदिएको छ। त्यस्तै फोहोर संकलन गर्ने समूहलाई परिचालन गर्नेगरि अघिल्लो वर्ष क्षमता वृद्धिका ३७ वटा कार्यक्रम नै आयोजना गरेको थियो। ११ पटक त फोहोर संकलन अभियान नै संचालन गरेको थियो।  

‘स्थानीय आमा समूह, पर्यटन व्यवस्थापन समिति, संरक्षण समितिलाई परिचालन गरेर फोहोर संकलन गर्न थालिएको छ। फोहोर संकलनका लागि परिचालित समूहले पदमार्ग क्षेत्रको फोहोर टिपेर नजिकको संकलन केन्द्रमा थुपार्छन,’ उनले भने, ‘त्यसपछि एक्यापले सवारीमाफर्त उक्त फोहोरलाई पोखरा ल्याउने व्यवस्था मिलाएको छ।’ अन्नपूर्ण आधारशिविरबाट समेत फोहोर संकलन गरेर पोखरा झारिएको उनले बताए।  

उनका अनुसार मुस्ताङ, मनाङका विभिन्न ठाउँ सहित घान्द्रुक, सिक्लेस लगायतका बस्ती भएका ठाउँमा र पदमार्गमा फोहोर संकलन केन्द्र बनाइएको छ। त्यसबाहेक ठाउँठाउँमा फोहोर थुपार्नका लागि ठूला आकार डस्टविन पनि राखिएको छ। ‘अन्नपूर्ण क्षेत्र जैविक विविधताले भरिपूर्ण छ। तर, पदयात्रामा गएका पर्यटकले गरेको फोहोरले गर्दा दूर्गन्धित पनि बनेको छ,’ उनले भने, ‘कुहिने प्रकृतिको फोहोर व्यवस्थापनमा समस्या हुँदैन, तर नकुहिने फोहोरले चूनौति बढाएको छ। ठाउँठाउँमा प्लाष्टिक, शिशाका बोटल, मेटलका क्यान यत्रतत्र हुँदा जैविक क्षेत्र प्रदूषित भएको छ।’  

कडरियाका अनुसार सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा सबैगरि २ लाख ९९ हजार ८ सय ३१ जना पाहुना अन्नपूर्ण क्षेत्रमा गएका थिए। सन् २०२६ को सुरुको चारमहिना (जनवरी–अप्रिल) अवधिमा अन्नपूर्ण क्षेत्रमा सबैगरि १ लाख ५२ हजार ४ सय ८६ जना विदेशी पर्यटक घुमघामका लागि पुगेका छन्।

प्रकाशित: २८ वैशाख २०८३ १८:१७ सोमबार

फोहोर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)