२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन संघ–संस्थाको छाता संगठन ‘नेपाल पर्यटन महासंघ’ बनाउने सहमति

पर्यटन क्षेत्रका संघ–संस्थाको छाता संगठनका रूपमा ‘नेपाल पर्यटन महासंघ’ गठन गरिने भएको छ। विभिन्न पर्यटन संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको राजधानीमा सम्पन्न बैठकले ‘नेपाल पर्यटन महासंघ’ गठन गर्ने प्रस्ताव अघि बढाउने सहमति जनाएको हो।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), वायुसेवा सञ्चालक  संघ नेपाल(एओएन), होटल एसोसिएसन अफ नेपाल (हान), नेपाल पर्वतारोहण संघ, पर्वतारोहण सञ्चालक संघ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)– नेपाल च्याप्टरलगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिले सो प्रस्तावमा सहमति गरेका हुन्।  

काठमाडौंको मुनलाइट होटलमा सम्पन्न भएको छलफलमा ‘वान टिम, वान भिजन, वान भ्वाइस’ अवधारणा अनुसार पर्यटन क्षेत्रका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत संवाद गर्ने र समाधानका लागि संयुक्त पहल गर्ने आवश्यकता औ‍ंल्याएर यस महासंघ महासंघ बनाउने सहमति जुटेको हो। वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले यस सहमतिबारे जानकारी गराएका हुन्।  

टानका अध्यक्ष सागर पाण्डेको संयोजकत्वमा सम्पन्न भएको सो बैठकमा सहभागी व्यवसायीले विपद्का कारण अझै बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै पर्यटन क्षेत्रमा कार्यरत मृतक तथा बेपत्ता श्रमिक तथा उनीहरूका परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।

यसैगरी, गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपीडितको स्मृतिमा अन्तर्राष्ट्रिय स्मारक पार्क बनाउन पर्यटन व्यवसायीले सरकारसँग आग्रह गर्ने निर्णय समेत गरेका छन्। विशेषगरी मृतक तथा बेपत्ता पर्यटनकर्मीका आश्रित परिवार र बालबालिकाको शिक्षा–स्वास्थ्यमा दीर्घकालीन सहयोग आवश्यक रहेको निष्कर्ष समेत सो बैठकले निकालेको छ।

नेपाल पर्यटन बोर्डको उपलब्ध कोष (टिम्स) बापत उठेको रकम  बोर्डमा जम्मा भएको र सो रकम तथा अन्य संस्थागत संयन्त्र मार्फत सहयोग जुटाउन पनि व्यवसायीले आवश्यक सहकार्य र पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

भोटेकोशी बाढी तथा विपद्का क्रममा उद्धार, राहत तथा मानवीय सहयोगमा महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण सहकर्मी, संघसंस्था, पर्यटन व्यवसायी, स्वयंसेवक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै सो बैठकले सरकारले लामो समयपछि पर्यटन क्षेत्रलाई समयानुकूल बनाउन नयाँ पर्यटन ऐन ल्याउने तयारी गरिरहेको सन्दर्भमा नेपालको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटन व्यवसायको वास्तविक अवस्था र अन्तर्राष्ट्रिय अभ्यास गराउन सरकारको ध्यानाकर्षण गराएको छ। व्यावहारिक, समावेशी, लगानीमैत्री, सुरक्षित र दिगो पर्यटन विकास सुनिश्चित हुनेगरी नयाँ पर्यटन ऐन निर्माण गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ।

सोही बैठकमा नेपाल पर्यटन बोर्डले हाल विनियोजन गरेको बजेट तथा कार्यक्रमबारे पनि गम्भीर छलफल भएको थियो। निजी क्षेत्रका प्रतिनिधिले हालको पर्यटन बजार, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र नेपालको पर्यटन उद्योगको वास्तविक आवश्यकता हेर्दा बजेट अझ बढी पर्यटनमैत्री, व्यवसायमैत्री, परिणाममुखी र परिवर्तनकारी हुनुपर्ने धारणा राखे।

पर्यटन प्रवर्द्धनलाई केवल बजेट खर्च गर्ने विषयका रूपमा नभई बजार अनुसन्धान, अन्तर्राष्ट्रिय मार्केटिङ, डिजिटल तथा एआई प्रविधि प्रयोग, नयाँ पर्यटन बजार विस्तार, नयाँ गन्तव्य तथा पर्यटन उत्पादन विकास र मापनयोग्य परिणामसँग जोड्नुपर्नेमा जोड दिइएको छ।

बैठकले पर्यटन बोर्ड सञ्चालक समिति गठन तथा प्रतिनिधित्वको विषयमा पनि निजी क्षेत्रको चासो र धारणा राखेको छ। पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका निजी क्षेत्रका प्रमुख पर्यटन संस्थाले पर्यटन बोर्ड सञ्चालक समितिमा संस्थागत प्रतिनिधित्व माग गर्दै आए पनि हालसम्म सम्बोधन नभएकोप्रति बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पर्यटन क्षेत्रका समस्या, आवश्यकता र सम्भावनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सम्बन्धित निजी क्षेत्रका संस्थाहरूको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा बैठकले जोड दिएको छ। पर्यटन बोर्डको वर्तमान संरचना, कार्यशैली तथा गतिविधिले नेपालको पर्यटन प्रवद्र्धन र पर्यटक आगमन वृद्धि गर्न अपेक्षित परिणाम दिन नसकेको निष्कर्ष बैठकले निकालेको छ।

पर्यटन क्षेत्रका सम्पूर्ण प्रमुख संस्थाहरूको साझा धारणा अनुसार पर्यटन बोर्डलाई तत्काल व्यापक पुनसंरचना गरी थप प्रभावकारी, व्यावसायिक, जवाफदेही र परिणाममुखी संस्थाका रूपमा विकास गर्न सरकार समक्ष आग्रह गर्ने निर्णय गरिएको छ। सो बैठकमा सहभागी व्यवसायीले पर्यटन बोर्डमा छनोट हुन लागेको प्रमुख कार्यकारी अधिकृत(सीइओ) छनोटमा दलगत वा राजनीतिक पहुँचका आधारमा नभई पर्यटन क्षेत्रको ज्ञान, अनुभव, नेतृत्व क्षमता, व्यावसायिक दक्षता, इमानदारी र स्पष्ट कार्ययोजनाका आधारमा उत्कृष्ट व्यक्ति चयन गर्न पनि आग्रह गरेका छन्।

प्रकाशित: २० आश्विन २०८३ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App