मकवानपुरको मनहरी गाउँपालिका ७ स्थित रमौलीका कृष्ण राईले आफ्नै खेतमा मकै उम्रेला कि नउम्रेला भन्ने चिन्ताले रात कट्थे। सुक्खा बालुवामिसिएको जमिन, पानीको अभाव र हावाहुरीले उडाउने धुलोबिच खेती गर्नु उनका लागि संघर्ष मात्र थियो। कतिपय छिमेकीले त खेती गरेर गुजारा नचल्ने भएपछि जग्गै बेचेर अन्यत्र बसाइँ सरे। अब परिस्थिति फेरिएको छ। राईले अहिले करिब ७० बिघा जमिनमा धान, तरकारी र अन्य बाली लगाइरहेका छन्। ‘पहिला मकै पनि राम्रोसँग फल्दैनथ्यो। २०७३ सालदेखि सिँचाइको व्यवस्था भएपछि खेती गर्ने हिम्मत आयो, उनले विगत र अहिलेको अवस्था बताउँदै भने, ‘अहिले वर्षभरि खेत खाली हुँदैन।’
कृष्ण राईको यो कथा मकवानपुरको मनहरी गाउँपालिका–६ र ७ का रमौली र प्रतापपुरका अधिकांश किसानको कथा हो। एक दशकअघि घना झाडी, सालका रुख र सुक्खा बालुवाले ढाकिएको यो क्षेत्र अहिले अन्न तरकारी र दुध उत्पादनको केन्द्र बनेको छ।
सरकारले २०७० सालमा पर्सा राष्ट्रिय निकुञ्जभित्रका बासिन्दालाई स्थानान्तरण गरेर रमौली र प्रतापपुरमा २४७ बिघा जमिनमा करिब ३०० घरधुरीलाई पुनःस्थापना गरेको थियो। जंगल फँडानीपछि बाँकी रहेको बालुवामय जमिन र पानीको अभावका कारण खेतीपाती सहज थिएन। ठूलो हावाहुरी चल्दा धुलोले बस्नसमेत कठिन हुने अवस्था थियो। त्यसपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ चितवनले करिब तीन लाख रुपैयाँको लागतमा सतह सिँचाइ कुलो निर्माण गरिदियो। त्यससँगै ठुला नहरबाट शाखा कुलो विस्तार, बोरिङ जडान र गाउँपालिकाको सहयोगले सिँचाइ सुविधा विस्तार हुँदै गयो। अहिले यो क्षेत्रमा करिब ९० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ पुगेको साना किसान सहकारी संस्था रमौलीकी अध्यक्ष विमला कार्कीले बताइन्।
उनका अनुसार सिँचाइ पुगेपछि किसानले धानसँगै भेन्टा, तरकारी र अन्य नगदे बाली उत्पादन गर्न थालेका हुन्। ‘पहिला तीन महिना खान पनि पुग्दैनथ्यो। अहिले धान छ, तरकारी पनि छ। वर्षभरि खेती हुन्छ’, उनले भनिन्, ‘कुलो आएपछि घरपनि राम्रा राम्रा बनेका छन्।’
सिँचाइले खेती मात्र नभई गाउँकै आर्थिक र सामाजिक अवस्था परिवर्तन गरेको उनले बताइन्। प्रतापुर र रमौली बस्तीबाट मात्रै वार्षिक करिब दुई अर्ब रुपैयाँ बराबरको कृषि तथा पशुपालन कारोबार हुने अनुमान कार्कीको छ। ‘एक किसानले वार्षिक ४० देखि ५० क्विन्टलसम्म धान उत्पादन गर्छन्। तरकारीसँगै पशुपालन पनि बढेको छ। तरकारीबाटै ६ करोड रुपैयाँ यहाँका किसानले आम्दानी गर्नुहुन्छ’, उनले भनिन्, ‘सिँचाइपछि घाँस उत्पादन हुन थालेपछि गाईभैंसी पालन विस्तार भएको छ। हाल १५० परिवारले वार्षिक करिब ३६ लाख रुपैयाँ बराबरको दुध बिक्री गरिरहनुभएको छ।’
कार्कीका अनुसार सिँचाइको पहुँचसँगै गाउँमा पक्की घर बनेका छन्, बालबालिका विद्यालय जान थालेका छन् र धेरै परिवारको जीवनस्तर उल्लेखनीय रूपमा उकासिएको छ। ‘पहिला धुलोले बस्न गाह्रो हुन्थ्यो। अहिले चारैतिर हरियाली छ। सानो कुलोले ठूलो परिवर्तन ल्यायो’, उनले विगत सम्झदै भनिन् सिँचाइले यस गाउँको बस्तीको मुहार फेरिदियो।’
प्रकाशित: २५ असार २०८३ १०:४७ बिहीबार





