२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अल्टिमेटमले नारायणगढ-बुटवल सडकखण्डमा आंशिक सुधार

नारायणगढ–बुटवल सडक योजना कार्यालयले नारायणगढ–बुटवल सडकखण्डको ठेकेदार कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पाेरेसनलाई सडक निर्माण कार्य अपेक्षित गतिमा नभएको भन्दै स्पष्टीकरण सोध्यो। कार्यालयले ठेक्का तोड्नेसम्मको चेतावनी दिएसँगै अहिले ठेकेदार कम्पनीले आंशिक रूपमा काम देखाउन थालेको छ। योजना कार्यालयले पहिलो पटक ९ असोज २०७९ मा २८ दिने सार्वजनिक सूचना जारी गरेर २८ दिनभित्र योजनाको काम अपेक्षित गतिमा सुधार नभएको खण्डमा सोझै ठेक्का तोड्नेसम्मको चेतावनी दिएको थियो।

सोही बीचमा बर्सातको समयमा पानी परेर १० दिन काम गर्न नपाएको भन्दै अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीले थप २१ दिनको म्याद थप गर्न सिफारिस गरेको थियो। सोही बमोजिम कार्यालयले ठेकेदार कम्पनीलाई अरू २१ दिनको म्याद थप्ने निर्णय गरेको थियो।

सडक विभाग आयोजना निर्देशनालय एडिबीका निर्देशक सुशिलबाबु ढकालले चिनियाँ ठेकेदार कम्पनीले दुई पटक स्पष्टीकरण सोध्दा पनि सोचे जस्तो काम नगरेको बताए। ‘हामीले ठेकेदार कम्पनीलाई दुई पटक सार्वजनिक सूचना जारी गरेर स्पष्टीकरण सोधेका थियौं,’ उनले भने ‘ठेकेदार कम्पनीले विगतमा भन्दा केही सुधार गरेको छ तर सोचेजस्तो भने छैन।’

आयोजना निर्देशक ढकालले सडक विभागले योजनाको परामर्शदाता कम्पनी केसिसीलाई आयोजनाको ठेक्का तोड्ने विषयमा आवश्यक ठोस रिपोर्ट बुझाउन अनुरोध गरेको बताए। ‘अब परामर्शदाता कम्पनीले दिएको रिपोर्टको आधारमा ठेक्का तोड्ने वा जारी राख्ने निर्णय हुनेछ।’

नारायणगढ-बुटवल सडक योजना पश्चिम खण्डका योजना प्रमुख प्रदिपराज शाक्यले योजनाले दुई पटक अल्टिमेटम दिएसँगै ठेकेदार कम्पनीले अपेक्षित गतिमा सडक सुधार गर्न नसके पनि आंशिक सुधार गरेको बताए। ‘योजनाले माग गरे अनुसारको अपेक्षित गतिमा काम नगरे पनि पहिलाभन्दा केही सुधार गरिरहेको छ,’ उनले भने, ‘हामीले चाहेजतिको काम नगरे पनि विगतको भन्दा अहिले काम गर्ने स्पीड भने बढाएको छ।’

योजनाका अनुसार अहिले ठेकेदार कम्पनीले डण्डी बाँध्ने र खन्ने कार्यलाई केही गति दिइरहेको छ। ‘ठेकेदार कम्पनीले अहिले तीन वटा पुलको फाउण्डेसन खन्ने काम सुरु गरेको छ,’ उनले भने, ‘८-१० वटा कल्भर्टमा एकै पटक डण्डी बाँध्ने काम गरिरहेको छ। सडकको सवबेस तयार पार्ने काम पनि गरिरहेको छ।’ गत असार मसान्तसम्म यो योजनाको समग्र भौतिक प्रगति २० प्रतिशतभन्दा कम थियो।

योजना प्रमुख प्रदिपराज शाक्यले ठेकेदार कम्पनीलाई आगामी डिसेम्बरको अन्त्यसम्म अर्थात् ४५ दिनभित्र ३० प्रतिशत भौतिक प्रगति गराउन निर्देशन दिएको बताए। ‘डिसेम्बर अन्त्यसम्म ३० प्रतिशत भौतिक प्रगति गराउने छनक देखाएको खण्डमा मात्रै यो कम्पनीलाई निरन्तरता दिन सकिन्छ। नत्र भने जुनसुकै बेला ठेक्का रद्द गर्न सकिनेछ,’ उनले भने ‘ठेकेदार कम्पनीको म्याद आगामी साउन २२ गतेसम्म भए पनि सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनको प्रावधानले जुनसुकै बेला ठेक्का रद्द गर्न सकिने अवस्था छ।’

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले सामाजिक सञ्जाल फेसबुकमा बुटवल-नारायणगढ सडक खण्डको विषयमा स्टाटस लेख्दै सडक बनाउन आवश्यक पर्ने निर्माणजन्य सामग्री प्रशासनको अवरोधको कारणले समस्या भोग्नुपरेको बताएका छन्। ‘स्तरोन्नतिको काम ढिला भएर सबैले दुख पाइयो भनेर चिनियाँ निर्माण व्यवसायीलाई दवाब सिर्जना गरियो। अहिले उसले काम गर्ने राम्रै सुरसार गरेको अवस्था छ,’ महानिर्देशक थापाले स्टाटसमा भनेका छन्, ‘सडक बनाउन चाहिने ढुंगा, गिट्टी, बालुवा र माटो हामीले नै स्थानीय तवरबाट उपलब्ध गराउनुपर्छ। हामीले स्थानीय निकायसँग सहकार्य गरेर कावासोती र देवचुली नगरपालिकाबाट नियमानुसारको राजस्व तिरेर माटो र सवबेसमा काम नलाग्ने तर माटोकै रूपमा उपयोग हुने नदीजन्य पदार्थ ल्याउँदा स्थानीय प्रशासनबाट अवरोध आएको अवस्था छ।’

महानिर्देशक थापाले मंगलबारदेखि काम ठप्प भएको जानकारी दिए। ‘मंगलबारदेखि काम ठप्प छ। चिनियाँलाई पनि कति गाली गर्नु! समन्वयकर्ताको जिम्मेवारी पाएकाहरूको हर्कत देख्दा लाज लाग्यो। स्थानीय निकायबाट अवरोध होइन्, प्रशासनबाट हो।’ योजना कार्यालयले ठेकेदार कम्पनीको काम उपलब्धीमूलक नहुँदा नहुँदै पनि आगामी साउन २२ गतेसम्मको लागि म्याद थप भने गरिसकेको छ।

ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पाेरेसनले नारायणगढ–बुटवल सडक खण्डको ४२ महिनाको अवधिमा २० प्रतिशतभन्दा कम भौतिक प्रगति गरेको छ। गत साउन २२ गते योजनाको ४२ महिने म्याद सकिएको थियो। अहिलेसम्म यो आयोजनाको समष्टिगत भौतिक प्रगति २० प्रतिशतभन्दा कम छ।

यो सडक अन्तर्गत ११३ किलोमिटर सडक स्तरोन्नति गर्ने योजनासहित २०७५ चैत ८ गते उद्घाटन गरिएको थियो। ठेक्का सम्झौता अनुसार यो सडकखण्ड ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सरकारले आव २०७५/७६ मा ११३ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो तर तोकिएको साढे तीन वर्षको भौतिक प्रगति हेर्दा आगामी आवमा दुई वर्ष म्याद थप गरे पनि निर्माण सम्पन्न हुने सम्भावना कम छ।

नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत ११३ किलोमिटर सडक पर्दछ। नारायणगढ–बुटवल पूर्वीखण्डमा ६४.४२५ किलोमिटर सडक पर्छ। त्यसैगरी बुटवल–नारायणगढ पश्चिमखण्ड अन्तर्गत ४८.५३५ किलोमिटर विभाजन गरेर निर्माण गरिँदैछ।

यो सडक योजनाको पश्चिम खण्डमा ४८.५३५ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति गर्नुपर्ने छ। यो खण्ड अन्तर्गत दाउन्ने खण्डमा १० किलोमिटर तीन लेनको सडक विस्तार गरिनेछ। बजार क्षेत्रको ११.२ किलोमिटर सडक भने ६ लेनको विस्तार गरिँदैछ।

त्यसैगरी २७.३३५ किलोमिटर सडक चार लेनमा स्तरोन्नति र साना-ठूला गरेर जम्मा ३० वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ। यो आयोजना २०७५/७६ मा निर्माण सुरु गरिएको थियो। यो खण्ड भ्याटसहित ७ अर्ब ८६ करोड रूपैयाँमा ठेक्का लगाइएको हो।

बुटवल-नारायणगढ पश्चिम सडक योजना प्रमुख शाक्यले निर्माण कम्पनीले सडकको सवबेश तयार पार्ने र तीन वटा पुलको फाउण्डेसन तयार पार्ने काम गरिररहेको बताए। योजनाका अनुसार अहिलेसम्म १३ वटा साना खालका पुल र तीन वटा ठूला पुल निर्माणको काम भएको छ।

८० वटा कल्भर्ट निर्माण गरिसकिएका छन्। योजना प्रमुख शाक्यले ठेकेदार कम्पनीको ढिलासुस्ती र आलटालको कारणले पनि आयोजना निर्माणले गति लिन नसकेको बताए। यो कम्पनीले सडक निर्माण सम्पन्न गरेको पाँचवर्षसम्म पनि पर्फर्मेन्स बेस मेन्टिनेन्स अन्तर्गत नियमित मर्मतसम्भार गर्नुपर्ने हुन्छ। चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पाेरेसन, आयोजना निर्देशनालय (एडिबी) र सडक विभागको लापरबाही र ढिलासुस्तीले आयोजनाको प्रगति निराशाजनक देखिएको हो।

नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड)को भौतिक प्रगति पनि २० प्रतिशतभन्दा कम छ। पूर्वीखण्ड अन्तर्गत ६४.४२५ किलोमिटर सडक कालोपत्रे गर्नेपर्ने हुन्छ। जसअन्तर्गत दाउन्ने खण्डमा ४.१ किलोमिटर तीन लेनको सडक विस्तार गरिँदैछ। बजार क्षेत्रमा १७.४ किलोमिटर सडक भने ६ लेनको विस्तार गरिने योजना रहेको छ।

त्यसैगरी बाँकी रहेको ४३ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्न लागिएको हो। यस्तै यो खण्डमा साना ठूला गरेर ३४ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ। यो खण्डको कुल लागत भ्याटसहित ९ अर्ब १३ करोड रूपैयाँमा ठेक्का लगाइएको हो।

प्रकाशित: २ मंसिर २०७९ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App