१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपालको अर्थतन्त्र सुधारका लागि नेतृत्वमा युवा आवश्यक छ: स्वर्णिम वाग्ले

अर्थविद् डा.स्वर्णिम वाग्लले नेपालको अर्थतन्त्र सुधार गर्नको लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन्।

बुधबार वागमती क्याम्पसका विद्यार्थीहरुलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिस्पर्धी बनाउनको लागि राजनीतिक निर्णय तथा नीतिहरुमा सुधार ल्याउनुपर्ने बताए।

डा. वाग्लले मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउनको लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए। उनले यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने बताए। उनले नेपाल पर्यटनको हिसाबले उच्च सम्भावना भएको मुलुक भएपनि आत्याधिक कम मात्रै पर्यटक आउने गरेको बताए।

उनले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार, होटल पूर्वाधारको विस्तार, दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्ने बताए। वाग्लले नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक १०० डलर बनाएर घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटक क्षेत्रबाट आम्दानी बढ्नसक्ने बताए।

उनले अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्दै रेमिट्यान्सले धेरै समय मुलुकको अर्थतन्त्र धान्न नसक्ने दाबी गरे। उनले नेपालको पूर्वाधार तथा उद्योगमा विदेशी लगानी ल्याउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर पर्यटक बढाउँदा मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्नसक्ने बताए।

अर्थविद् वाग्लले भारतमा बढ्दै गएको वायु प्रदूषणले नेपालका हिमालहरु पग्लिरहेको बताए। उनले लोकल ब्ल्याक कार्वनले ग्लोवल ग्रिनहाउस क्यास जस्तै असर पार्ने भएकोले हिमालहरु तातेर पग्लन थालेको बताए। उनले अहिले भइरहेको जलवायु परिवर्तनलाई नियन्त्रण गर्नको लागि सबै मुलुकहरु मिलेर समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए।

डा. वाग्लेले नेपालको आर्थिक नीतिहरु भारतसँग समन्वय गरेर नबनाए अर्थतन्त्रमा समस्या आउने बताए। उनले दुई देशबीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धलाई सुधार गरेर त्यही खालको नीतिहरुमा सुधार गर्दा मात्रै सन् २०३० सम्मको नेपालको अर्थतन्त्रको मार्गचित्र माथि लैजान सकिने बताए।

प्रकाशित: ३० कार्तिक २०७९ ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App