२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

गैंडाकोट-रामपुर-पिपलडाँडा सडक खण्ड: विवादका कारण अझै बनेन

कालीगण्डकी करिडोरअन्तर्गत गैंडाकोट-पिपलडाँडा खण्ड करिब १५ किलोमिटर सडकखण्ड विवादको कारणले निर्माण हुन सकेको छैन। गैंडाकोट-पिपलडाँडा खण्डमा पर्ने १३२ किलोमिटरमध्ये विवादकै कारण करिब १५ किलोमिटर सडकको काम अघि बढ्न सकेको छैन। १३२ किलोमिटर सडकमध्ये अहिलेसम्म १११ किलोमिटर सडकको कालोपत्रे सम्पन्न भइसकेको छ। कालीगण्डकी करिडोर गैंडाकोट-राम्दी-मालढुंगा सडक योजनाका योजना प्रमुख शंकर पौडेलले गैंडाकोटदेखि पिपलडाँडा खण्डमा १५ किलोमिटर सडक रेखांकन, मुआब्जा/क्षतिपूर्ति, वन विभाग र स्थानीयको अवरोधको कारणले कालोपत्रे हुन नसकेको बताए।

‘गैंडाकोट-पिपलडाँडा खण्डको १३२ किलोमिटरमध्ये १११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘यो खण्डको सडकमा विभिन्न आधा दर्जनभन्दा धेरै स्थानमा विवादको कारणले २१ किलोमिटर सडक कालोपत्रे गर्न सकेका छैनौं।’ योजना कार्यालयका अनुसार नवलपरासीको बुलिङटारको पहाडी जंगल क्षेत्रमा वन विभागले अनुमति नदिदाँ ८ किलोमिटर सडक चौडा गर्न सकिएको छैन।

पाल्पाको रामपुर नगरपालिकास्थित मटेरी–ठूलोटार क्षेत्रमा सडक मापदण्ड विवादको कारणले एक किलोमिटर सडक विस्तार हुन सकेको छैन। त्यसैगरी भलायटार क्षेत्रमा पनि झन्डै एक किलोमिटर सडक स्थानीयको अवरोधको कारणले अघि बढ्न सकेको छैन। विभिन्न स्थानमा पहिरोको कारणले तीन सय मिटर सडकखण्ड पनि कालोपत्रे हुन सकेको छैन। अन्य विभिन्न ठाउँमा पनि करिब ५ किलोमिटरभन्दा धेरै एरियामा विवादको कारणले काम अघि बढ्न सकेको छैन। रामपुर नगरपालिकाले चुनावलगत्तै रामपुर नगरपालिका क्षेत्रमा पर्ने विवाद टुंग्याएर अघि बढ्ने दाबी गरे। ‘प्रतिनिधिसभाको निर्वाचनलगत्तै स्थानीय तहसँग समन्वय गरेर आवश्यक रेखांकनको विवाद टुंग्याउने तयारी गरिरहेका छौं,’ उनले भने।

१३१.७ किलोमिटर लामो उक्त सडकको भारतीय इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले २०७६ मंसिरमा ठेक्का पाएको थियोे। यो सडक खण्ड ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता अनुसार यो खण्डको ठेक्काको म्याद २०८० को जेठमा सकिँदै छ। ४ अर्ब ८८ करोड रूपैयाँ लागतमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। जम्मा ५३ वटा पुलमध्ये २३ वटा पुल सम्पन्न भएको छ। ६ वटा पुलको नयाँ ठेक्का लगाएको जनाएको छ। कालीगण्डकी करिडोर अन्तर्गत पिपलडाँडादेखि बागलुङसम्म ३२ वटा पुलनिर्माण गर्नुपर्ने हुन्छ। भारतीय एक्जिम बैंकसँग ३० वर्षका लागि १.५ प्रतिशत ब्याजदरमा ऋण लिएर सडक बनाउन लागिएको हो। उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने मुलुककै छोटो कालीगण्डकी करिडोरको लम्बाइ ४ सय १७ किलोमिटर छ। यसमध्ये गैंडाकोटदेखि बागलुङसम्म दुई सय ४५ किलोमिटर छ।

बेनी-जोमसोम कोरोला खण्ड

कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरोला सडक खण्ड अन्तर्गत २०२ किलोमिटर सडकको ट्र्याक खोल्ने र स्तरोन्नति गर्ने योजना अघि बढाइएको थियो। सरकारले यो खण्डको सडक २०७३/७४ मा सुरु गरेर २०७९/८० भित्र सम्पन्न गर्ने लक्ष्य राखेको थियो। यो सडक खण्डको गत असार मसान्तसम्मको अवधिमा ८२.१५ प्रतिशत भौतिक र ७९.३५ प्रतिशत वित्तीय प्रगति भएको सडक विभागले जनाएको छ। २०२ किलोमिटरमध्ये हालसम्म सबै खण्ड ट्र्याक खुलिसकेको छ। हालसम्म १४० किलोमिटर सडक ग्राभेल र २८ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। जसमा ४ वटा पुल सम्पन्न भएका छन्।

प्रकाशित: २५ कार्तिक २०७९ ००:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App