१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा विमानस्थलमा हवाई यात्रु दिनकै ३८ सय

पोखरा विमानस्थलको पार्किङमा रहेका जहाज। यहाँबाट एकैदिन ३८ सय यात्रु ओहोरदोहोर गरेका छन्। यो सर्वाधिक संख्या हो। फाइल तस्बिर: नागरिक

झन्झटिलो सडक यात्रा, पर्यटकीय सिजन र आन्तरिक पाहुनामा घुमघामको बानी बढ्दै जाँदा पछिल्लो समय हवाई यात्रुको संख्या निकै बढ्न थालेको छ। पोखरा विमानस्थलबाट अहिलेसम्मकै सबैभन्दा बढी यात्रु यो पटक ओहोरदोहोर गरेका छन्। एकैदिन ३८ सयभन्दा बढी यात्रु विमानस्थलबाट ओहोरदोहोर गरेको विमानस्थलले जनाएको छ।  

विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार कात्तिक पहिलो साता एकै दिन विमानस्थलबाट ३८ सय ५ जना यात्रु ओहोरदोहोर गरेका थिए। सूचना अधिकारी सुवेदीका अनुसार कोरोना भाइरस संक्रमण सुरु हुनुअघि पोखराबाट एकैदिन ३४ सय यात्रु ओहोरदोहोर गरेका थिए। सुवेदीका अनुसार गत अक्टोवरमा सबै गरी ८९ हजार ९ सय ७ जना यात्रु पोखरा विमानस्थलबाट ओहोरदोहोर गरेका छन्। यो संख्या कोरोना संक्रमण सुरु हुनुअघि २०१९ को अक्टोवरमा ८४ हजार ४ सय ९९ थियो।  यात्रु संख्या उकालो लागेसँगै पोखरा विमानस्थलको हवाई उडान संख्या पनि निकै नै बढेका छन्। सबैभन्दा बढी यात्रु ओहोरदोहोर गरेको दिन (अक्टोवर २०) मा एकै दिन २१२ (दुईतर्फी) हवाई उडान भएका थिए। हवाई उडान संख्यामा सबैखाले जहाजको उडानको गणना हुन्छ। पोखरा विमानस्थलबाट साना आकारका अल्ट्रालाइट जहाजको पनि उडान अहिले बढेको छ। अल्ट्रालाइटले एकजना मात्र यात्रु बोक्छन्। त्यस्तै यहाँबाट हेलिकप्टरको उडान पनि बढेको छ। विभिन्न हिमाली भेगसम्मको उडानमा अहिले हेलिकप्टर प्रयोग हुन थालेको छ। अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल, मुक्तिनाथ लगायतका क्षेत्रमा हेलिकप्टरबाट उडान गर्दा पनि उडान संख्या थपिएका छन्।  

सुवेदीले पछिल्लो समय पोखराबाट अन्य सहरसम्म उडान थपिँदा पनि यात्रु र हवाई उडान संख्या बढेको बताउँछन्। अहिले पोखराबाट चितवनको भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढीसम्म नियमित उडान भइरहेको छ। पोखराबाट सिमरा र जनकपुर पनि उडान हुन्छ। त्यसबाहेक पोखराबाट मुस्ताङको जोमसोमसम्म पनि उडान हुन्छन्। पोखराबाट सिमरा, भैरहवा र नेपालगञ्जका उडानमा पछिल्लो समय यात्रुसंख्या पनि निकै नै बढेका छन्। ‘उडान संख्या पनि थपिएका छन्। नयाँ गन्तव्य पनि थपिएका छन्। सबैतिर उडान संख्या बढ्दा यात्रु पनि थपिएका हुन,’ उनले भने।  

सुवेदीका अनुसार आन्तरिक यात्रुमा घुमघामको बानी बढ्नु, चाडबाडको फुर्सदको उपयोगसहित पोखरा–मुग्लिनसम्मको झन्झटिलो सडक यात्राले गर्दा पनि अहिले हवाई यात्रु थपिएका हुन्। अहिले पोखरा–मुग्लिन (९० किलोमिटर) सडक विस्तारको क्रममा छ। अरूबेला तीनघण्टामा पूरा हुने यो दूरी अहिले निकै नै झन्झटिलो भएको छ। त्यसले गर्दा पनि यात्रुले हवाई यात्रा रोज्ने गरेका छन्। ‘पोखरा–काठमाडौं स्थलमार्ग पनि निकै नै झन्झटिलो बनेको छ। अरूबेला ६–७ घण्टामा पूरा हुने पोखरा–काठमाडौं यात्रा अहिले १३÷१४ घण्टासम्म लाग्ने गरेको छ। त्यसले गर्दा पनि पोखरा आउन चाहने अधिकांशले हवाई यात्रा गर्न थालेका छन्,’ उनले भने।  

पोखराको यो विमानस्थलको प्रतिघण्टा यात्रु क्षमता ४ सय हो। अहिले बिहान साढे ६ बजे खुल्ने विमानस्थल बेलुकी साढे ५ बजे बन्द हुने गरेको छ। बिहानको समयमा यहाँबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमसम्म उडान हुन्छन्। पछिल्लो समय पर्यटकीय सिजन पनि भएकाले पोखरा–जोमसोम उडान पनि बढेका छन्। पोखरा जोमसोम तारा र समिट एयरले उडान गरिरहेका छन्। त्यस्तै पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढीसम्म ठूला आकारका जहाज उडान हुँदा पनि यात्रु संख्या थपिएको उनले बताए। अहिले ७२ सिट क्षमताका जहाजबाट अधिक उडान हुने गरेका छन्। केहीवर्ष अघिसम्मका साना आकारका जहाज मात्र उडानका लागि बढी प्रयोग हुने गरेका थिए।

पोखराबाट काठमाडौंका लागि धेरै संख्यामा उडान हुन्छन्। पोखराबाट अहिले बुद्ध, यती, श्री, गुण एयरलाइन्सले नियमित रूपमा उडान गरिरहेका छन् । सबैभन्दा बढी पोखराबाट काठमाडौंसम्मका लागि धेरै उडान हुने गरेका छन्। ‘यात्रुसंख्या बढेपछि व्यवस्थापन गर्न पनि चुनौती थपिएको छ,’ उनले भने। पछिल्लो समय पोखरा आउने विदेशी पर्यटक पनि बढ्दा थाल्दा पनि यात्रु थपिएका हुन्। कोरोनाका कारण रोकिएका विदेशीको बल्ल अहिले आगमन बढिरहेको सुवेदीले बताए।  

पर्यटन व्यवसायी पनि अहिले हवाई यात्रुको संख्या बढ्नुमा आन्तरिक पाहुनामा घुमघामको संस्कार बढ्नु मुख्य कारक रहेको बताउँछन्। पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘पछिल्लो समय आन्तरिक पाहुना पनि निकै नै बढेका छन्। त्यसले गर्दा पनि हवाई यात्रु पनि थपिएका हुन्।’ उनका अनुसार हवाई यात्रु बढ्नुको अर्काे मुख्य कारण झन्झटिलो सडक यात्रा हो। अहिले पोखरा–काठमाडौं (२ सय किलोमिटर) पार गर्न कम्तिमा १२ घण्टा लाग्ने गर्दा पनि यात्रुले हवाई जहाज रोज्न थालेको उनले बताए। ‘सडक विस्तार आवश्यक छ। त्यसमा दुई मत हुने कुरै रहेन तर सडक यात्रालाई विकल्प दिएर व्यवस्थित यात्रा गराउनुपर्छ। सडक विस्तारसँगै वैकल्पिक व्यवस्था गरेको भए यो झन्झट हुने थिएन,’ उनले भने।

प्रकाशित: २० कार्तिक २०७९ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App