१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन प्रवद्र्धन गर्न विद्यालयमा क्लब

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालयमा ‘राष्ट्रिय दिगो–पर्यटन क्लव’ स्थापना गरिने भएको छ। नेपाल पर्यटन बोर्डलेले विद्यार्थीहरूमा पर्यटन सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय स्तरीय क्लबको अवधारणा अघि सारेको हो।  

पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकाश कार्यक्रमको सहलगानीमा सञ्चालित ‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो–पर्यटन परियोजना (एसटीएलआरपी)’ को आयोजना तथा टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (टीआरटीआई) र ग्लोबल ट्राभल एण्ड टुरिजम पार्टनरसीप (जीटीटीपी) सँगको सहकार्यमा पर्यटन प्रवद्र्धन गर्न विद्यालयहरूमा राष्ट्रिय दिगो–पर्यटन क्लब स्थापना गर्ने कार्यक्रम अघि सारेको हो।  

कार्यक्रमअन्तर्गत पहिलो चरणमा प्रदेश नम्बर एक, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न १८ वटा निजी तथा सामुदायिक विद्यालयहरूमा राष्ट्रिय दिगो–पर्यटन क्लव स्थापना गर्ने लक्ष्य लिएकोमा हाल ८ वटा विद्यालयहरूमा राष्ट्रिय दिगो–पर्यटन क्लव स्थापना गरी सकिएको बोर्डले जनाएको छ।

राष्ट्रिय दिगो–पर्यटन क्लव गठन भएपछि स्थानीय स्तरमा पर्यटन सम्बद्ध गतिविधि बढ्दै जाने एवं धार्मिक सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वले भरिएका स्थलहरूको संरक्षण एवं सम्वद्र्धनमा टेवा पुग्ने विश्वास बोर्डले राखेको छ।

यस योजना अन्तर्गत पर्यटन सचेतनाको पहिलो चरणमा मधेश प्रदेश, बाग्मती प्रदेश, र गण्डकी प्रदेशका आठ वटा विद्यालयहरूमा ‘मधेश÷बाग्मती÷गण्डकी प्रदेशको पर्यटन र संभावना विषयक’ विद्यालय स्तरीय तथा अन्तर–विद्यालय वक्तृत्वकला कार्यक्रम सम्पन्न भइसकेका छन्। साथै ती कार्यक्रममा हरेक विद्यालयबाट उत्कृष्ट ३ विद्यार्थीहरूलाई हौसला स्वरूप पुरस्कृत पनि गरिएको छ।

बोर्डका अनुसार दोस्रो चरणमा प्रदेश नम्बर एक, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका १० वटा विद्यालयमा ‘राष्ट्रिय दिगो–पर्यटन क्लव’ स्थापना गरी पर्यटन सचेतना जागृत गराउने कार्यक्रमहरू सञ्चालन गरिने छ।

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले पर्यटन क्लबहरू मार्फत स्थानीय पर्यटन प्रवद्र्धन गर्न प्रोत्साहित गर्ने; विद्यालयका युवाहरूलाई देशको विविधताले भरिएको संस्कृति र भूगोलबारे जानकारी दिने; उनीहरूलाई प्रोत्साहन, समर्थन र मार्गदर्शन गर्ने; पर्यटन सचेतना अभियान र प्रतियोगिताहरू सञ्चालन गर्ने; र पर्यटनका अवसरहरूबारे चेतना जगाउनेलगायतका काम गरी समुदायमा पर्यटन सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

प्रकाशित: १८ कार्तिक २०७९ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App